site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधामन्त्रीको चीन भ्रमण पहिलोजस्तो हुनेछैन

नेपाल राष्ट्रको निर्माण नै तीनतिरबाट आएका मानवको समागमबाट भएको छ । दक्षिण, उत्तरबाट र केही यहीँका रैथाने होलान् । नेपालको चीन र भारत दुवै छिमेकीसँग निकै पुरानो र विशिष्ट सम्बन्ध छ । जनश्रुतिको कालखण्डमा मञ्जुश्री प्रतिनिधि पात्र थिए होलान् । इतिहासका अभिलेखमा हेर्दा इस्वी संवत् सुरु हुनुभन्दा अगाडिदेखि नेपाल बारे वा बुद्ध जन्मस्थान बारे जानकारी थियो भन्ने देखिन्छ । इतिहासको कालखण्डमा हाम्रो उत्तरतिरको सम्बन्ध बलियो थियो । भारतमा अंग्रेजको शासन सुरु भएपछि  हामी  दक्षिणतर्फ नजिक हुनपुगेको हो ।

अठारौं शताब्दीमै विश्वको शक्तिशाली राष्ट्र चीन आफ्नो आर्थिक हैसियतलाई पुनःस्थापित गर्न सफल भएको छ । अहिले विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीन केही समयपछि पहिलो अर्थतन्त्र बन्ने दिशामा केन्द्रित छ । नेपालको लागि सुखद विषय के हो भने १ हजार ४ सय किलोमिटर सीमा जोडिएको राष्ट्र अन्तर्राष्ट्रिय आर्थिक, सामरिकरूपमा विश्व शक्ति बन्दै छ । त्यो परिवर्तनलाई नेपालको हितमा कसरी गाँस्ने र कसरी राख्ने भन्ने मूल प्रश्न हो । नेपालको भूरणनीतिक अवस्था हेर्दा दक्षिणी र उत्तरी छिमेकी राष्ट्रहरू उदीयमान देखिन्छन् । तर, नेपाल अल्पविकसित र विकासको गोरेटो पहिल्याउन नसकेको अवस्थामा छ । 

नेपालको पछिल्लो ७० वर्ष राजनीतिक परिवर्तनका लागि खर्च भयो । तैपनि, अझै एउटा राजनीतिक प्रणालीको विकास हुनसकेको छैन । राजनीतिक प्रणाली विकास नभएसम्म यस अवस्थाबाट माथि उठ्न सक्ने देखिँदैन । सैद्धान्तिकरूपमा संघीय गणतन्त्रात्मक मुलुक भएका छौँ । अब हामी जाने भनेको आर्थिक विकासमै हो । आर्थिक विकासका लागि हामीसँग भएको स्रोत साधनले पुग्दैन । त्यसका लागि आवश्यक स्रोत साधन कहाँ होला त ? सात समुन्द्रपारी जानुपर्दैन । दुई ओटा छिमेकीसँग सद्भाव र राम्रो सम्बन्ध राख्न सक्यौं भने चाँडै अगाडि बढ्न सक्छौँ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको भौगोलिक अवस्थाले गर्दा दुई छिमेकीसँग पौठेजोरी खेलेर होइन समान सम्बन्ध राखेमात्र अगाडि बढ्न सकिन्छ । कुनै एकप्रति झुकाव नराखी दुवैका चासो र संवेदनशीलताको ख्याल राखेर सम्बन्ध विकास गर्नुपर्छ । कुनै एक देशप्रति झुकाव राख्नु नेपाल राष्ट्रको दीर्घकालीन हितमा हुँदैन । 

आजका दिनमा चीनको प्रगति आश्चर्य लाग्दो छ । चिनियाँहरू अहिले नयाँ विश्वपरिवेशमा सोचिरहेका छन् । खासगरी विश्व राजनीतिक वैचारिक प्रस्तावनामा औपनिवेशिक अर्थात् ‘जिरो सम गेम’ बाट ‘विन विन सिचुयसन’ मा सम्बन्ध र सहकार्य गर्नुपर्छ भन्ने उनीहरूको धारणा हो । सहकार्यबाट दुवै पक्षलाई लाभ हुने हिसाबले सोच्नुपर्छ भन्ने उनीहरुको निष्कर्ष देखिन्छ ।

Global Ime bank

चिनियाँहरूको क्षमता र नेपालप्रतिको चासो बढ्दो छ । उनीहरूले हालै भएको लगानी सम्मेलनमा गरेको प्रतिबद्धताले पनि त्यो प्रतिविम्बित गर्छ । देश देशबिचको सम्बन्ध हेर्दा उनीहरूले विगतमा गरेका व्यवहार र सहकार्यलाई हेर्नुपर्छ । चीनको सुन्दर पक्ष के हो भने हाम्रो आन्तरिक मामिलामा कहिलै पनि हस्तक्षेप गरेन । चीन सँधै नेपालको वैधानिक सत्तासँग सम्बन्ध राखेर अगाडि बढ्छ । उसले राजतन्त्र हुँदा पनि सोहीअनुसारको सम्बन्ध राख्यो र अहिले दलीय व्यवस्थामा पनि सत्ता सञ्चालन गर्ने नेतृत्वसँग वैधानिक सम्बन्ध राखेको छ । अहिले पनि चीन वधानिक सम्बन्धमा विश्वास गर्छ । हामीले पनि कुनै पार्टी विशेष नभई राष्ट्रको हितलाई केन्द्रमा राखेर अरू देशसँग सम्बन्ध राख्नुपर्छ ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार गठन भएको सात महिनापछि उत्तरी छिमेकी देशको औपचारिक भ्रमणमा जाँदैहुनुहुन्छ । उहाँ एउटा कार्यक्रममा सहभागी हुन जाने क्रममा चीनका राष्ट्रपतिसँग पनि भेट हुने भनिएको छ । 

राष्ट्रले कुनै पनि देशको सरकार प्रमुखसँग भेटघाट गर्दा उनीहरूको हैसियत पनि हेर्छ भन्ने मलाई लाग्छ । वर्तमान प्रधानमन्त्री पहिलो पटक प्रधानमन्त्री भएर चीन भ्रमणमा गएको र अहिलेको उनको भ्रमणमा धेरै भिन्नता छ । त्यतिबेला उनी उदीयमान पार्टी र शक्तिका प्रधानमन्त्री थिए । भनिन्थ्यो, बीसौं वर्ष अब माओवादीले शासन गर्छ । नेपालमा सरकार परिवर्तन भएपछि पहिलो पटक उत्तरी छिमेकी देशको भ्रमण गरेर दाहालले नै एउटा परम्परा तोडेका थिए । यद्यपि, उक्त भ्रमण पनि चीनमा त्यतिबेला भएको ओलम्पिकको उद्घाटनमा भाग लिन भएको थियो । अहिले पनि उनी एउटा कार्यक्रममा सहभागी हुन जाने भएकाले भ्रमणमा केही फरक भए पनि प्रकृति उस्तै छ । 

पहिलो भ्रमणमा पनि चिनियाँ नेतृत्वसँग उनको भेटका लागि समय मिलाउन निकै गाह्रो भएको थियो । विश्वका ८६ देशका राष्ट्र प्रमुख सहभागी ओलम्पिकमा आयोजक राष्ट्रका प्रमुखले समय दिन कठिन नै थियो । तर, नेपाल र चीनबीचको विशेष सम्बन्धका कारणले तत्कालीन चिनियाँ राष्ट्रपतिले ३० मिनेटको समय दिएका थिए । त्यस्तै, चीनका तत्कालीन प्रधानमन्त्रीसँग पनि उनको भेट भएको थियो । अहिले प्रधानमन्त्री दाहाल चीनको भ्रमण गर्दा उनी केही दिनका लागिमात्रै प्रधानमन्त्री रहने अवस्थामा छन् ।

बीसौं वर्षसम्म शासन गर्ने अपेक्षा गरिएका बेलाका शक्तिशाली प्रधानमन्त्री दाहाल र अहिलेको उनको अवस्थामा धेरै फरक छ । त्यतिखेर चीनले प्रधानमन्त्री दाहालमाथि हेर्ने दृष्टिकोण नै फरक भएको छ । मनमा जे भएपनि दाहालको छवि तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका सम्झौतालाई ‘फ्रिज‘ गर्ने प्रधानमन्त्रीको बनेको छ । यो अवस्था र परिस्थितिमा उनले गर्ने चीन भ्रमण सद्भावना भ्रमणमात्रै हो । 

आफ्नो पछिल्लो छवि सत्ता साझेदारीका कारणले भएको हो भनेर उनले चीनको उच्च तहको भेटका क्रममा भन्न सक्छन् । चीनसँग भएका सन्धि सम्झौताप्रति आफू प्रतिवद्ध रहेको बुझाउन सक्नुपर्छ । उनले भन्नुपर्छ – ‘म चीनसँग भएका सम्झौताका कारण नेपालमा व्याप्त उल्लास र समर्थन भावबाट बाहिर छैन । यसलाई अगाडि बढाउन प्रतिबद्ध छु ।’ यसले नेपाल राष्ट्र, उनको पार्टी र चीनको उनीप्रतिको दृष्टिकोणमा केही परिवर्तन आउन सक्छ । 

प्रधानमन्त्री दाहाललाई चीनको हाइनान प्रान्तमा हुन लागेको बोआओ सम्मेलनका लागि मात्रै निम्ता आएको थियो । उनले सोही भ्रमणलाई राजकीय बनाउने इच्छा पनि देखाएको सूचना आए । नेपालको तर्फबाट यसअघिको सरकारले गरेका सम्झौताको कार्यतालिका (प्रोटोकल) मा हस्ताक्षर गर्ने र ‘वन वेल्ट वन’ रोड (ओबीओआर) को प्रतिबद्धतामा हस्ताक्षर गर्ने तयारी गरेको भनिएको छ । दाहालको भ्रमणका समयमा चीनका प्रधानमन्त्री देशबाहिर हुने भएकाले तयारी भएर पनि हस्ताक्षर नहुने सरकारी तर्क छ । हो, एउटा शक्तिशाली देशको उच्च तहको भ्रमण हाम्रा प्रधानमन्त्री चीन जाँदैछन् भनेर छोट्याउँदैनन् । उनीहरू आकस्मिक बन्दैनन् । उनीहरूले योजनाबद्ध ढंगले आफ्नो काम अगाडि बढाएका हुन्छन् ।

नेपालमा भन्ने गरिएको राजकीय भ्रमण आकस्मिक र कुनै सम्मेलनमा जाने क्रममा हुने भेटलाई भनिँदैन । बोआओ फोरम जाँदाको समयलाई राजकीय भ्रमणमा परिणत गर्ने भन्ने कुरा सहज हुँदैन । राजकीय भ्रमण भनेको दुई देशको एजेण्डामा आधारित योजनाबद्ध भ्रमण हो । ती एजेन्डाबारे दुई पक्षबीच छलफल हुनुपर्छ । त्यसैले यस्तो छोटो समयमा निर्धारित भ्रमणले राजकीय रूप लिन सक्तैन । 

चीनको अहिलेको चासो अघिल्लो सरकारले गरेका सम्झौतालाई अगाडि बढाउन प्रोटोकलमा ‘डिफाइन’ गर्ने र ओबीओआर बारे नेपालको प्रतिबद्धता नै हो । 

यी विषयमा दुवै देशका हित जोडिएका छन् । नेपालको पहिलो चासो र हित भनेको पारवहन सम्झौता कार्यन्वयन गर्नु नै हो । यसले नेपाललाई ‘ल्यान्ड लक’ राष्ट्रबाट ‘ल्यान्ड लिंक्ड’ राष्ट्र बनाउँछ भन्ने छ । दोस्रो, नेपाल भारतमा आश्रित हुनबाट रोक्न चीनबाट इन्धन आपूर्ति, ‘कनेक्टिभिटी’का काम अगाडी बढाउनु हो । 

ओबीओआर चीनको अहिलेको सर्वाधिक चासो र प्राथमिकताको योजना हो । यसमा एउटा छिमेकी देशको समर्थन र सहभागिताको उसले अपेक्षा गरेको छ । तर, अहिलेको सरकारको प्राथमिकतामा यो विषय छैन । अहिले सरकारमा सहभागी दल र केही मन्त्रीहरू चीनलाई हिमाल पारी नै राख्ने सोचका साथ अगाडि बढेको देखिन्छ । कुनै मन्त्रीले त चीनबाट रेल हिमाल मुनिबाट ल्याउन हुँदैन यसले वातावरणीय प्रलय ल्याउँछसम्म पनि भन्न भ्याए । यो अवस्थामा चीन भ्रमण जाँदै गरेका प्रधानमन्त्रीले यी अभिव्यक्ति र यसले गर्दा जनसाधारण तथा चिनियाँ पक्षले बनाएको एउटा धारणालाई चिर्न सक्नुपर्छ । इतिहासमा जस्तो परिस्थिति भए पनि दुई देशका हितका विषयमा नेपाल सरकार प्रतिबद्ध छ र यी विषयलाई अगाडि बढाउँछ भन्ने विश्वास चिनियाँ पक्षलाई दिलाउन सक्नुपर्छ ।

चिनियाँ पक्षले अहिलेका प्रधानमन्त्रीको हैसियत राम्रोसँग बुझेको छ । त्यसैले उनीसँग कुनै औपचारिक सम्झौता गर्न पनि उपयुक्त ठानेन । अहिलेको सरकारले पनि चीनसँग छलफल गरेर साँच्चिकै सम्झौता गर्ने चासो देखाएको भए यो सम्भव हुन्थ्यो होला । बोआओ फोरममा नभई अन्य समयमा दाहाल चीन भ्रमण जान्थे होलान् । त्यसैले यो सद्भाव भ्रमणमा ठूलो अपेक्षा गर्न सकिँदैन र चीनले पनि त्यो कुरा बुझेको छ ।

यस भ्रमणमा कुनै ठोस सम्झौता नगरिए पनि कम्तीमा दुई राष्ट्रबीचको सद्भाव अभिवृद्धि गरोस् भन्ने मेरो अपेक्षा छ । भ्रमणमा जाँदै गर्दा प्रधानमन्त्रीले एउटा पार्टी वा गठबन्दनको नेता नभई राष्ट्रको आवाजलाई चीन समक्ष आफ्नो क्षमताअनुसार राख्नुपर्छ ।

(प्रधानमन्त्रीका रूपमा दाहालको पहिलो चीन भ्रमणका बेला चीनमा नेपाली राजदूत रहेका टंक कार्कीसँग बाह्रखरीका लागि बुधवार अशोक पौडेलले गरेको कुराकानीमा आधारित )

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC