site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तरुण दल विवादः अध्यक्ष कारवाही गर्ने, महासचिव फुकाउने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलमा विवाद चुलिँदै गएको छ । अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीसँग समन्वय नै नगरी जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरेपछि चर्किएको विवाद पछिल्लो समय उत्कर्षमा पुगेको छ । 

मातृ पार्टी कांग्रेसले सुरु गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानलाई ‘नौटंकी’ भन्दै आएका महासचिव शाहीले बिना कुनै निर्णय जागरण अभियानको पहिलो दिन संगठनले कारवाही गरेका व्यक्तिको निलम्बन फुकुवा गरेका छन् । यस्तै, उनले अध्यक्ष बस्नेतसँग कुनै सल्लाह नगरेर आफू निकटका तरुण नेतालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ । 

महासचिव शाहीले संगठनले कारवाही गरेका तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष सगुन श्रेष्ठको कारवाही फुकुवा गर्दै सीताप्रसाद यादवलाई सप्तरीको जिल्ला अध्यक्ष तोकेर पत्र पठाएका छन् । 

उनले संगठनको विधानविपरीत गरिएको श्रेष्ठमाथिको कारवाही भदौ २४ बाट लागू हुने गरी फुकुवा गरिएको पत्र पठाएका छन् भने यादवलाई तीन महिनाभित्रै जिल्ला अधिवेशन गर्ने म्याण्डेट दिएर यादवलाई सप्तरीको अध्यक्षमा मनोनित गरेका छन् । तरुण दलका अध्यक्ष बस्नेतले सिन्धुपाल्चोकका उपाध्यक्ष श्रेष्ठमाथि संगठनको विधि, विधान, मर्म र भावनाविपरीत कारबाही गरेकोप्रति केन्द्रीय कार्यसमितिको गम्भिर ध्यानाकर्षण भएको समेत दाबी गरेका छन् । 

यसअघि पार्टीले भदौ २४ गतेबाट सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियान सफल पार्न भन्दै अध्यक्ष बस्नेतले भदौ २० गते परिपत्र गरेपछि महासचिव शाहीले ‘काउन्टर’मा जागरण अभियानको नामै उल्लेख नगरी भदौ २२ गते परिपत्र गरेका थिए । 

“पार्टीको जागरण अभियानको म विरोधमा होइन । अभियान सफल बनाउन भन्दै मसँग सल्लाह नै नगरेर अध्यक्षजीले परिपत्र गर्नुभयो । मैले मिडियाबाट परिपत्रका बारेमा जानकारी पाएँ,” शाहीले बाह्रखरीसँग आफूले ‘काउन्टर’मा परिपत्र जारी गरेको बारेमा प्रष्ट्याउँदै भने, “संगठनको महासचिवलाई बाइपास गर्न खोजिएपछि मैले भ्रष्टाचारको भण्डाफोर अभियान सञ्चालनका लागि जिल्लाहरुलाई परिपत्र गरेको हुँ ।” 

उनले परिपत्र जारी गर्नुअधि भदौ २१ गते प्रेस वक्तव्य जारी गरेर पार्टीले सुरु गरेको राष्ट्रिय जागरण अभियानलाई ‘नौटंकी’को संज्ञा दिएका थिए । “भ्रातृ सस्थाका केन्द्रीय समिति विस्तारसम्म गर्न नसक्ने गैरजिम्मेवार नेतृत्वबाट पार्टी जागरणको डंकामात्र फुकेर केही औचित्य नहुने म प्रष्ट पार्न चाहन्छु,” शनिबार जारी विज्ञप्तिमा भनिएको थियो, “तरुण दललाई चार जनामा सीमित राख्नु र नेविसंघलाई शून्यमा राख्नु लोकतान्त्रिक पार्टीका लागि लाजमर्दो विषय हो । केन्द्रलाई नै जागरण गर्न नसक्ने पार्टीका नेताहरूले गाउँमा गएर जागरण गर्छु भन्नु नौटंकीमात्र हो ।”

पार्टीले देशभरका तीन सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा जागरण अभियान सञ्चालन गरिरहेका बेला महासचिव शाहीले ‘भ्रष्टाचार काण्डका विरुद्ध भण्डाफोर अभियान’ भन्दै वक्तव्यबाजी गरिरहेका छन् । अध्यक्ष बस्नेतले भ्रष्टाचारविरुद्ध कार्यक्रमको प्रस्तावलाई अस्वीकार गरेका कारण आफूले महासचिवको हैसियतमा भ्रष्टाचारीविरोधी अभियानको घोषणा गरेका दाबी गरेका छन् । 

“अध्यक्षले भ्रष्टाचारको विरुद्ध कार्यक्रम गरौं भन्दा सधैं टार्दै आएकाले महासचिवको तर्फबाट भ्रष्टाचारी विरोधी अभियानको घोषणा गरेको हुँ,” उनले बाह्रखरीसँग भने । अध्यक्ष बस्नेतले भ्रष्टाचारविरुद्ध संगठनले निर्धारण गरेका ‘अख्तियार घेराउ कार्यक्रम’ र ‘मेची–महाकाली अभियान’ फिर्ता लिएको उनले दाबी गरे । 

तरुण दलमा चर्किएको पछिल्लो विवादका बारेमा अध्यक्ष बस्नेतले भने कुनै प्रतिक्रिया दिन मानेनन् । “त्यो (पछिल्लो घटनाक्रम)का विषयमा कुरा नगरौं । दुई–तीन दिनमा सबै कुरा थाहा भैहाल्छ,” उनले बाह्रखरीसँग भने । अध्यक्ष बस्नेत निकट स्रोतले भने महासचिव शाहीले विधानविपरीतका क्रियाकलाप गरेर ‘पोलिटिकल स्टन्ट’ गर्न खोजेको दाबी गरेको छ । 

“उहाँ विधान मिचेर अगाडि बढिरहनुभएको छ । यो पोलिटिकल स्टन्टका लागि हो,” स्रोतले भन्यो, “यसका बारेमा पार्टीले निर्णय गर्छ ।”  

यो पनि पढ्नुस् 

तरुण दलमा चर्कियो विवाद, महासचिव भन्छन्– जागरण अभियान नौटंकी

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  ११:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro