site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक वर्षमा पनि आएन त्रिविको नतिजा, नियन्त्रक भन्छन्– जनशक्ति छैन, अझै समय लाग्छ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०८० वैशाखमा भएको स्नातक तह प्रथम वर्षको परीक्षा नतिजा एक वर्ष बितिसक्दा पनि सार्वजनिक गरेको छैन । नतिजा कुर्दै यतिखेर तीनवर्षे स्नातक कार्यक्रममा नयाँ र पुराना गरी चारखाले विद्यार्थी पढिरहेका छन् । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मंगलबार त्रिवि पुगेर परीक्षा र नतिजा क्यालेन्डरअनुसार सार्वजनिक गर्न निर्देशन दिइन् । वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिविका पदाधिकारीलाई मन्त्री श्रेष्ठको निर्देशन छ । त्रिविबाट समकक्षता लिने र ट्रान्सक्रिप्ट लिनेलगायतका विषयलाई सहज बनाउन पनि विश्वविद्यालय प्रशासनलाई उनले निर्देशन दिइन् । 

जवाफमा त्रिविका उपकुलपति केशरजंग बरालले त्रिविको समग्र सुधारमा आफू लागिरहेको बताए । सरकारको शिक्षा नीति, २०७६ र त्रिभुवन विश्वविद्यालयको भिजन, २०३० अनुसार अघि बढ्ने उनको दाबी छ ।  त्रिवि पदाधिकारी भन्छन्, “साउनभित्र पुराना परीक्षाको नतिजा साउनभित्र गर्छाैँ।”

त्रिविले स्नातक तह तीनवर्षे शैक्षिक कार्यक्रमहरूको नतिजा प्रकाशन नगर्दै स्नातकोत्तर तहको भर्ना खुला गरेको विषयलाई लिएर २०८० पुस पहिलो साता चर्को रूपमा विरोध भएको थियो । त्रिविअन्तर्गतका विद्यार्थी तथा सरोकारवालाहरूबीच यो ठूलै बहसको विषय बन्यो । 

स्नातकको एक वर्षसम्म नतिजा दिन नसक्ने, तर स्नातकोत्तरको भर्ना आह्वान गर्न हतार गर्ने त्रिविको चर्को आलोचना मात्रै भएन कार्यक्षमतामाथि नै प्रश्न उठ्यो । यिनै आलोचनाकाबीच त्रिविले मानविकी, शिक्षा, व्यवस्थापन तथा विज्ञान संकायको स्नातकोत्तर तहमा भर्ना आवेदनका लागि गएको पुस ५ देखि माघ ४ गतेसम्मको म्याद दिएको थियो ।  ती संकायमा माघ २२ देखि कक्षा सञ्चालन हुने भनिएको थियो । सो समयमा पनि त्रिविले चौतर्फी विरोधका बीच बलजफ्ती भर्ना प्रक्रियाअघि बढाएको थियो । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले जनशक्ति अभावका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको कारण देखाउँदै आएको छ । कार्यालयमा २६६ जनाको दरबन्दी भए पनि हाल २२२ जना मात्रै कार्यरत रहेको दाबी गरिएको छ ।

त्रिवि र पनिकाका जिम्मेवार व्यक्तिहरूको उदासिनताका कारण नै नतिजामा ढिलाइ भएको पनिकाका एक अधिकारी बताउँछन् । “माथिल्लो निकायकै उदासिनताले रिजल्टमा ढिलाइ भएको हो, स्नातक तहको परीक्षाफल ननिकाल्दै स्नातकोत्तरको भर्ना आह्वान गर्नु, जनशक्ति अभाव भन्दै निरीहता देखाउनु लज्जास्पद विषय हो,” ति अधिकारी भन्छन् । 

शिक्षामन्त्री श्रेष्ठको चासोपछि त्रिविका पदाधिकारीहरू आगामी साउनभित्र सबै पुराना परीक्षाको नतिजा निकाल्ने तयारीमा जुटेको बताउन थालेका छन् । त्रिविका रेक्टर प्राध्यापक खड्ग केसी त्यसका निम्ति आफूहरू निरन्तर छलफलमा जुटेको बताउँछन् ।  

“नतिजा प्रकाशनमा ढिलाइ भएको छ, यसलाई जति सक्दो छिटो सम्बोधन गर्न हामीले निरन्तर प्रयास गरिरहेका छौं । केही प्राविधिक समस्याले पनि यसमा ढिलाई भएको छ,” रेक्टर खड्का भन्छन् । 

यस्तै, त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशी लामो समय भइसकेका परीक्षाको नतिजा प्रकाशन गर्न आगामी साउनसम्म लाग्ने जवाफ दिन्छन् । नतिजा निकाल्न ढिलाइ हुनुमा सबै कर्मचारीले नियमतिरूपमा कार्यालय उपस्थित नहुनु नै रहेको दाबी गर्छन् । 

“अब साउनभित्र रोकिएका सबै नतिजा निकाल्ने गरी हामीले काम गरिरहेका छौं, यसका लागि सबै पक्षको जिम्मेवारी हुन्छ, सबै कर्मचारीहरूले नियमितरूपमा काम गर्नुपर्‍यो, नत्र समस्या हुन्छ,” जोशी भन्छन् । तर, रोकिएका सबै नतिजा साउनभित्र सार्वजनिक गरेर त्यसपछि ढिलाइ हुन नदिने उनको प्रतिबद्धता छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro