नेपाली चलचित्र उद्योगमा पत्रकारिताको बाटो हुँदै चलचित्रको दुनियाँमा प्रवेश गरेका व्यक्ति हुन्, नवीन सुब्बा । उनले बनाएर प्रदर्शनमा आएको चलचित्र हो– नुमाफुङ । ‘नुमाफुङ’मा उनले सुदूरपूर्वी पहाडी जिल्लाका रैथाने लिम्बू जातीमा रहेको संस्कारलाई केन्द्रमा राखेर आफ्नै गाउँठाउँको कथा प्रस्तुत गरे । ‘लार्जर द्यान लाइफ’को सूत्रमा बसेर चलचित्र निर्माण भइरहेका बेला ‘नुमाफुङ’ भीडमा फगत् सङ्ख्या थप्न आएको थिएन । मौलिक कथा र शैली बोकेर भित्रिएको थियो । भलै धेरैले भिडियो फिल्म भनेर रुखो कमेन्ट नै किन नगरुन्, त्यही चलचित्रले नै ‘आफ्नै कथा’ भन्न सकिन्छ भन्ने मानक स्थापित पनि ग¥यो । यो चलचित्रका निर्देशक नवीनलाई अर्को चलचित्र जन्माउन भने लामै समय लाग्यो । ‘गुड बाई काठमाडौं’ उनले बनाइसकेका छन् । केही अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड पनि जितिसकेका छन् । तर नेपाली दर्शकले भने उनको दोस्रो चलचित्र हेर्न पाएका छैनन् । अर्को चलचित्रको तयारीमा रहेका नवीन मौलिक चलचित्रको वकालत गर्छन् । आफ्नै कथा नभनेसम्म नेपाली चलचित्रले विदेश यात्रा तय गर्न नसक्ने बताउने नवीनसँग नेपाली चलचित्र, कथा, निर्देशक, बजार, अभिनय तथा क्षमतामा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीको सार :
० ० ०
नेपाली चलचित्रमा ‘नुमाफुङ’बाट नयाँ कथा र नयाँ शैली भित्राउनुभयो । तर त्यसपछि चलचित्र बनाउन ढिलो गर्नुको कारण ?
काम त गरिरहेको छु, तर नोटिसमात्रै नभएको हो । ‘दलन’, ‘सिंहदरबार’ नामक टेलिचलचित्रमा काम गरेँ । तर कथानक चलचित्रमा लामो ब्रेक जस्तो देखिएको छ । ठूलो पर्दा र सानो पर्दाको भिन्नता हटिसके जस्तो लाग्छ । नेटफ्लिक्स, युट्युब, अमेजन आएपछि ठूलो परिवर्तन आइसक्यो । यो परिवर्तनलाई पनि आत्मसात गर्नुपर्छ ।
अहिले नेपालमा दुईखालका चलचित्र निर्माण भइरहेका छन् । एउटा, सस्तो मनोरञ्जन अर्को, समाजका गम्भीर कथा भन्ने चलचित्र । तपाईं गम्भीर विषय उठान गर्नुुहुन्छ र सस्ता विषय तथा प्रस्तुतिको विरोध गर्नुहुन्छ । तर आफैंचाहिँ निकै ढिलो गरिरहनुभएको छ नि ?
एउटा चलचित्र बनिसकेको छ, ‘गुडबाई काठमाडौं’ । यो छिट्टै रिलिज पनि हुन्छ होला । अर्को बनाउने तयारीमा छु । म दुइटा धार भन्दिनँ, मैले मौलिक कथा र चलचित्रका पक्षमा वकालत गरेको हुँ । मौलिकता खोज्न सकिएन भने व्यावसायिकता पनि हुँदैन । अर्को कुरा मौलिकता खोजिएन भने नेपाली चलचित्रको अन्तरराष्ट्रियकरण पनि हुँदैन । यी दुइटा कुराका लागि पनि हामीले हाम्रा चलचित्रमा मौलिकता खोज्नुपर्छ । मैले वकालत गरिरहेको पनि यही नै हो । तर मलाई यसले आर्ट सिनेमाको, इन्टरनेट सिनेमाको मात्रै कुरा गर्यो भनेर भनिन्छ । कर्मसियस चलचित्रको कुरा गरेन भनेर बुझिँदोरहेछ, तर त्यसो होइन ।
चलचित्रको जीवन्तताको लागि पनि मौलिकताको आवश्यकता छ । यो एउटा लामो प्रक्रिया पनि हो । त्यसैले पनि एउटा चलचित्र गरिसकेपछि अर्कोका लागि समय लागेको हो । खोजकै रुपमा रहेकाले केही ‘ग्याप’ भएको हो । केही कुरा नयाँ गरेका छौं हामीले ‘गुडबाई काठमाडौं’मा । अन्तरराष्ट्रिय फेस्टिभलमा गएर केही अवार्ड पनि जितिसकेको छ, यो चलचित्रले । फेरि पनि मैले बनाउने ‘गुडबाई काठमाडौं’ होइन । केही नयाँ कुरा बनाउनुपर्छ । मैले जस्तो चलचित्रका लागि वकालत गरिरहेको छु, त्यही कुरालाई स्थापित गर्नुपरेका कारण पनि समय लागेको हो । म जस्तोखालको चलचित्रको कुरा गरिरहेको छु, यस्तो चलचित्र बनाउनु फ्याक्ट्रीमा चाउचाउ उत्पादन गरेजस्तो सजिलो छैन । समय लाग्छ । एउटै तरिकाबाट सधैं काम गरेर पनि हुँदैन । केही नयाँ गर्नैपर्छ ।
हामीले केही अवधारणा पनि सुरु गर्यौं चलचित्रमा, जस्तै कास्टिङ डाइरेक्टर लिने चलन मेरै चलचित्रबाट सुरु भएको हो । तर यहाँ इतिहास मेट्ने काम भएको छ । मैले सुरु गरेको करिब एक दशकपछि अरुले सुरु गरेका हुन् । वर्कसप गर्ने चलन पनि हामीले नै सुरु गरेका हौं ।
भन्नलाई यहाँ हामीले चलचित्रमा क्रान्ति गर्यौं भन्छौं, तर होइन । नेपाली चलचित्रको हरिविजोग छ । प्रोडक्सन डिजाइनर छैन, आर्ट डिभिजन छैन । आर्ट डिभिजनभित्र कतिवटा सबडिभिजन हुन्छ भन्ने पनि थाहा छैन । यस्तो क्षेत्रमा हामी छौं । अहिले हामी नयाँ गर्न खोजिरहेका छौं । मलाई मेरो चलचित्रमा डाइलग कोच चाहिएको छ । तर डाइलग कोच भनेको नै के हो यहाँ कसैलाई थाहा छैन । चलचित्रलाई प्रभावकारी अभिव्यक्तिको माध्यम बनाउने र यसलाई चलचित्र उद्योगका रुपमा उकास्ने हो भने धेरै काम गर्न बाँकी छ । काम गर्न सकिएन भने प्रतिस्पर्धी, व्यावसायिक, आर्ट केही पनि हुँदैन ।
नेपाली चलचित्रमा लगानी बालुवामा पानीसरह भइरहेको हो ?
रिसर्चको अवस्था कमजोर छ । पत्रकारहरुले चलचित्र घाटामा गए भनिरहेका छन्, तर कारण के हो ? कसैले अध्ययन गरेको छैन । पत्रकार र चलचित्रकर्मीले पनि अध्ययन गरेका छैनन् । पक्कै पनि अध्ययन–अनुसन्धान गर्ने निकाय त होला, त्यसले पनि गरेको छैन । प्राज्ञिक संस्थाहरुको पनि जिम्मेवारी होला अध्ययन गर्ने, तर गरेको छैन । अथवा अर्थतन्त्र सम्बन्धी निकाय पनि होलान्, कसरी चलिरहेको छ चलचित्र क्षेत्र ? अध्ययन गर्नुपर्ने हो, तर भएको छैन । खाली एकखालका कुराहरु आइरहेका छन् । तर त्यो पनि हो कि होइन यकिन छैन ।
हामीले हाम्रो चलचित्रले पैसा कमाइरहेका छैन भनिरहेका छौं, तर के कुनै पनि चलचित्रले पैसा कमाइरहेका छैनन् ? यो त पक्कै होइन । भारतीय चलचित्र बजारबाट आएका १२/१५ वटा चलचित्रले त पैसा कमाइरहेका छन् । भारतीय चलचित्रको बजार र नेपाली चलचित्रको बजार कत्रो छ, हामीले रिसर्च नै गरेका छैनौं । हाम्रो लगानी कति भयो र फिर्ता कति आयो त्यो पनि अध्ययन गरेका छैनौं । हामी एक अर्बमा सयवटा चलचित्र बनाइरेहका छौं भने ५ वटा चलचित्रले १०/१२ करोड कमाइरहेका छन् पनि भनिरहेका छौं ! त्यसो भए लगानी त उठिरहेको रहेछ । सफलता र असफलताको मापक के हो ? त्यसलाई पनि हेर्नुपर्छ । हलिउड, बलिउड र नेपालको सफलताको मापन कसरी गरिन्छ र गर्ने हो ? यसमा रिसर्च गरेपछि मात्रै वास्तविक कुरा आउँछ । यहाँ एउटाले डुबिरहेको छ भन्छ, अर्कोले होइन हामीले कमाइरहेका छौं भन्छ । यसमा विस्तृत अध्ययन भएपछि मात्र खास कुरा आउँछ ।
तपाईंले यसबारे कहिल्यै अध्ययन गर्नुभएको छ ?
मैले पनि अध्ययन गरेको छैन । तर हाम्रोमा अझै पनि बलिउडकै चलचित्र बनिरहेका छन् । हामीसँग दर्शक नभएको होइन, तर बजारमा अर्को प्रतिस्पर्धा गर्ने चलचित्र नभएको हो । यो वर्ष कति चलचित्र चलेनन् भन्दा पनि कति चलचित्रले कति बिजनेस गरे भनेर हेर्नुपर्छ ।
बजारमा स्याउ पर्याप्त छ, तर पुनः हामी कमसल स्याउ लगेर बेच्न खोजिरहेका छौं ! त्यसैले मैले मौलिक चलचित्रको कुरा गरेको हुँ । अर्को कुरा हाम्रा चलचित्रमा विविधता भएन । हाम्रा चलचित्रले कौतुहल जगाउन सकेनन् । मार्केटिङ गर्ने तरिका पनि छैन । ‘गुडबाई काठमाडौं’लाई अहिलेको हाम्रो मार्केटिङले काम गर्दैन । कुनै चलचित्र इनिसियल जान्छ, कुनै वर्ड अफ माउथले विस्तारै जान्छ । ‘स्लो पिकअप’ गर्ने चलचित्रको बजार व्यवस्थापन र वितरण गर्ने तौरतरिका छैन । बजारप्रधान मनोविज्ञान पनि हाम्रो अर्को समस्या हो ।
आर्ट हाउस सिनेमाका आफ्नै चेन हुन्छ, यसको मार्केटिङ पनि फरक हुन्छ । त्यो हाम्रोमा छैन । चलचित्र युट्युबमा आउन थालेपछि हलमा किन जानु भन्ने दर्शक पनि धेरै छन् । स्ट्रिमिङ त हो तर यो ठीक हो कि होइन, यसले चलचित्र क्षेत्रलाई नै धरासायी पो बनाउँछ कि ? यी कुराहरुमा गहिरो अध्ययन गरेर नीति बन्नुपर्छ ।
चलचित्रमा घाटा–घाटा–घाटा भनेका समाचार तथा अन्तरवार्ताहरु आइरहँदा जोखिम उठाउने आँट कसरी आउँछ ? तपाईं निर्देशक नभएर निर्माता भैदिएको भए यो हिम्मत गर्नुहुन्थ्यो ?
यसमा लुकाउनुपर्ने कुरा छैन । नेपाली चलचित्रमा लगानी गरेर नाफा कमाउँछु भन्ने कोही छ जस्तो लाग्दैन । हाम्रो सन्दर्भमा सामाजिक उत्तरदायित्व भनेर साथीहरुले लगानी गरिदिइरहनुभएको छ, आर्ट चलचित्र हो भनेर । यसमा कुनैले लगानी उठाइरहेको छ, कुनैले छैन । यसमा घाटा हुन्छ भनेर पूर्वानुमान लगाएर लगानी गर्ने साथीहरु पनि हुनुहुन्छ ।
नेपाली चलचित्रमा केही समय सुन व्यापारीहरुले लगानी गरिरहेका थिए । त्यसपछि जग्गाका कारोबारी (रियल इस्टेट)हरुले पैसा लगाए । त्यो समय पनि सकियो त्यसपछि एनआरएनहरुले लगानी गरिरहेका छन् । एनआरएनहरु पनि अब चाँडै टाढिँदैछन् भन्ने दृश्य स्पष्ट देखिइसकेको छ । अहिले कर्मचारी र राजनीतिकर्मीहरुको पैसा नदेखिनेगरी बाङ्गो तरिकाबाट आइरहेको छ । यहाँको लगानी पारदर्शी छैन । यो चलचित्र क्षेत्र नै पारदर्शी छैन । हिरो ५० लाख लिन्छु भन्छ, हिरोइन १६ लाख लिन्छु भन्छिन् । सम्झौतापत्रहरु बाहिर आउँछन् । तर मैले यति ट्याक्स तिरेँ भनेको कागज कहिल्यै बाहिर आउँदैन ! जसरी पैसा यो क्षेत्रमा आइरहेको छ, व्यावसायिक भन्दा पनि अरु उद्देश्यले आइरहेको जस्तो लाग्छ । त्यसैले वर्षको यत्तिका पैसा डुब्दा पनि फरक पारिरहेको छैन ।
राम्रो चलचित्रका लागि कथा भेटिँदैन कि सोचे जस्तो स्क्रिप्ट अभाव ?
हाम्रो चलचित्र क्षेत्रमा धेरैले राम्रो स्क्रिप्ट पाएनौं भन्छन् । कसैले अब्बल कलाकार पाएनौं भन्छन् । कसैले निर्देशक र बजेट पाएनौं भन्छन् । यो सबै ठीक हो । हाम्रोमा राम्रा निर्देशक छैनन् । हामीजस्ता मान्छे त निर्देशक भइरहेका छौं । साँच्चै राम्रो निर्देशकले कडा मेहनत गर्नुपर्छ । मेहनतको नितान्त अभाव छ । नेपालमा पैसा जुटाउनसक्ने, कलाकार र क्यामेरा जुटाउन सक्ने ठेक्कावाल व्यक्ति निर्देशक भइरहेको छ । निर्देशकको काम यो होइन । तर यसैगरी चलिरहेको छ नेपाली चलचित्र । स्क्रिप्टलाई राम्रोसँग भिजुअललाइज गर्न सक्ने प्रोडक्सन डिजाइनर छैन । निर्देशकको दिमागमा बनेको भिजुअललाई पर्दामा उतार्न सक्ने सिनेमेटोग्राफरको अभाव छ ।
वोङ जो हुले कसरी चलचित्र खिचिरहेका छन् ? क्यामेराले कसरी खिचेको छ ? कलाकारबाट कस्तो काम निस्किरहेको छ ? त्यो स्तरको खोज गर्ने उत्कण्ठा छ । हाम्रो सीमितताबाट बाहिर निस्किने प्रयास नै हामी गरिरहेका छैनौं ।
हामी आफैं क्या राम्रो खिच्यो भन्यो, कस्तो राम्रो अभिनय गरेको भन्यो । तर के प्रसंशायोग्य काम भइरहेको छ ? यसको गठजोड नै अहिलेका हाम्रा चलचित्र हुन् । कोरिया हामीभन्दा पछि चलचित्रमा आएको हो । उसले त्यति धेरै फड्को मारिसक्यो । तर हामी सधैं पछि परिरहेका छौं । हामीले राम्रो काम गरिरहेका छैनौं भन्ने अनुभूत पनि गरिरहेका छैनौं ।
मौलिक कथा र मौलिक प्रस्तुतिभन्दा बजारमा ध्यान दिँदा नेपाली चलचित्र राम्रो बनेन भनिन्छ, हो ?
सबैभन्दा धेरै भूमिका नै आलोचकको हुन्छ । तर आलोचकको सीमिततामा पनि ध्यान दिनुपर्छ । हाम्रो चलचित्र लामो समयदेखि रुपान्तरण भएन । तर के समीक्षकको समीक्षा रुपान्तरण भयो ? विश्वका समीक्षकले चलचित्र उद्योगलाई नै परिवर्तन गर्न सकिरहेका छन्, त्यो रुपको समीक्षा हामीले गर्न सक्यौं त ? आफूलाई मनमा लागेको लेख्नु मात्रै समीक्षा होइन । समीक्षा गर्नु भनेको चलचित्रलाई गाइड गर्नु पनि हो । समीक्षकले गम्भीर अध्ययन गरेर यसका कमजोरी, यसले लिनुपर्ने बाटोबारे लेख्नुपर्छ । सत्य के हो भने अहिले नेपाली चलचित्र जुन ठाउँमा आइपुगेको छ, त्यो समीक्षककै कारण हो । ‘छक्कापञ्जा’ सिरिजकै कुरा गर्दा पहिलो सिरिजबाट आजसम्म आउँदा जुन रुपान्तरण देखियो त्यो मेकरले स्वीकार गरुन् अथवा नगरुन् समीक्षककै कारण हो ।
समीक्षक र दर्शकको फिल्मदृष्टि फरक हुन्छ । समीक्षकहरू फिल्मका प्राविधिक र न्यारेटिभ मन पराउँछन्, तर दर्शक दुई घण्टा रमाउन चाहन्छन् । तपाईं कसलाई सन्तुष्ट बनाउन चलचित्र बनाउनु हुन्छ ?
सुरुमा म चलचित्र भनेको मेरो अभिव्यक्ति हो भन्थेँ, दर्शकसँग संवाद गर्न चलचित्र बनाउनुपर्छ भन्थेँ । तर त्यो सोचाइ पनि गलत रहेछ । मैले चलचित्रलाई जसरी बुझ्छु त्यसरी नै चलचित्र बनाउने हो । त्यसमा दर्शक र समीक्षकको कमेन्ट कस्तो आउँछ त्यो पछिको कुरा भयो । दर्शक र समीक्षकलाई केन्द्रमा राखेर बनाउँदा उनीहरुका पछि लाग्नुपर्छ । आफ्नो कुरा के हो त्यसलाई भन्न खोज्ने हो ।
आफैं मेकर भएर मेकरकै आलोचना गर्ने भनेर तपाईंको चर्को आलोचना हुन्छ नि ?
निर्देशक भएर निर्देशककै आलोचना गर्नु हुँदैन भनेर कहाँ लेखेको छ ? छैन । संसारभर चलचित्रलाई लिएर ठूल्ठूला बहस भएका छन् । तार्कोभ्स्कीको पनि आलोचना भयो । चलचित्रलाई सुधार्नलाई यो हुन्छ र हुनुपछि पर्छ । वोङ जो हुको उनकै साथीले आलोचना गर्छन् । यसले अन्ततः चलचित्रलाई सुधार गर्ने हो, मैले बुझ्ने यसरी हो । मैले जे देख्छु त्यो भन्छु । मेरो कमजोरी अरुले भन्नुपर्छ, अनि पो सुधारिने मौका मिल्छ । यसरी बहस नगरे तपाईं राम्रो भनेर मैले अर्कोलाई भन्ने, उसले मलाई तपाईं राम्रो भन्ने अनि म राम्रो रहेछु भनेर भ्रममा बस्ने सधैं ? कमीकमजोरी औंल्याएर अगाडि बढ्नुपर्छ ।
चलचित्र निर्माणका हिसाबले नेपाल धेरै पछाडि छ । हामी अरुकै शैलीलाई पछ्याइरहेका छौं । हामी आफैं सिर्जनशील नभएर ‘आफ्नै’ चलचित्र बनाउन सकेनौं भन्ने लाग्दैन ?
कोरियाले कसरी काम गर्यो र उसले संसारलाई प्रभावित पारिदियो ? फ्रेन्चहरुले कसरी काम गरे ? इरानी चलचित्र कसरी राम्रो भएभन्दा देशको अवस्थाले पनि केही हदसम्म काम गर्दोरहेछ । तर मुख्य कुरा जसले चलचित्र बनाउँदैछ, उसले राम्रो तयारी गरेर, दूरदृष्टि राखेर काम गर्नुपर्नेरहेछ ।
मैले दुई साताअगाडि केही प्राज्ञहरुसँग बसेर चलचित्रबारे छलफल गरेको थिएँ । एकजना प्राज्ञले भन्नुभयो, ‘म इरानी चलचित्र हेर्छु ।’ त्यही छलफलमा रहेका धेरै प्राज्ञले मद्रासी चलचित्र हेर्छौं भन्नुभयो । हाम्रो प्राज्ञिक वर्गले मद्रासी चलचित्र हेरेर मनोरञ्जन लिइरहेको छ भने हाम्रो चलचित्र क्षेत्र कहिले माथि उठ्छ ? उहाँहरुको रुचि मद्रासी चलचित्रमा हुन्छ भने हामी गुणस्तरीय चलचित्र, अन्तरराष्ट्रियस्तरको चलचित्र, आर्ट मुभीको कल्पना कसरी गर्न सक्छौं ?
हामीले आफ्नै दर्शकको रुचि बुझ्न नसकेको पनि सत्य हो । यसलाई पनि हामीले ध्यान दिनुपर्छ । सँगै हाम्रा ठूल्ठूला राजनेताहरु हास्य टेलिशृङ्खला मन पर्छ भन्नुहुन्छ । यसबाट हाम्रो चेतनाको लेभल कहाँ छ भन्ने बुझ्न सकिन्छ । बाराक ओबामाले वर्षभरि पढ्ने पुस्तकको सूची हेर्दा थाहा हुन्छ उनीहरु के सोच्छन् र हाम्रा नेताहरु किन ओबामा भएनन् ? हाम्रा कति नेताहरुले पुस्तक पढ्छन् ? तर यसको अर्थ अरुले गरेन भनेर हामी फुत्किँदा हुन्छ भन्ने होइन । अरुले जे गरे पनि हामी चलचित्रकर्मीले चाहिँ राम्रो चलचित्र बनाउनुपर्छ । समाज जहाँ छ हामी पनि त्यहीँ छौं भनेर पन्छिने गर्नु गलत हो ।
चलचित्रको जग कथा र पटकथालाई मानिन्छ । यसमा नेपाली मेकर कत्तिको सचेत छन् ? चलचित्रका अरु पक्ष गीतसङ्गीत, साउन्ड, नृत्य, लोकेसन आदिमा लाखौं खर्चिने तर पटकथाका लागि ७०/७५ हजार बजेटमै टालटुल पार्ने कहिलेसम्म ?
त्यस्तो हो जस्तो पनि लाग्दैन मलाई । स्क्रिप्टमा भएको टेक्स्टलाई भिजुअलमा उतार्न सक्ने निर्देशकको पनि अभाव छ । टेक्स्टलाई भिजुअलमा उतार्ने काम निर्देशक र क्यामेरा पर्सनको मात्रै होइन । आर्ट डाइरेक्टर, मेकअप आर्टिस्ट, साउन्ड डिजाइनर, अभिनेताको पनि उत्तिकै भूमिका हुन्छ । यी सबै कुरामा हामी चुकिरहेका छौं । जसले स्क्रिप्ट भएन भनिरहनु भएको छ, उहाँहरुलाई म भन्छु– हलिउडको एउटा स्क्रिप्ट ल्याएर यहाँ सुटिङ गरौं न त राम्रो हुन्छ ? हुँदैन, किनभने यहाँ सबै कुरामा हामी कमजोर छौं, त्यसकै परिणाम हुन् हाम्रा चलचित्र ।
स्क्रिप्टमा लोकेसनको कुरा गर्दा स्कुल भनिएको हुन्छ । तर त्यो फगत स्कुल मात्रै पनि त होइन । त्यो स्कुलभित्र इमोसनल, साइकोलोजिकल, मेटाफोरिक अर्थ हुन्छ । यी कुरालाई ध्यान दिनुपर्छ लोकेसन स्काउटमा । लोकेसन स्काउट भन्ने विधा नै छैन हाम्रो चलचित्रमा । हरेक पक्षमा हामी चुकिरहेका छौं भने किन स्क्रिप्टलाई मात्रै खोट देखाएर उम्किने प्रयास गरिन्छ ?
यसको अर्थ राम्रो स्क्रिप्ट लेखिन्छ भनेको होइन । केही राम्रो स्क्रिप्ट लेख्ने व्यक्ति पनि छन् । तर अधिकांश स्क्रिप्ट भने त्यसको फर्ममा पनि हुँदैनन् । स्क्रिप्ट राम्रो भए पनि त्यसलाई पर्दामा उतार्न सकिँदैन । म आफैंले चलचित्रमा धेरै काम नगरे पनि टेलिभिजनमा त काम गरेको छु । तर ४० देखि ५० प्रतिशत पनि स्क्रिप्टलाई पर्दामा उतार्न सकिएन । स्क्रिप्टमा भएको बाहेक क्यामेरा पर्सन र निर्देशकले त्यसलाई मेटाफोरिक बनाउन सक्नुपर्छ । तर त्यो स्पष्ट अभाव छ हामीसँग ।
अहिले जुनसुकै जान्र र विषयवस्तुमा पनि कमेडी घुसाइदिन्छन् भन्ने मेकरलाई आरोप छ । यो कारण पनि रङ्ग न ढङ्गका चलचित्र बनिरहेका छन् भन्ने टिप्पणी छ । यस्तै भइरहेको हो ?
हामी नेपालीहरुको स्वभाव नै हो यो । जसले जे गर्यो त्यही गर्नुपर्ने अर्कोले पनि । चलचित्र भनेको चुनौती मोल्ने क्षेत्र हो । तर हाम्रोमा त्यो छैन । बजारले नै निर्देशित गरिरहेको अवस्था छ ।
हास्यप्रधान चलचित्र बनिरहेका छन्, तर हामीलाई दर्शकको रुचि थाहा भएन कि जस्तो लाग्छ । बजार परिवर्तन भइसकेको छ, बजारकै लागि काम गर्ने साथीहरुले यो तथ्य महसुस गर्नुभयो भने राम्रै हुन्छ । सधैं एउटै कुरा रहँदैन । शिव रेग्मीहरु एकपटक चुके । त्यसपछि निखिल उप्रेतीहरु आए, उनीहरुको राम्रो बजार थियो केही वर्ष । त्यसपछि केही वर्ष मौलिकतर्फ दर्शक तानिएको जस्तो थियो । त्यसपछि कमेडी आयो । दर्शकको रुचि यसबाट परिवर्तन भइरहेको छ । यसलाई बोध गर्न नसकेको मात्रै हो । कुनै एउटा विषयले मात्रै चलचित्र क्षेत्र धान्दैन । यसमा विविधता आउनु जरुरी छ ।
निर्देशकहरु प्रोड्युसरले चलचित्र बुझ्दैबुझ्दैनन्, त्यसैले भनेजस्तो फिल्म बनाउन सकिएन भन्ने गुनासो गर्छन्, यसमा कत्तिको सत्यता छ ?
यो निर्माताको समस्या होइन, निर्देशककै समस्या हो । बजेट निर्देशकले बनाउने हो । आफैंले बनाएको बजेटमा चलचित्र बन्दैन भने निर्देशककै समस्या हो । यसको अर्थ बजेटको पूर्वानुमान गर्न निर्देशकले सकेनन् भन्ने पनि हो ।
नेपाली चलचित्रले आधा शताब्दीको इतिहास बोके पनि अझै नेपाली सीमा पार गरेर विदेशी बजारमा आफूलाई उभ्याउन सकिरहेको छैन । कारण नेपालीपन बोक्ने चलचित्र बनाउन सकिएन कि मार्केटिङ कमजोर भयो ?
मेरो चलचित्र पनि बाहिर गएको छ, केही अरु साथीहरुको चलचित्र पनि गएका छन् । त्यसैले हाम्रो क्षमता नै पुगेन कि जस्तो लाग्छ । नेटफ्लिक्सले नेपाली विषयमा लगानी गर्दैछ । तर नेपाली विषयमा लगानी गर्दा नेपाली ट्यालेन्ट उसले किन लिएन ? यसको अर्थ हामीमा क्षमता रहेनछ । हामीलाई उसले विश्वास गरेन । कोलम्बिया, थाइल्यान्ड, कम्बोडियाको पनि लिने, तर हामीलाई नलिने ! हामी जो चलचित्र क्षेत्रमा काम गरिरहेका छौं, हामीले आफ्नै समीक्षा गर्ने बेला आयो ।