प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीको भनाइलाई रिट्विट गरेको विषयमा चर्चा चुलिएको छ । गान्धीको ट्विटलाई भारतका कुनै पत्रकारले रिट्विट गर्दै सोनियाको प्रशंसा गरेर कमेन्ट पनि गरेका थिए । तिनै पत्रकारले गरेको रिट्विटलाई नेपालका प्रधानमन्त्रीको ह्यान्डलबाट कसैले रिट्विट गरेपछि सर्वत्र चासो र हाँसो भएको छ । भारतीय विपक्षी दलकी नेतृले मोदी सरकारको विरोध गर्दै पोस्ट गरेको त्यस्तो ट्विट नेपालको प्रधानमन्त्रीले रिट्विट गर्नु कूटनीतिक मर्यादाको दृष्टिबाट सही कदम मान्न सकिँदैन । अझ तेस्रो पक्षले गरेको रिट्विटलाई पनि रिट्वट गर्नु त अत्यन्त हास्यास्पद कदम नै हो ।
सामाजिक सञ्जालले जोडेको वर्तमान युगमा ट्विटरमा गएको एक एक शब्दको ठूलो अर्थ लाग्छ । अमेरिकी राष्ट्रपतिले निकै महत्त्वपूर्ण घोषणासमेत ट्विटबाट गर्ने युगको नेतृत्व गरेपछि ट्विटरमा लेखिएका विषयलाई हलुका ढंगले लिन छाडिएको छ । यसलाई उपेक्षा गर्दा कूटनीतिक संसारमा पछाडि पर्ने आशंकाले देशभित्र ट्विटरनै प्रयोग नहुने चीनले समेत विदेशमा रहेका आफ्ना कूटनीतिज्ञलाई ट्विटर प्रयोग गर्न प्रोत्साहित गरेको छ । यस्तो अवस्थामा नेपालका प्रधानमन्त्रीको ह्यान्डलको सही प्रयोग हुनु जरुरी हुन्थ्यो ।
जहाँसम्म सोनिया गान्धीको ट्विटलाई रिट्विट गरिएको प्रसंग छ त्यो षड्यन्त्र वा ट्विटर ह्याक भएजस्तो अवस्था देखिँदैन । कुनै एउटा ट्विटमात्र रिट्विट गर्ने र सो कुराले ठूलो रुप लिएपछि मेटाइदिने ह्याकर हुँदैन । अझ थप ट्विट पनि गरिएको छैन । प्रधानमन्त्रीको त्यो ह्यान्डल कस्को नियन्त्रणमा छ भन्ने पनि प्रधानमन्त्री कार्यालयले जानकारी गराएको देखिँदैन । तर यो खाता अझैपनि उनका निजी सचिवको पहुँचबाट बाहिर छैन भन्ने बुझ्न सकिन्छ ।
वास्तवमा यो ह्यान्डल चलाउने समूहले केही विषयमा ध्यान दिन जरुरी देखिन्छ । अन्य समयमा यस्ता कुरामा सल्लाह दिँदा बेमौसमको बाजाजस्तो देखिने हुनाले पनि अहिले नै प्रधानमन्त्रीको सामाजिक सञ्जालको उपस्थितिको विषयमा केही लेख्नु उपयुक्त लागेको हो ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा दुईवटा भेरिफाइड ह्यान्डल चलेको देखिन्छ । एउटा ह्यान्डल नेपालका प्रधानमन्त्रीले चलाएको देखिन्छ भने अर्को ह्यान्डल केपी शर्मा ओलीको व्यक्तिगतजस्तो देखिन्छ जो हाल नेपालका प्रधानमन्त्री तथा सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पनि हुन् । यी दुवै ह्यान्डल चलाउनु आफैँमा राम्रो सोच पनि हो । किनभने प्रधानमन्त्रीको ह्यान्डलमा पोस्ट भएका सामग्री पद सकिएपश्चात् नयाँ आउने टिमले ‘अर्काइभिङ’ गर्ने वा मेटिदिने गरेको देखिन्छ ।
अहिले देखिएको समस्या भने व्यक्तिगत ह्यान्डल @kpsharmaoli बाट र सरकारी ह्यान्डल @pm_Nepal बाट के कस्ता सामग्री सम्प्रेषण गर्ने भन्ने विषयमा प्रधानमन्त्रीका टोली स्पष्ट नभएबाट उत्पन्न भएजस्तो देखिन्छ । प्रधानमन्त्रीको ह्यान्डलबाट कूटनीतिक र बाह्य सम्बन्धका ट्विटमा ध्यान दिने र जनतासँग प्रत्यक्ष सम्बन्धमा रहने कार्य गर्नु लाभदायक हुन्छ । नेताको रुपमा आफ्ना दलका, शुभेच्छुक, मतदाता आदिका लागि नेपालीमा धेरै ट्विट गर्दा सही हुन्छ । तर, उल्लेखित दुवै ह्यान्डलमा करिब करिब एउटै प्रकारको ट्विट देखिएका छन् ।
बेलायतमा प्रधानमन्त्री पुनःनिर्वाचित भएका बोरिस जोन्सन तथा क्यानडाका प्रधानमन्त्रीमा पुनः विजयी जस्टिन ट्रुडोलाई बधाई दिन केपी शर्मा ओलीको ह्यान्डल प्रयोग भएको छ भने पीएमनेपाल ह्यान्डल सो विषयमा मौन रहेको छ । त्यस्तै, श्रीलंकाका राष्ट्रपति गोतबाया राजापाक्ष र प्रधानमन्त्री नियुक्त भएका महिन्दा राजापाक्षलाई बधाई दिन दुवै ह्यान्डल प्रयोग भएको देखिन्छ । तर, संविधान सभा सदस्य कमला सुवेदीको निधनको समवेदना केपीशर्माओली ह्यान्डलबाट मात्र दिइएको छ । त्यसरी हेर्दा कुन कुराको लागि कुन ह्यान्डल प्रयोग गर्ने भन्ने विषयमा अलमल रहेको स्पष्टै बुझिन्छ ।
प्रधानमन्त्रीका दुई ह्यान्डलबाट या त एउटै सूचना दिइनु पर्छ नभए एक प्रकारको सूचना एउटाबाट र अर्को प्रकारको अर्कोबाट दिने गर्नु राम्रो हुन्छ ।
साथै, ट्विटरबाट शासन संचालनका लागि धेरै प्रकारका सूचना तथा जानकारी प्राप्त गर्न सकिन्छ । कतिपय विषयमा आफूले लिन लागेको निर्णयलाई जनताले कसरी प्रतिक्रिया दिन्छन् भन्ने पूर्वानुमान लगाउन पनि सहज हुन्छ । अझ, प्रधानमन्त्रीले बोलेको विषयमा के कस्ता टिप्पणी आएका छन्, कस्ता व्यक्तिले कस्तो टिप्पणी गर्छन्, कस्ता टिप्पणी राजनीतिक कुण्ठाले आएका हुन् र कस्ता ट्विट वास्तवमा निष्पक्ष जनताले गरेका हुन् भन्नेसम्मको अध्ययन गर्न सकिन्छ । यसको लागि प्रधानमन्त्रीको कार्यालयले सामाजिक सञ्जालको विश्लेषण गर्ने विशेषज्ञ र सफ्टवेयर पनि प्रयोग गर्न सक्छ ।
पीएम नेपाल ह्याकको कथा
साधारणतया ट्विट एकाउन्ट ह्याक गर्न सहज छैन । ट्विटरको पासवर्ड कमजोर भयो वा नजिकको कुनै व्यक्तिले थाहा पाएर त्यसको दुरुपयोग गर्यो भने मात्र ट्विटर ह्याक हुन्छ । सम्झनु के पर्छ भने ट्विटरको एकाउन्टमा इमेल पनि जोडिएको हुन्छ । पासवर्ड हरायो भने वा कसैले चोर्यो भने तुरुन्तै इमेलबाट फिर्ता पाउन सकिन्छ ।
यो लेखक आफैँले स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाको सल्लाहकारको रुपमा पहिलोपल्ट पीएमनेपाल एकाउन्ट खोलेको थियो । नेपालका प्रधानमन्त्री ट्विटमा उपलब्ध भन्ने जानकारी आफ्नो व्यक्तिगत एकाउन्टबाट राख्दा एक रात (करिब आठ घन्टामा) सो ह्यान्डलको फलोअरको संख्या करिब तीस हजार भएको थियो । अहिले पीएमनेपालका पाँच लाख १२ हजार फलोअर देखिन्छन् ।
लेखकले प्रधानमन्त्रीको एकाउन्ट खोलेको तीन दिनमा नै सो एकाउन्ट ह्याक भयो । प्रेस सल्लाहकारको रुपमा गरेका पहिलो काम नै दुर्घटनामा परेपछि यो लेखकको मुख, नाक सबै सुक्यो । दिनभरि धेरै व्यक्तिसँग सम्पर्क गरेपछि सम्पर्क सूत्रमार्फत अन्ततः ट्विटरले नै सहयोग गरेर सो पासवर्ड फिर्ता आयो । लेखकले पासवर्ड फेर्यो र ढुक्क भयो तर २४ घन्टाको लागिमात्र । एकाउन्ट फेरि ह्याक भइसकेको थियो । प्रहरीको साइबर सेलको सहयोग लिइयो, अनेक तिकडम लगाइयो तर केही लागेन ।
त्यस समयमा पीएम नेपाल एकाउन्टको सम्पर्क इमेल प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको लागि बनाएको इमेल एकाउन्ट थियो । सो ह्याकरले त्यो अर्को एकाउन्ट फेरेको थिएन । तर, इमेलको पासवर्ड भने फेरिन्थ्यो र पालैपिछे लेखकले त्यो इमेलको पासवर्ड माग्नुपथ्र्यो । इमेलको पासवर्ड फेर्यो, सो इमेलबाट ट्विटरसँग नयाँ पासवर्ड माग्यो र फेर्यो । तर, फेरि ह्याक ।
आफैँले नयाँ पासवर्ड राख्दा पनि इमेलको पासवर्ड परिवर्तन भएपछि इमेल एड्मिनले बदमासी गरेको स्पष्ट भयो । प्रहरीले एकाउन्ट न्युजिल्यान्डबाट ह्याक भएको देखिएको सूचना दियो तर लेखकले सो एकाउन्ट प्रधानमन्त्रीको कार्यालयकै कुनै व्यक्तिबाट ह्याक भएको सुँइको प्रहरीलाई दियो । त्यसपछि ट्विटर एकाउन्टको सम्पर्क इमेलमा आफ्नो व्यक्तिगत इमेल राखेपछि र प्रहरीले शंकाको जानकारी कार्यालयमा कर्मचारीलाई दिएपछि भने सो एकाउन्ट अहिलेसम्म ह्याक भएको थिएन ।
प्रधानमन्त्री ओली २०७२ सालमा प्रधानमन्त्री भएपछि तत्कालीन प्रेस सल्लाहकार प्रमोद दाहाललाई पासवर्ड दिएर सम्बद्ध इमेल परिवर्तन गर्ने सल्लाह दिएपछि देशकै सबैभन्दा महत्त्वपूर्ण ट्विट एकाउन्ट ह्यान्डल गर्ने जंजालबाट लेखकले मुक्ति पाएको थियो ।
यस विषयमा लेखकले अहिलेसम्म कतै चर्चा नगरेको भए पनि प्रधानमन्त्रीको एकाउन्ट पुनः ह्याक भएको परिस्थितिमा इतिहासको चर्चा गर्न मन लागेको हो ।