काठमाडौं । अर्को वर्ष आयोजना हुने ओलम्पिक खेलकुदलाई लक्षित गर्दै राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानको मिकिसिटी सहरमा हुने भएको छ । जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइएको हो । मिकिसिटीका मेयर काजुहिकु नाकाताको विशेष निमन्त्रणामा पारा टोली त्यसतर्फ जान लागेको हो ।
नेपालबाट तीन ग्यरोगी र दुई पुम्से खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन् । प्रशिक्षणका लागि जापान जाने खेलाडीहरुमा पलेसा गोबर्द्धन, दीपेश महत, रोहितहाङ राई, विक्रम श्रेष्ठ र सुवासचन्द्र राई छन् ।
यस्तै प्रशिक्षकमा कविराज नेगी लामा, व्यवस्थापकमा रोशन श्रेष्ठ र टोली नेतामा रामचन्द्र श्रेष्ठ छन् । नेपाली खेलाडीको बस्ने र खाने व्यवस्था मिकिसिटी महानगरपालिकाले गर्नेछ ।
नेपाली टोलीलाई शुक्रबार नेपाल तेक्वान्दो संघले विदाइ गरेको छ । आइतबार जापान जाने नेपाली टोलीले अगष्ट ५ देखि ११ तारिखसम्म प्रशिक्षण गर्नेछ ।