site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँच करोडले सेब्समा खैलाबैला, सदस्यले नै दिए जिल्ला प्रशासनमा उजुरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०७२ वैशाख १२ र २९ गते भूकम्प गएपछि नेपाल र नेपालीलाई विदेशबाट सहयोग गर्नेको ओइरो नै लाग्यो । त्यसमा विदेशी सरकार, दातृ निकाय, गैरसरकारी संस्थादेखि लिएर विदेशी नागरिक र विदेशमा बसोबास गरिरहेका नेपाली नागरिक पनि थिए । कतिपय व्यक्ति तथा संस्थाहरुले भूकम्प पीडितका नाममा उठाएको रकम दुरुपयोगसमेत गरेको चर्चा अहिले पनि चल्छ ।

यस्तै एउटा संस्थाले भूकम्प पीडितका लागि भनेर अमेरिकामा संकलन गरेको रकम दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ । रकम दुरुपयोगको तथ्यसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि यो तथ्य खुलेको हो । 

ललितपुरका नवीन श्रेष्ठले ‘भूकम्प पीडितका नाममा अमेरिकामा नियमविपरीत नेपाली र अमेरिकी नागरिकले रकम उठाई आफ्नो व्यक्तिगत खर्च एवं नेपाल पठाई सो रकम हिनामिना गरेकोले आवश्यक छानबिन गरी कानुनी कारबाही गरीपाऊँ’ भन्दै मंगलबार जिल्ला प्रशासनमा उजुरी दिएका छन् । श्रेष्ठले काठमाडौंस्थित ‘सोसाइटी अफ एक्स बूढानीलकण्ठ स्टुडेन्ट्स (सेब्स) र अमेरिकामा दर्ता भएको सेब्स नर्थ अमेरिकाविरुद्ध उजुरी दिएका हुन् । श्रेष्ठ आफैं पनि सेब्सका सदस्य हुन् । बूढानीलकण्ठ स्कुलमा पढेका तीन हजारभन्दा बढी पूर्व विद्यार्थी सेब्समा आवद्ध छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सुरुमा अलमुनाइको रुपमा स्थापना भए पनि पछि एनजीओको रुपमा परिणत भएको र आफ्नो उद्देश्य विपरीत सामाजिक कामको सट्टा पैसा उठाएर हिनामिना गर्नतिर लागेकोले उजुरी दिएको श्रेष्ठ बताउँछन् । “सरकारको स्वीकृति लिनुपर्ने निकायबाट स्वीकृति नलिई चन्दा उठाएको, स्वीकृति लिनुपर्ने निकायबाट स्वीकृति नलिई नेपाल ल्याएको र सेब्सको विधानमा भएको व्यवस्थाविपरीत खर्च नगरी हरहिसाबसमेत यकिन नदेखाएकोले मैले आफैं सदस्य रहेको संस्थाविरुद्ध उजुरी दिएको हुँ,” श्रेष्ठले भने, “रकम दुरुपयोग गर्ने व्यक्ति तथा संस्थामाथि छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्छ । सामाजिक कामको नाममा आफ्नै स्वार्थको लागि काम गर्ने संघसंस्था बन्द गर्नुपर्छ ।”श्रेष्ठका अनुसार बूढानीलकण्ठ स्कुलका पूर्व विद्यार्थीहरुले अमेरिकामा पनि सेब्स नर्थ अमेरिका नामक संस्था दर्ता गरेका छन् । सेब्स नर्थ अमेरिकाले भूकम्पपछि विभिन्न व्यक्ति तथा संस्थाहरुबाट ४ लाख ६८ हजार ५ सय ६८ अमेरिकी डलर (करिब ५ करोड रुपैयाँ) संकलन गरेको थियो । संकलित ५ करोडमध्ये करिब साढे तीन करोड रुपैयाँ संस्थाका तत्कालीन पदाधिकारीहरुले आफूखुसी खर्च गरेको र बाँकी रकममात्र नेपाल पठाएको उजुरीमा उल्लेख छ । सेब्स नर्थ अमेरिकाका तत्कालीन अध्यक्ष किरण सिटौलाको नेतृत्वमा रकम संकलन भएको र त्यसको दुरुपयोग भएको उजुरीकर्ता श्रेष्ठको दाबी छ । अमेरिकामै बसोबास गर्ने सिटौला अमेरिकास्थित टाउन अफ इन्डियन हेडका उपमेयरसमेत हुन् ।

सेब्सले १ करोड १३ लाख ६३ हजार ४ सय रुपैयाँ सेब्स नर्थ अमेरिकाबाट लिएको अडिट रिपोर्टमा देखिन्छ । उक्त रकममध्ये दुई लाख रुपैयाँ हुण्डीमार्फत् प्रभाकर घिमिरेले विवेकशील नेपालीलाई दिएको अडिट रिपोर्टमा उल्लेख छ । त्यसैगरी सेब्स नर्थ अमेरिकाले विवेकशील नेपालीलाई सोझै ३८ हजार १० अमेरिकी डलर (४० लाख रुपैयाँ) दिएको दाबी उजुरीमा गरिएको छ । २०१६ पछि पनि सेब्स नर्थ अमेरिकाले विभिन्न विषयमा अमेरिकामा रकम उठाउँदै नेपाल पठाएको संस्थाको वेबसाइटमा उल्लेख छ । 

Global Ime bank

उजुरीकर्ता श्रेष्ठको दाबीअनुसार सेब्स नर्थ अमेरिकाले विदेशबाट पैसा ल्याउँदा नेपालको कानुनको पनि उल्लंघन गरेको छ । राष्ट्र बैंकको स्वीकृति लिई बैंक तथा वित्तीय संस्थाबाट मात्र रकम ल्याउनुपर्नेमा हुण्डी तथा अन्य विद्युतीय प्रणाली (ठमेल डटकम, पेपल आदि)मार्फत् पैसा पठाइएको छ । 

अध्यक्ष भन्छन्– संस्थामा कसैले ‘कम्प्लेन’ गरेको छैन

भूकम्प पीडितका नाममा उठाइएको रकम हिनामिनाबारे जिज्ञासा राख्न सेब्स नर्थ अमेरिकाका अध्यक्ष भरत कँडेलले संस्थामा यसबारे कसैले आधिकारिक रुपमा ‘कम्प्लेन’ नगरेको बताए । “कुन सदस्यले कहाँ उजुरी दिए भन्ने मलाई जानकारी छैन । तर, संस्थामा कसैले पनि औपचारिक रुपमा उजुरी दिएको छैन । संस्थाको अडिट रिपोर्टदेखि लिएर सबैकुरा वेबसाइटमा राखिएको छ, जोकसैले अध्ययन गर्न सक्छ,” उनले भने । यद्यपि, कुनै कमीकमजोरी भए छानबिन गर्न संस्था तयार रहेको उनले स्पष्ट पारे । सेब्स नर्थ अमेरिका अमेरिकामा दर्ता भएकोले त्यहाँकै कानुनअनुसार चल्ने उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको उजुरीमा भूकम्प पीडितको नाममा संकलित रकम विवेकशील नेपालीले पार्टी प्रयोजनमा खर्च गरेको आरोप लगाइएको छ । विवेकशीलले हुण्डीमार्फत् २ लाख र सेब्स नर्थ अमेरिकामार्फत् ४० लाख लिएको उजुरीमा दाबी गरिएको छ । 

निर्वाचन आयोगमा पनि उजुरी

विवेकशील नेपालीले विदेशी संस्थाबाट रकम लिएको भन्दै निर्वाचन आयोगमा समेत उजुरी परेको छ । नेपालको राजनीतिक दलसम्बन्धी कानुनअनुसार यस्तो सहयोग लिन नपाइने भएपनि विवेकशील नेपाली दलले आर्थिक सहयोग लिएको भन्दै नयाँ शक्ति विद्यार्थी युनियनले उजुरी दिएको हो । विवेकशील नेपाली दलले स्थापना कालदेखि नै विदेशी गैरसरकारी संस्थाहरुबाटपटकपटक रकम प्राप्त गरेको र उक्त रकम चुनावी प्रयोजनका लागिसमेत खर्च गरेको दाबी गर्दै युनियनले कारबाहीको माग गरेको छ । 

के भन्छ कानुन ?

राजनीतिक दलसम्बन्धी कानुनअनुसार राजनीतिक दलले राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाबाट आर्थिक सहयोग लिन पाउँदैन । राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको दफा ३८ को उपदफा २ मा राजनीतिक दलले आर्थिक सहयोग लिन नपाउने कार्यालय, संस्था तथा व्यक्तिको सूची उल्लेख छ ।

यसअनुसार राजनीतिक दलले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको कुनै पनि निकाय वा कार्यालय, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको सङ्गठित संस्था, सर्वसाधारणको सेयर रहेको पब्लिक लिमिटेड कम्पनी, कुनै सरकारी वा सामुदायिक विश्वविद्यालय, क्याम्पस, विद्यालय वा प्राज्ञिक वा शैक्षिक संस्था, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, विदेशी सरकार, संस्था वा व्यक्ति, नाम नखुलेको व्यक्ति वा संस्थाबाट आर्थिक सहयोग लिन पाउँदैन ।

संस्थाभित्रको आन्तरिक झगडाः विवेकशील

विवेकशील नेपालीले भने संस्थाभित्रको झगडामा पार्टीलाई मुछिएको बताएको छ । पार्टीका प्रवक्ता मिलन पाण्डेले भने, “सेब्स र सेब्स एनएको आन्तरिक झगडामा हाम्रो पार्टीलाई मुछिएको हो । हामीले ४० लाख लिएको होइन, २ लाखमात्र लिएको हो,” उनले भने । यस विषयमा विवेकशील नेपालीले आन्तरिक सर्कुलर नै जारी गरेको उनले बताए ।

“विवेकशील नेपालीले भूकम्प पीडितका नाममा सेब्स वा सेब्स एनएबाट ४० लाख लिएको कुरा सरासर झुट हो । सेब्सभित्रका केही सदस्यबीच किचलो भइरहेको र त्यसमा हाम्रो दललाई पनि मुछ्ने प्रयास भइरहेको देखिन्छ,” आन्तरिक सर्कुलरमा उसले भनेको छ, “भूकम्पमा आएको मद्दतलाई हामीले दुरुपयोग गरेका छैनौं । चार वर्षअघिको विषयलाई लिएर विवेकशील दललाई अहिले मुछिएको छ । यसबारे सेब्स अनि सेब्स नर्थ अमेरिकाले पनि अनुसन्धान गरिरहेका छन् । हामीले पनि अडिट रिपोर्ट सार्वजनिक गरेका छौं ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २९, २०७६  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement