site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
 देहातको जहदाले कहिल्यै बिर्सदैन् शैलजा आचार्यलाई

विराटनगर । ‘‘शैलजा आचार्य निक्कै सक्रिय नेतृ हुनुहुन्थ्यो । आफ्नै जीवनकालमा कृष्णप्रसाद कोइराला गुठीलाई सक्रिय बनाउनु भयो । सुविधा सम्पन्न विराटनगरलाई छाडेर उहाँ हामी बस्ने देहातको जहदालाई रोज्दै गाउँ छिर्नुभयो’’,जवाहरलाल मण्डलले विगत कोट्याए,‘‘अहिले थाहा भयो उहाँ किन गाउँ पस्नु भएको रहेछ ।’’

शैलजा आचार्यको १० औं स्मृति दिवशमा मण्डल शैलजाको त्यो दूरदृष्टि र योजनाबारे बेलिविस्तार लगाउँदै थिए । भने,‘‘उहाँले पहल नगरिदिनु भएको भए यो अनाकन्टर गाउँको खेतमा कहाँ यति सुविधा सम्पन्न प्राविधिक कलेज खुल्ने रहेछ त ।’’ बुधबार जहदाको शैलजा आचार्य पोलिटेक्निकलको प्रांगणमै उभिएर मण्डलले त्यहाँ पढ्ने छात्रछात्रामा नगर लगाए । अधिकांश त पिछडिएका अनि सीमान्कृत समुदायका छोरी र छोराहरु थिए । 

आफूले भेटेकी आचार्य मुश्किलले ५ फिट उचाइको भएपनि उनको राजनीतिक उचाइ र योगदान सगरमाथा भन्दा उच्च भएको भन्दै मण्डलले शैलजालाई श्रद्धाञ्जली अपर्ण गरे ।

Argakhachi Cement Island Ad

कांग्रेस नेता गयानन्द मण्डलले राजनीतिक कुरा नभएको बरु शैलजाको विषयमा बोल्नु ‘सूरजका आगे दीप बाल्नु’ जस्तै भएको बताए । भने,‘‘वीपीले बोलेको कुरा शैलजाले पूरा गरि दिनुभयो । शैलजा शिक्षाको अवसर लिएर गाउँ नै पुग्नुभयो ।’’ गिरिजाप्रसाद कोइरालाले जितेको क्षेत्र नरोझेर गरिबीले ग्रस्त क्षेत्रका मानिसलाई रोजगारपूर्ण शिक्षा दिलाउने शैक्षिक केन्द्र स्थापना गदिदिएको बताए । 

नेकपाका प्रदेश १ का सदस्य भोगेन्द्र यादवले शैलजा आचार्यलाइ कांग्रेस पार्टीले दिएको हैसियत भन्दा पनि उनले समाजका लागि गरेको योगदान ठूलो भएको बताउँदै भने,‘‘पोलिटेक्निक अहिले गरिबका छोराछोरीले गाउँमै पढ्न पाउने केन्द्रको रुपमा विकसित भएको छ । यो ठूलो कुरा हो ।’’ उनले ग्रामीण भेगका मानिसमा प्राविधिक शिक्षाको पहुँच बढेको बताए ।

जहदा विराटनगरबाट पूर्वदक्षिणमा अवस्थित छ । यो ठाउँमा आदिवासी तथा मधेशी समुदायको बाहुल्य छ । गुठीकी अध्यक्ष मिता आचार्य भन्छिन्,‘‘सरकारबाट सहयोग त पाइएको छ तर पर्याप्त छैन । विद्यार्थीबाट उठ्ने शुल्कले मात्र पोलिटेक्निकल कलेज सञ्चालन गर्न कठिनाइ भएको छ ।’’ उनले अहिले छात्रबास आवश्यक परेको तर निर्माणका लागि आर्थिक अभाव भएको सुनाइन् । 

२० वर्ष अघिदेखि मोरङको जहदा ४ मा संचालनमा आएको कृष्णप्रसाद कोइराला गुठीबाट संचालनमा आएको “शैलजा आचार्य पोलिटेक्निकल कलेज”ले नेपाली राजनीतिका आर्दश नारी स्वर्गीय शैलजा आचार्यलाई बुधबार स्मरण गरेको छ ।  आचार्यको  १० औ.स्मृति दिवसको अवसर पारेर बुधबार कलेजमा आयोजित कार्यक्रममा २९ जना छात्र–छात्रालाई पुरस्कृत र सम्मानित गरेको कलेजका अध्यक्ष आचार्यले बताइन । प्रदेश न .१ का प्रदेश प्रमुख प्रा.डा गोबिन्द बहादुर तम्बाहाङले उत्कृष्ट  छात्र–छात्रालाई पुरस्कार तथा प्रमाण पत्र दिएर सम्मान गरे । प्रदेश प्रमुख तुम्बाहाङले नेपालको राजनीतिमा स्वर्गीय आचार्यको योगदानको चर्चा गर्दै नेतृ आचार्यको नाममा प्राविधिक शिक्षा संचालन हुदै आएकोमा प्रशंसा गरे । शैलजा आचार्य स्मृति छात्रवृती कोषबाट कलेज र  महेन्द्र मावि जहदा ७ का ३ जना छात्र–छात्रा गरी १४ जना तथा  विभिन्न दाताबाट प्राप्त रकमबाट १५ जनालाई सम्मानित गरियो । वि.सं २०५६ सालमा समाजसेवी चन्द्रिकाप्रसाद लोहनीले शिलन्यास गरेको यो कलेजले  विस २०५८ सालमा सिटिभीटीसँग सम्झौता गरेर प्राविद्यिक शिक्षा संचालन गर्दै आएको छ । अध्यक्ष आचार्यका अनुसार हाल यस कलेजमा १८ महिने अनमी, आयुर्वेद, जेटीए, भेटनरी तथा ३ वर्षे डिप्लोमा स्टाफ नर्स, कृषि, बाली विज्ञान, अटो विज्ञान र १२ महिना सिलाई कटाई तालिम संचालन भैरहेको छ । हाल यस कलेजमा ५ सय छात्र–छात्रा अध्ययनरत  छन । 

२०५८ सालमा नेपालका र भारतका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, चन्द्रशेखरको उपस्थितिमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद कोइरालाले यस कलेजको उदघाटन गरेका हुन् । मोरङ क्षेत्र न ५ का सासंद शिवकुमार मण्डलले स्वर्गीय आचार्यले नेपालको  प्रजातन्त्रिक आन्दोलनमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे  । 

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १९:३८
प्रतिक्रिया दिनुहोस्