site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
हाम्रो मुद्दा चर्चित बनाउन गृहमन्त्रीले नै सहयोग गर्नुभयो, उहाँलाई धन्यवाद ! 
Sarbottam CementSarbottam Cement

पूर्व बाल सैनिक लेनिन विष्ट अहिले चर्चामा छन् । खासगरी युरोपको तीन महिने भ्रमणका क्रममा उनले त्यहाँ गरेका गतिविधिलाई लिएर अहिलेको सत्तारुढ दल नेकपामा रहेको पूर्व माओवादीको खेमा भने सशंकित छ ।  गत वर्षको भदौ ८ गते एक कार्यक्रममा भाग लिन थाइल्यान्ड जाने क्रममा उनलाई प्रशासनले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट फिर्ता गरेपछि उनी एकाएक चर्चामा आएका हुन् । उक्त प्रकरणमा उनले सोही भदौ १५ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेकोमा त्यसको अन्तिम छिनोफानो अझै भइसकेको छैन । उनलाई कसले युरोप पठायो, त्यहाँ केके गरे र आइसकेपछि उनलाई के कस्ता चुनौती आइपरेका छन् त्यसबारेमा विष्टसँग बाह्रखरीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँगको कुराकानीका मुख्य अंशहरुः

तपाईं अहिले सेलिब्रेटी नै भइसकेको हो, जताततै चर्चा सुनिन्छ नि ?

सेलिब्रेटी त होइन । तर, आफ्ना पीडाका कुरा उठाइरहेका छौं । यसमा जनस्तरबाट हामीलाई साथ मिलिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले हालै एउटा सार्वजनिक कार्यक्रममा नै तपाईंको युरोप भ्रमणको बारेमा कुरा उठाउनु भएको थियो । उहाँले भने जस्तै कसैले प्रयोग गरेको हो तपाईंलाई ?

उहाँले गल्ति गर्नुभएको छ । त्यही भएर हामीले न्यायको कुरा उठाउँदा उहाँलाई छोएको हो । हामीलाई कसैले उचालेको भन्दा पनि आफ्नो देशमा न्याय नपाएपछि हामीले विदेशमा गएर गुहार्नु परेको हो । यो हाम्रो बाध्यता हो । 

Global Ime bank

तपाईलाई कसले युरोप लगेको हो ?

मलाई नेदरल्यान्डस् सरकारले लगेको हो । उहाँहरुकै खर्चमा म तीन महिना युरोपमा बसेर आएको हुँ ।

तपाईंलाई नेदरल्यान्डस सरकारले पहिला सम्पर्क गरेको कि तपाईंले उता सम्पर्क गरेको ?

विभिन्न संघ संस्था मार्फत नेदरल्यान्डस् सरकारको सम्पर्कमा पुगेको हुँ ।

कहाँका संघ संस्था ? नेपालका कि बाहिरका ?

बाहिरका संघ संस्थामार्फत् । 

युरोपमा के गर्नुभयो ?

नेदरल्यान्डस्का राजपरिवारका सदस्यसँग भेट भयो । अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न मिल्छ कि मिल्दैन भनेर हामीले त्यहाँका वकिलहरुसँग छलफल गर्यौं । त्यसपछि जर्मनी र फ्रान्सका सांसदहरुसँग समेत कुरा भयो । जेनेभामा संयुक्त राष्ट्र संघका रापोर्टरहरुसँग कुरा भयो, मानवअधिकार परिषद्मा पनि हाम्रो पीडा बारेमा जानकारी गराएका छौं ।

हेगमा मुद्दा दर्ता गर्न त मिलेन होइन ?

हामीले जानकारी गराएका छौं ।

नेपालको शान्ति प्रक्रिया भाँड्न तपाईंलाई कसैले प्रयोग गर्न खोज्यो भन्ने आरोप पूर्व माओवादीका नेताहरुले लगाएको सुनिन्छ । किन यस्तो आरोप लगाइएको होला ?

उहाँहरुले हामीलाई पहिला प्रयोग गरेकै हो । उहाँहरुका परिवारलाई मात्रै अहिले अवसर दिनु भएको छ । हामीलाई त्यत्तिकै फालिएको छ । त्यसैले अहिले सडकमा आवाज उठ्न थालेपछि उहाँहरुले हामीलाई आरोप लगाउनुभएको हो । 

तपाईंहरु के भएचाहिँ सहमतिमा आउनु हुन्छ ?

उहाँहरुले अहिले पैसा दिएर मिलाउन खोजेको जस्तो देखिन्छ । तर, हामीले न्याय पाउनु पर्यो भन्न खोजेका हौं । दोषीमाथि कारवाही हुनुपर्छ भनेका हौं । 

कति पैसाको अफर गर्नुभएको छ ?

हामीलाई प्रति व्यक्ति ५ लाख रुपिया अफर गर्नुभएको छ । तर, हामीलाई किन बाल सेना बनाइयो  त्यसको आचित्य पुष्टी गर्नुपर्यो भन्ने हाम्रो माग हो । 

कति जना हुनुहुन्छ बाल सेनाको रुपमा अहिले ?

हामी जम्मा २ हजार ९७३ जना छौं । 

कहाँ हुनुहुन्छ अरु साथीहरु ?

२/३ सय जना अहिले काठमाडौंमै हुनुहुन्छ । अरु कोही खाडीमा, कोही भारतमा हुनुहुन्छ । कोही अहिले विप्लब माओवादीतिर लाग्नुभएको छ ।

अर्को हिसाबलेभन्दा तपाईंहरुको मुद्दा चर्चित बनाउन गृहमन्त्री रामबहादुर थापाले नै मद्यत गर्नु भयो होइन ? उहाँले त्यतिबेला बिमानस्थलबाट फिर्ता नगरिदिएको भए सायद तपाईं र तपाईंको मुद्दा त्यत्तिकै ओझेलमा पर्ने थियो होला । अहिले ठीकै गर्नुभएछ जस्तो लागेको छ ?

सत्य हो । उहाँले त्यसदिन फिर्ता गरेकै कारण हाम्रो मुद्दा एक्कासी अन्तर्राष्ट्रियकरण भयो, चर्चित भयो । नत्र कुनै सुनुवाई नै भएको थिएन । त्यही घटनापछि हामीलाई सबैले साथ दिएका हुन् । त्यसैले सहयोगका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु ।

बिमानस्थलबाट फिर्ता गरिएको प्रसंगमा परेको मुद्दा के भयो ?

मैले मुद्दा दर्ता गरेको थिएँ । अदालतले सारेको सार्यै गरिरहेको छ । अर्को पेशी साउन ३० गतेका लागि सरेको छ । त्यसो गर्नु गलत थियो भन्ने कुरा अदालतले भनिदिएमा आगामी दिनमा यस्ता गतिविधि नदोहोरिने आशा गरेको छु । अरु साथीहरुपनि यस्तोमा पर्नु हुने थिएन ।

तपाईं युरोप भ्रमण गरेर फर्केपछि नेपालमा कुनै समस्या त परेको छैन ? कसैले धम्क्याए कि ?

तत्कालीन माओवादीका नेता निकट रहेका कार्यकर्ताले मेसेज पठाएर र फोन गरेर बेलाबेलामा धम्क्याएका छन् । नेताहरुले प्रत्यक्ष केही भनेका छैनन् । प्रचण्डले भने हालै केही नेताहरु पार्टी प्रवेश गर्न आयोजित सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीकै अगाडि मेरो प्रसंगपनि झिक्नु भएछ । 

कांग्रेसका एक जना सांसदले त सार्वजनिक रुपमा नै प्रधानमन्त्रीले तपाईंलाई युरोप पठाएको भन्ने सम्मको आरोप लगाए त ?

यसबारेमा म के भनौं ? म युरोपमै भएका बेलामा कांग्रेसका सांसदले त्यसो भनेको भन्ने थाहा पाएँ । एउटा जनताको हिसाबले प्रधानमन्त्रीसँग मेरो कुरा भएको हुन सक्छ । हामीले हाम्रा माग पनि राखेका थियौं । तर, प्रधानमन्त्रीले नै युरोप पठाएको भन्ने कुरा गलत हो । 

मानवअधिकारको विषय हेर्ने अन्य धेरै निकाय छन् । तर, नेदरल्यान्डसले नै तपाईलाई किन चासो दिएको होला ?

विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुले नेदरल्यान्डस सरकारलाई जानकारी गराएका रहेछन् । त्यसबाट हाम्रो पीडाका बारेमा पहिला नै जानकार हुनुहुँदोरहेछ । अन्तर्राष्ट्रिय अदालतको कार्यालयसमेत भएको देश भएको हिसाबले मलाई सहयोग गरेको होला । 

नेपालमा विभिन्न अधिकारकर्मीहरुको नामै किटेर यिनिहरुले तपार्इंलाई युरोप पठाएको हो भनेर चर्चा भएको थियो नि ?

त्यो गलत कुरा हो । जसको नाम चर्चामा आयो उहाँहरुलाई बिचरा म उता जाने कुरासम्म थाहा थिएन । 

युरोपमा तपाईले आफूहरुको समस्याका बारेमा के निष्कर्ष निकाल्नुभयो त ?

हाम्रो मुद्दा अन्तर्राष्ट्रियकरण भएको छ । युरोपेली राष्ट्रकातर्फबाट हामीलाई तालिमलगायतको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त भएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा पनि यो विषयमा छलफल हुनेछ । हामीले संयुक्त राष्ट्र संघकै मानवअधिकार परिषद्लाई पनि हाम्रो समस्याको बारेमा लिखित जानकारी दिएका छौं । त्यसैले हाम्रो न्यायका लागि अन्तर्राष्ट्रिय जगतको ध्यान अब जान्छ भन्ने हामीले ठानेका छौं ।

संयुक्त राष्ट्र संघको कुरागर्दा त्यही निकायले शान्ति संझौताको मध्यस्थता गरेको हो । त्यतिबेला बाल सेनाको मामिला छुट्नुमा त उसको पनि केही न केही त्रुटी होइन र ?

राज्यले हाम्रो बारेमा चासो लिनुपर्ने हो । लिन सकेन । अनि द्वन्द्वरत दुवै पक्षले बेवास्ता गरे । संयुक्त राष्ट्र संघले पनि त्रुटी गरेकै हो । अहिले युरोप भ्रमणका क्रममा राष्ट्र संघका रापोर्टरहरुसँगको कुराकानीमा पनि यो कुरा मैले उठाएको छु ।

तपाई आफूलाई पूर्व बाल सेनाभन्दै आउनु भएको छ । तर, तपाईको पृष्ठभूमिबारेमा धेरैलाई थाहा छैन कसरी बाल सेना हुनुभयो ?

म १३ वर्षको हुँदा ५ कक्षामा पढिरहेको बेलामा काभ्रे घरबाट मकवानपुरमा रहेको मामाघरमा गएको थिएँ । मामाघरको छेउमा माओवादीको एउटा साँस्कृतिक कार्यक्रम रहेछ । त्यहाँ हामी ५ जना सँगै हेर्न गएका थियौं । त्यहाँ गएपछि उहाँहरुले यतै बस भन्नुभयो । बच्चा बेलामा त्यही भएर बसियो । यो २०५९ सालको कुरा हो । हामी पाँचै जना त्यही बस्यौं ।

अनि शान्ति संझौता नहुन्जेल त्यतै बस्नुभयो ?

हो, त्यतै बस्यौं ।

के गर्नु हुन्थ्यो त्यतिबेला माओवादीमा ?

हामीलाई सूचना आदान प्रदान गर्ने, कुनै कार्यक्रम छ भने भित्ते लेखन गर्ने जस्ता काममा लगाइन्थ्यो । 

कसको प्रत्यक्ष निगरानीमा काम गर्नुभयो ?

त्यतिबेला हामीलाई काम लगाउने मान्छेहरु अहिले कोही विप्लब माओवादीमा, कोही वैद्य माओवादीमा छन् । केही अहिले नेकपामा नै छन् । उनीहरुको नाम चाहिँ सार्वजनिक रुपमा नभनौं ।

शान्ति सम्झौता भएपछि के गरियो त ?

हामीलाई चितवनको क्यान्टोनमेन्टमा लगेर ४ वर्ष राखियो । त्यतिबेला भएको छानबिनका क्रममा हामी २ हजार ९७३ जना बाल सैनिक ठहरियौं र अरु १ हजार ३५ जना शान्ति संझौता भएपछि भर्ना भएका मानिस देखिए । 

तपाईंहरुलाई त्यसपछि राज्यले कुनै आर्थिक सहयोग गरेको छ कि छैन ?

 क्यान्टोनमेन्टमा बस्दा हामीलाई मासिक तीन हजार रुपियाँ दिइएको हो । पछि संयुक्त राष्ट्र संघकातर्फबाट एक सय डलर बराबरको रकम र एउटा झोला दिइएको थियो । 

क्यान्टोनमेन्टबाट छुटेपछि के गर्नुभयो ?

हामीले पनि न्याय पाउनुपर्यो भनेर माग गर्यौं । तर, कतैबाट सुनुवाई भएन ।

तपाईं युरोपमा भएका बेलामा एक जना मन्त्री नै त्यहाँ गएर उजुरी हाल्दै नहिँड भनेको पनि चर्चा सुनिएको थियो नि ?

त्यो कुरा हो । तर, यो कुराभन्दा मलाई अप्ठेरो पर्छ । त्यसैले अहिले भन्न चाहन्न ।

अहिले प्रचण्डले नै सार्वजनिक रुपमा तपाईंको अभियानबारे टिप्पणी गर्न थाल्नुभएको छ ? बोलाएर केही भन्नुभएको छैन ?

उहाँले त भन्नु भएको छैन । तर, विभिन्न मान्छे लगाएर सम्झाउन खोजेको जस्तो बुझेको छु । 

सकेसम्म त आन्तरिक रुपमा नै कुरा मिलाएको भए हुन्थ्यो नि होइन ? किन विदेशतिर ताक्नु भएको ?

हामीले आन्तरिक रुपमा न्याय मागेका हौं । तर, न्याय दिइएन । त्यसैले बाध्य भएर जानुपरेको हो ।

अब कसरी समस्याको समाधान होला त ?

म अब एक चरणमा सबै नेताहरुलाई भेट्ने प्रयासमा छु । तीन महिनासम्म उहाँहरुलाई भेटेर पूर्व बालसैनिकको विषय समाधान गरिदिन आग्रह गर्छु । उहाँहरुले केही पनि गरिदिनु भएन भने फेरि तीन महिनापछि युरोप गएर यो मुद्दालाई अझ कडाईका साथ उठाउने छु ।

तपाईं दोषीलाई कारवाही हुनुपर्छ भन्दै आउनु भएको छ । तपाईंको दृष्टिमा को चाहिँ यो मामिलामा बढी जिम्बेवार छ जस्तो लाग्छ ?

यसमा मुख्य नेताहरु चाहिँ उम्किने प्रयासमा हुनुहुन्छ । सानातिना मान्छेलाई दोषी खडा गरेर उहाँहरु जोगिन खोजे झैं गरिरहनु भएको छ । हामी दोषीले कारवाही भोग्नुपर्छ भन्ने पक्षमा छौं । दोषीलाई कारवाही नहुन्जेलसम्म हामी न्यायको लडाईं लडिरहन्छौं ।

नेता नै ताकेपछि झन् तपाईंहरुका माग सम्बोधन गर्न अप्ठेरो पर्ला नि त ?

हामी त निरन्तर न्याय मागिरहन्छौं । न्याय नपाएसम्म हाम्रो अभियान जारी रहन्छ ।

तपाईंले युरोपेली राष्ट्रहरुमा ठाउँ ठाउँमा उजुरी गर्नुभयो । त्यसको असर के पर्न सक्छ ?

उजुरी भन्दापनि जानकारी गराएको छु । त्यसले युरोपेली मुलुकमा कर्णेल लामालाई बेलायतले पक्रिए झैं त्यस्तो समस्या आउनपनि सक्छ । केही अघि अष्ट्रेलियाका राजदूतले पनि यस्तै कुरा उठाउनु भएको थियो । त्यसैले नेताहरुलाई अप्ठेरो पर्ने अवस्था रहेकाले हाम्रो माग उहाँहरुले सम्बोधन गर्नु हुन्छ भन्ने लागेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement