
— नरेश फुयाँल
आजकाल उनलाई परराष्ट्र नीति, सम्बन्ध र तिनको प्रभावका प्रश्नहरूले जेल्छन् । नेपालमा सरकार परिवर्तन होस् या भारत, चीनमा— वर्तमानमा मात्रै होइन, त्यसको दूरगामी प्रभावको चिरफार गर्ने प्रश्नले उनी घेरिन्छन् । तर, करिब साढे तीन दशकअघि उनी यसरी नै सरोकारवालालाई प्रश्न तेस्र्याउँथे । अर्थात् उनी पत्रकार थिए । अहिलेका राजनीतिज्ञ तथा परराष्ट्रविद् रमेशनाथ पाण्डे कुनै समय पत्रकार थिए । हामीले रमेशले पत्रकारिता गर्दाको समय र उनको अनुभव जान्ने प्रत्यत्न गर्यौं ।
बिहीबार साँझ विशालनगरस्थित रमेशको घर पुग्दा उनी चियाको चुस्कीमा सम्मान, अवार्ड र पुस्तकले घेरिएका थिए । अक्सर पढ्न र लेख्नमै समय खर्चिरहेका रमेशलाई हामीले उनको अतीतको पहिलो खण्ड सम्झायौं । उनी ‘नोस्टाल्जिक’ भए । सम्झनाका तरेलीहरूमा बयली खेल्न थाले । र, गाँठो परेको विगत फुकाउन थाले ।
पत्रकारिता पेशा थिएन । व्यावसायिक पत्रकारिता हुँदैनथ्यो । मिसन पत्रकारिता थियो । त्यसैले रमेशमा पनि पत्रकार बन्ने चाह थिएन । जिन्दगीको यात्रा गरिरहँदा पत्रकारितामा ठोक्किन आइपुगेका मात्रै हुन् उनी ।
“पत्रकारिता जुन बेला पेशा थिएन र निकट भविष्यमा पनि त्यसको सम्भावना थिएन— त्यो समयमा कसरी तपाईंले पत्रकारिता शुरु गर्नुभयो ?”
प्रश्नले उनको स्मरणको पर्दा उघ्रियो । दृश्यहरू क्रमशः आउन थाले । रमेश रोमाञ्चित हुन्छन् । कति घटना डरलाग्दा छन्, कति प्रशन्न लाग्ने । प्रशन्नताको झिलिमिली र जोखिमको चुक घोप्टिएको अँध्यारो पनि सम्झिए उनले । कहिले खुशी त कहिले दुःख । यसकै सेरोफेरोमा रमेशले जिन्दगीका ३१ वर्ष बिताए । त्यसपछि उनको जीवनमा दोस्रो इनिङस् शुरु भयो ।
“न अनुमान गर्न सक्नुहुन्छ न कल्पना । तपाईंले गरेको प्रश्नले एउटा छुट्टै पृथक समाजको कुरा खोजिरहेको छ । अहिलेको पुस्ताले कल्पना गर्ने त कुरा छोडौं, म पत्याउन पनि गाह्रो हुने कुरा सुनाउँदै छु आज ।”
यति भनिसकेर रमेशले कुराको पोयो खोले—
उनको जन्म २००० सालमा नक्सालमा भयो । अक्षराम्भ २००४ सालमा भयो । एसएलसी १३ वर्षको उमेरमा गरे । त्यो बेला एसएलसीको रिजल्ट आउन ६–१० महिना लाग्थ्यो । लामो बिदामा के गर्ने ? अल्लारे भएर नबिग्रियोस् भनेर नाताले भान्दाइ पर्ने साहित्यकार भीमनिधि तिवारीले २०१३ सालमा ‘हालखबर’ पत्रिकामा काम गर्न लगिदिए । दाताराम शर्मा सम्पादक थिए ।
सात महिनापछि एसएलसीको नतिजा आयो । बाँकी अध्ययनका लागि ढोका खुल्यो । तर, रमेश पत्रकारिताको सिद्धान्त र आदर्शमा आकर्षित भइसकेका थिए । कलमको सर्वोच्चताको मापन गरिसकेका थिए । त्यसको मोहजालमा फसिसकेका थिए ।
त्यही समय नेपालमा पहिलोपटक अंग्रेजी पत्रिका ‘द कमनर’ शुरू भइसकेको थियो । गोपालदास श्रेष्ठ सम्पादक थिए । २००७ सालको क्रान्तिमा पत्रकारका रूपमा ठूलो योगदान गरेका, तत्कालीन राजीतिक दलका नेताहरूसँग राम्रो सम्बन्ध भएका गोपालदासले रमेशलाई ‘द कमनर’मा बोलाए । रमेशले नाइ भन्न सकेनन्, गए ।
‘द कमनर’मा उनी संवाददाता थिए । समाचार संकलन गरेर ल्याउँथे, लेख्थे, छापिन्थ्योे । पत्रपत्रिकाको संख्या निकै कम थियो । पढेलेखेका व्यक्ति पनि कम थिए । त्यसैले पाठकको संख्या पनि कम थियो । जतिले पढ्थे, ती सबैजसो माथिल्लो निकायका व्यक्ति हुन्थे ।
०१५ मा पहिलो आम निर्वाचन हुने भयो । गोपालदासले ‘द कमनर’ दैनिककै सहप्रकाशनका रूपमा ‘जनता दैनिक’ प्रकाशन थाले । ‘जनता दैनिक’को सम्पादक रमेशनाथ भए । ‘जनता दैनिक’को सम्पादक हुँदा उनको उमेर १४ वर्षमात्रै थियो । सम्पादक भए पनि उनी आफैं रिपोर्टिङ गर्न दौडिन्थे ।
० ० ०
शुरुआतका समाचार सम्झिन्छन् उनी । बाइलाइनको चलन थिएन । समाचार लेख्यो, छापिन्थ्यो । कसले लेखेको हो, त्यो लेख्नेबाहेक अरूलाई थाहा हुँदैनथ्यो ।
भर्खर पत्रकारिता शुरु गरेका थिए । एकदिन उनले काठमाडौंको सडकमा गाडी दुर्घटनाको विद्रुप दृश्य देखे । कोही व्यक्ति कोठा सर्दै थियो । बीचमै दुर्घटना भयो । मान्छे घाइते भए । गाडीका सामान सडकभरि छरपष्ट भए । अघिल्लो दिन खाना पकाएर नमाझिएका भाँडाबाट भातसहित छरिएको घटनाको वर्णन गरेर रिपोतार्ज लेखे । ‘जनता’मा लेखिएको त्यो रिपोतार्ज गोपादासले ‘कमनर’मा पनि अनुवाद गरेर छापे । पाठकले खुब मन पराएको त्यो समाचार उनको स्मृतिपटलबाट अहिले पनि धुमिल भएको छैन ।
० ० ०
०१७ पुस १ गते आयो । राजा महेन्द्रले जननिर्वाचित सरकार विघटन गरे । राजाले शासनसत्ता हातमा लिएको भन्दै रमेशले समाचार लेखे, सम्पादकीय लेखे । त्यो समय अहिलेको जस्तो सम्पादकीय लेखिँदैनथ्यो । एउटै विषयमा ५–६ दिनसम्म क्रमशः भनेर सम्पादकीय लेख्ने चलन थियो । अहिलेको जस्तो छोटा सम्पादकीय पनि लेखिँदैनथ्यो । दुई कोलममा लामा लामा सम्पादकीय लेख्ने गरिन्थ्यो ।
पुस १ गते संसद् विघटन भयो । फागुनमा बेलायतकी महारानी एलिजावेथ नेपाल आउने घोषणा भयो । दरबारले त्यसको तयारी थाल्यो । त्यो बेला अहिलेको दरबारमार्ग थिएन । कान्तिपथमात्रै थियो । त्यो पनि अहिलेको जस्तो थिएन । त्यसैले सडक र पेटी बनाउन थालियो । सडक पेटी सडकभन्दा धेरै अग्लो थियो । त्यसबारेमा रमेशनाथले सम्पादकीय लेखे । सरकारले उनलाई गिरफतार गर्यो ।
के थियो सम्पादकीयमा ?
संकटकालीन स्थिति भएकाले सीधै लेख्न सक्ने अवस्था थिएन । त्यसैले संसद् विघटनविरुद्ध सम्पादकीय लेख्दा सडकपेटीलाई विम्ब बनाइएको थियो । त्यो बेला उनी १७ वर्षका थिए ।
आफ्नै पत्रिका
९ महिना जेल बसेर छुटेपछि रमेशले ०१८ मा ‘नयाँ सन्देश’ पत्रिका दर्ता गराए । पत्रिका प्रकाशन शुरु गरेको चौथो अंकमै ‘नयाँ सन्देश’मा प्रतिबन्ध लाग्यो । प्रतिबन्ध फुकुवा भयो । एक वर्ष प्रकाशन गरेपछि पुनः प्रतिबन्ध लाग्यो । रमेश फेरि गिरफ्तार भए । एवं रीतले ‘नयाँ सन्देश’मा प्रतिबन्ध लाग्ने, फुकुवा हुने, जेल पर्ने र छुट्ने क्रम चलिरह्यो । साढे तीन वर्ष जेल बसेर छुटेपछि उनलाई लाग्यो— अब यसलाई संस्थागत रूपमा चलाउनुपर्छ । सर्कुलेसन बढाउनुपर्छ ।
जोखिमै जोखिमको कालखण्डमा रमेशले पत्रकारिता गरे । २६ वर्ष ‘नयाँ सन्देश’ निकाले । थाहै नपाई उनले ३१ वर्ष लामो यात्रा तय गरे, जुन बाटो उकालोमात्रै थियो । तर, गन्तव्य थाहै थिएन । सिद्धान्त, आदर्श र कलमको सर्वोच्चताको लोभमा समपर्णमात्रै थियो । उत्साह थियो र गर्न लागेको मिसनमा विश्वास थियो ।
उपलब्धि के थियो ?
“राज्यले दिने पुरस्कार,” व्यंग्य कस्छन् रमेश ।
सरकारी अधिकारीले १० बजे बोलाएर बयान लिन अँध्यारो कोठामा ५ बजेसम्म राख्थे । र, ‘आज भ्याइएन, भोलि आउनू’ भनेर फर्काइदिन्थे । मानसिक पीडा दिन्थे ।
“त्यो मानसिक पीडा र त्यसले दिने बेचैनीले हतोत्साही बनाउँथ्यो । गोश्वाराको बुइँगलको अँध्यारो कोठामा तीन–चार दिनसम्म माटोको गाग्रोमा राखेको चिसो पानीमात्रै खाएर बस्दा, जेलभित्र लैजाँदा, बाहिर ल्याउँदाको त्यो क्षण सम्झिँदा अहिले छुट्टै महसुस हुन्छ,” रमेश भन्छन्, “पछिल्लो पटक म डेढ वर्ष जेल बसें । डेढ वर्ष जेल बसेपछि म १६ दिन अनशन बसेर छुटेको छु ।”
०५५ मा गिरिजाप्रसाद कोइरालाको सरकारमा रमेश वातावरणमन्त्री थिए । सरकारी कार्यक्रममा मुस्ताङ गएका थिए । केही समयको पैदलमा समारोह थियो । उद्घाटन गर्नु थियो । समारोहलाई उनले सम्बोधन पनि गर्नुपर्ने थियो । उद्घाटन गरे । सम्बोधन गरे । त्यो बेला जोमसोममा सडक थिएन । हिँडेर फर्किंदै थिए । मान्छेको भीड थियो । जनता मन्त्रीसामु आफ्ना कुरा राखिरहेका थिए । उनी सुनिरहेका थिए ।
“त्यो बेलाका मन्त्री असुरक्षित थिएनन् । जनताबाट डराउनु पर्दैनथ्यो । अहिलेको जस्तो स्ट्यान्ड गनसहितको सेनाले चारैतिरबाट घेरेर जनताबाट पृथक राखेर मन्त्रीको प्राण बचाइदिनु पर्दैनथ्यो,” उनी भन्छन्, “त्यो बेला जनताको भीडमै बसेर मन्त्री सुरक्षित हुन्थे । आफ्नो काम गर्न सक्थे ।”
हिँडिरहेका बेला अचानक उनलाई एक व्यक्तिले रोके । अधवैंशे ती व्यक्तिले रमेशलाई भने, “मन्त्रीज्यू तपाईंलाई एउटा कुरा भन्नु छ ।”
रमेशनाथले सोधे, “के कुरा हो ?”
ती व्यक्तिले भने, “तपाईंको ‘नयाँ सन्देश’ त हामीले पढ्न नपाएको धेरै वर्ष भइसक्यो । पठाउने व्यवस्था मिलाइदिनुस् न ।”
“मैले ३१ वर्ष पत्रकारितामा बिताएर पाएको पुरस्कार यही हो,” रमेश नोस्टाल्जिक हुन्छन्, “एउटा नागरिकले मन्त्रीलाई मन्त्रीका रूपमा नचिनेर उसले पढ्ने अखबारको सम्पादकका रूपमा चिनेको छ भने मेरा लागि पुरस्कार नै त्यही हो ।”
त्यसैले रमेश नयाँ पुस्ताका पत्रकारलाई भन्छन्, “अक्षर भनेको ब्रह्म हो र ब्रह्म भनेको सत्य हुन्छ । छानिएका शब्दलाई उद्देश्यपूर्वक वाक्यांशमा उनेर पाठकहरूमा पुर्याइन्छ । त्यो प्रस्तुतिबाट जनतामा जे प्रभाव पर्छ, त्यो पत्रकारको छवि त्यही रूपमा निर्माण हुन्छ । जुन छवि अहिले निर्माण गर्नुहुन्छ, पछि त्यही पुँजी हुन्छ ।”
० ० ०
रमेश चेतनाको कुरा गर्छन् । उमेर, चेतना र राजनीतिक व्यवस्था तथा कालखण्डको तारतम्यबीचको सम्बन्ध सुनाउँछन् ।
“जुन देशमा स्वतन्त्रताको आन्दोलन शुरु हुन्छ, त्यसको अग्रणी भागमा पत्रकार हुन्छ । दण्डित हुने व्यक्ति पत्रकार नै हुन्छ । खतरा पत्रकारले नै बेहोर्छ । जब उद्देश्य प्राप्त हुन्छ, प्रजातान्त्रिक सरकारहरू गठन हुन्छन् । अनि त्यो समाजमा सरकारको पहिलो निशाना पनि त्यही पत्रकार र पत्रकारिता नै हुन्छ,” रमेश केही अनुभव र केही इतिहासको कुरा गर्छन् । उनका कुरा सुनिरहँदा होइन भन्न सकिन्न । अहिलेको अवस्था हेर्दा उनी सत्य लाग्छन् ।
उनी थप्छन्, “विकसित र हाम्रोजस्तो विकाशोन्मुख देश सबैतिर त्यस्तै हो । अहिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग त्यहाँका स्थापित पत्रपत्रिका भिडिरहेका हुन्छन् । नेपालमै पत्रकारले जोखिम मोल्नु परिरहेको छ ।”
उनी १३ वर्षमा एसएसलसी, १४ वर्षमा सम्पादक र १७ वर्षमा जेलको प्रसंगमा फर्किन्छन् र भन्छन्, “चेतना समयसापेक्ष हुन्छ । कुन चेतनालाई चेतना भन्ने ? हिजो भानुभक्तको समयको चेतना, उनीपछिको पुस्ताको चेतना र अहिलेको पुस्ताको चेतनामा फरक पर्छ । यसमा मौलिक भिन्नताहरू हुन्छन् । मानिसलाई समयले अगाडि बढाउँछ । ज्ञान दिन्छ र बाध्य बनाउँछ ।”
रमेशले एकछिन घोरिए । लाग्थ्यो— उनी वर्षौंदेखि केही भन्न चाहिरहेका छन् ।
“तपाईंले मेरो स्मरणशक्तिलाई आज उत्तेजित गराउनुभयो । म धेरै कुरा सम्झिरहेको छु । उमेरको चेतनाको कुरा गर्नुभयो । म ०१७ सालमा लेखेको सम्पादकीय सुनाउँछु । कान्तिपथको पश्चिमपट्टिको पेटी सडकभन्दा निकै अग्लो थियो । हेर्दै अस्वाभाविक थियो । पेटीका बीचबीचमा बाटोका लागि टुक्रा पारिएको थियो । सडकमा बत्ती पनि थिएन । मैले सडकसँग जोडेर लेखेको सम्पादकीयले ०१७ पुस १ गतेलाई प्रतिविम्बित गथ्र्यो । मैले लेखेको थिएँ, ‘त्यो अँध्यारोबाट जाँदा अग्लो पेटीबाट खस्दा खुट्टा मर्किने खतरा हुन्छ । त्यहीबेला परबाट आइरहेको कुकुरको आँखाको उज्यालोले चेतना दर्शाउँछ । जुन चेतनाले हामी गलत बाटोमा हिँडिरहेको भन्ने थाहा हुन्छ । यो गलत बाटो सच्याइएन भने पेटीबाट सडकमा ओर्लिंदा खुट्टा मर्किएजस्तै राष्ट्र पनि मर्किने खतरा हुन्छ ।’ शुरुशुरुमा प्रशासनले वास्ता गरेन तर जब प्रशासनले चासो देखायो, मलाई पक्राउ गर्यो । थुन्यो । पत्रिकामा प्रतिबन्ध लगायो ।”
० ० ०
अखबारहरू संस्थागत थिएनन् । पत्रिका प्रकाशन हुन्थे तर राज्यले बन्द गराइहाल्थ्यो । ‘जनता दैनिक’ पनि त्यस्तै थियो । त्यो बेला प्रतिनिधिसभा र महासभा गरेर दुई सदनात्मक संसद् थियो । ग्यालरी बैठकमा दुबै सदनका बैठक बस्थे । बिहान महासभाको बैठक बस्थ्यो, दिउँसो त्यही हलमा प्रतिनिधिसभाको बैठक चल्थ्यो । बिहान साइकल चढेर उनी महासभाको बैठकको समाचार संकलन गर्थे र फर्किएर खाना खान्थे । समाचार लेखेर छोड्थे र दिउँसो बस्ने महासभाको बैठकको समाचारका लागि जान्थे । अपरान्ह आएर समाचार लेख्थे । उनी आफैं पनि कम्पोज गर्थे । पेज सेट गर्थे । प्रेसमा पठाउँथे । दिनभरिका घटना समेटेर पत्रिका साँझ निस्किन्थ्यो ।
‘नयाँ सन्देश’मा पनि त्यस्तै अवस्था थियो । उनी एक्लै थिए । रिपोर्टिङ आफैं गर्थे । समाचार लेख्थे । सम्पादकीय लेख्थे । विचार लेख्थे । आफैं पत्रिका ¥याप गरेर हुलाकबाट जिल्ला–जिल्लामा पठाउँथे ।
तेस्रोपटक जेलबाट फर्किएपछि उनले ‘नयाँ सन्देश’लाई संस्थागत गर्न थाले । शरद निरौला, तारानाथ शर्मा, भेषराज शर्मा, महेन्द्रविक्रम शाह, श्रीधर खनाल नियमित स्तम्भ लेख्थे । दुर्गा बरालले कार्टुन बनाउँथे ।
८ पृष्ठबाट शुरु भएको पत्रिका १२ हुँदै १६ पृष्ठसम्म निस्कियो । मूल्य २५ पैसा थियो । ५ पैसा विक्रेतालाई कमिसन थियो । बाँकी २० पैसा उनको हात पथ्र्यो ।
‘नयाँ सन्देश’ १६ हजार प्रतिसम्म बिक्री भयो । बिक्री नै अखबारको मुख्य स्रोत थियो । विज्ञापन हुँदैनथ्यो ।
“शुक्रबार काठमाडौं पूरै ‘नयाँ सन्देश’मय हुन्थ्यो । अरू कुनै पत्रिकाको प्रभाव हुँदैनथ्यो त्यो दिन,” रमेश सुनाउँछन्, “शुक्रबार ‘नयाँ सन्देश’ किन्ने पाठकको त्यो बेलाको भीड सम्झिँदा अहिले पनि म रोमाञ्चित हुन्छु । सम्झिँदा सन्तोष लाग्ने जिन्दगीको पाटो हो यो ।”
‘नयाँ सन्देश’लाई कुलीन वर्गमा मात्रै सीमित नराखेर आमनागरिकमाझ ल्याउन उनी अगाडि सरे । त्यसैले साहित्य, व्यंग्य, परराष्ट्र, अर्थ र मनोरञ्जनमूलक सामग्री राख्न थाले । अड्डा, अदालतमा काम गर्ने तथाकथित शिक्षित र संभ्र्रान्त वर्गमात्रै होइन, ‘नयाँ सन्देश’ ड्राइभरको हात–हातमा पनि हुन्थ्यो । कारण— सबैलाई लक्षित गरेर उनी सामग्री दिन्थे ।
पत्रिकाको अन्तिम पृष्ठमा उनी मोडलहरूको तस्बिर छाप्थे । नेपालमा त्यो चलन थिएन । भारतको एक साप्ताहिक पत्रिकाबाट प्रभावित उनले त्यसकै सिको गरेका थिए । नेपालमा त्योबेला अहिलेका जस्ता मोडल, हिरो–हिरोइन थिएनन् । त्यसैले युरोपबाट त्यहाँका मोडलको फोटो हुलाकबाट मगाउनु पथ्र्यो । रमेश उता पुराना भइसकेका तस्बिर पनि मगाउँथे । साथीहरू ‘यी तस्बिर किन चाहियो ?’ भन्थे । तस्बिर छाप्न अहिलेको जस्तो सहज थिएन । तस्बिर छाप्न भारत पुर्याएर प्लेट बनाई ल्याउनु पथ्र्यो । त्यसै गर्थे । युरोपका मोडलहरूको तस्बिर ‘नयाँ सन्देश’मा छाप्थे । मोडल तथा हिरो–हिरोइनको तस्बिर नियमित रूपमा छाप्ने चलन बसाउने पत्रिका ‘नयाँ सन्देश’ नै हो ।
० ० ०
पत्रकारलाई समाचार चाहिन्छ, ‘न्युज मेकर’लाई प्रचार । बीपी कोइराला र आफूबीच कुनै साइनो सम्बन्ध नरहेको भन्दै रमेश आफू र बीपीबीच पत्रकार र नेताको मात्रै सम्बन्ध रहेको बताउँछन् ।
बीपी युवालाई प्रोत्साहित गर्थे । त्यो उनलाई मन पथ्र्यो । रमेश नारायणचौरमा बस्थे । बीपी नक्सालमा भाडा लिएर बस्थे । गणेशमासिंह क्षेत्रपाटीबाट, सूर्यप्रसाद उपाध्याय लैनचौरबाट र बीपी नक्सालबाट बिहानै पैदल सुर्वण शमशेरको ललिता निवास पुग्थे । पार्टीका कुरा गर्थे ।
नक्साल नागपोखरीबाट ललिता निवासको बाटो कच्ची थियो । बीपी कच्ची बाटो पैदलै ललिता निवास जान्थे ।
“बीपी त्यसरी नागपोखरीबाट पैदल ललिता निवास जाँदा मैले धेरैपटक हिँड्दाहिँड्दै अन्तर्वार्ता लिएको छु । प्रश्न गर्थें । उहाँ जवाफ दिनुहुन्थ्यो । म टिप्थें,” रमेश बीपीसँगका अन्तर्वार्ता सम्झिन्छन्, “उहाँ असाध्यै छिटो हिँड्नुहुन्थ्यो । मैले कहिलेकाहीँ टिप्न भ्याइन भने उहाँ उभिनुहुन्थ्यो र बिग्रियो भने आफैं हातले करेक्सन पनि गर्दिनुहुन्थ्यो ।”
बीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । दायित्व फरक भयो । हिजो उनले आन्दोलन गरेका समाचारहरू आउँथे, अब राज्य सञ्चालनका समाचार आउन थाले । महेन्द्रले सरकार भंग गरेर बीपीलाई जेल हाले । एकदिन बीपीका आफन्तले रमेशलाई भेटेर भने, “बीपीलाई जेलमा पढ्ने पत्रपत्रिका र किताब नभएकाले गाह्रो भएको छ । तपाईंले सहयोग गरिदिनुपर्यो ।”
दुईपटक जेल बसेर फर्किएका रमेशलाई पनि थाहा थियो, जेलमा पढ्ने सामग्री भएन भने समय कटाउन कति गाह्रो हुन्छ !
रमेश बीपीलाई किताब पठाउन थाले । उनीहरू दुबैले एक–अर्कालाई पुस्तकको सिफारिस गर्थे ।
“समस्या के थियो भने जम्मा महिनामा दुई दिन किताब पठाउन पाइन्थ्यो । यदि मैले पठाएका पुस्तक उहाँलाई मन परेन भने बीपी पूरै १५ दिन नपढी बस्नु पथ्र्यो,” रमेश सुनाउँछन्, “त्यसैले उहाँलाई पुस्तक पठाउनुअघि उहाँलाई रुचिकर पुस्तक कुन–कुन हुन सक्छन् भनेर पढ्नु पथ्र्यो । मलाई मन पर्यो भने उहाँलाई पनि मन पर्छ भन्ने लाग्थ्यो । त्यहीँबाट मलाई पुस्तक पढ्ने बानी बस्यो ।”
किताब पठाउने बहानामा बीपी र रमेशबीच गोप्य रूपमा चिठ्ठी आदानप्रदान हुन थाल्यो । बीपीले राजनीतिक समस्याको सम्भावना खोज्न भने । त्यहीबेला राजा महेन्द्रले रमेशलाई दरबारमा बोलाएर बीपीको बारेमा कुरा गरे । बीपी र आफूबीच समझदारी बनोस् भन्ने महेन्द्रको चाहना थियो ।
“मैले समझदारी खोज्ने प्रयास गरें । वार्ता गराएँ । तर, विडम्बना ! त्यो बेला बीपीले निर्णय लिन सक्नुभएन । मलाई सम्झना छ— रातको १२ बजे बीपीसँग मैले वार्ता गरिरहेका बेला हामी दुई जनामात्रै थियौं । मैले बीपीलाई भनेको थिएँ, ‘देशमा फेरि एउटा क्रान्ति हुँदै छ । हिजो ००७ को क्रान्तिको नायक भएर टंकप्रसाद आचार्य अघि बढे । त्योबेला तपाईं स्कुल, कलेज पढिरहनुभएको थियो । तर, क्रान्ति सफल हुँदा तपाइ नेता हुनुभयो । त्यसैगरी अहिले फेरि क्रान्ति हुन लागेको छ । बीपी हुने भए हिँड्नुस् । टंकप्रसाद हुने भए बस्नुस् ।’ तर उहाँले त्यो बेला सही निर्णय लिन सक्नुभएन । वार्ता अवरुद्ध भयो । उहाँले पछि मलाई ‘भारतका नेता जयप्रकाश नारायणको यसमा के राय छ ?’ भनेर सोध्न पठाउनुभयो । म गएँ । उहाँले मलाई भन्नुभयो, ‘तिमीले ठीक भन्यौ । बीपीले ठीक गरेनन् । मैले उहाँलाई खबर पठाइसकेको छु ।’ अर्को दुई वर्ष जेल बसेर छुट्दा बीपी पञ्चायतलाई स्वीकार गरेर छुट्नुभयो । तर, मैले सम्मानका साथ राजनीतिलाई निकासको बाटो देखाउने गरी चाँजोपाँजो मिलाएको थिएँ ।”
० ० ०
पञ्चायतमा राजनीतिक प्रतिबन्ध थियो । राजनीतिक गतिविधि नभएपछि राजनीतिक समाचार नै हुँदैनथे । त्यसैले आफूले ‘नयाँ सन्देश’मा लेख्ने समाचारमा राजा महेन्द्र र कांग्रेस नेता बीपीसँगको सामिप्यता र चिनजानले खासै असर नगरेको उनी बताउँछन् ।
सरकारी कामकारबाही मात्रै हुन्थे । सरकरी कामकारबाही ठीक भए पत्रिकाले ठीक र गलत भए गलत लेख्ने गरेको उनी बताउँछन् । यद्यपि मिसन पत्रकारितामा सबै पत्रकार कुनै न कुनै राजनीतिक दल र विचारप्रति आस्थावान हुने तथ्यलाई भने उनी नकार्दैनन् ।
आज पनि धेरैले बीपीको सुराकी गर्न तत्कालीन राजा महेन्द्रले रमेशनाथलाई जेल पठाएको बताउँछन् । तर, रमेश यसलाई स्वीकार गर्दैनन् ।
“बीपीसँग कसैको कुराकानीमात्रै होइन, उहाँ खोकेको पनि निगरानी गर्न राजाले सेना र प्रहरी खटाएका बेला सुराकीको आवश्यकता पर्छ र ?” रमेश प्रतिप्रश्न गर्छन्, “यो आरोपमात्रै हो । त्यो पनि सामान्य सतही जानकारी पनि नभएको व्यक्तिले लगाउने ।”
० ० ०
जेलबाट भर्खर छुटेर बाहिर आएका थिए रमेश । ०२२ सालमा राजा महेन्द्रले बोलाए र भने, “म तिम्रो पत्रिका नियमित पढ्छु । तिमीले अन्तर्राष्ट्रिय मामिलामा लेखेका लेख पनि पढ्छु, मन पर्छ । तर, यसमा तिम्रो अध्ययन पनि छैन, अनुभव पनि छैन । त्यसैले यसमा तिमीले अध्ययन पनि बढाऊ र अनुभव पनि बढाऊ । देशलाई पनि फाइदा हुन्छ ।”
त्यसपछि राजा महेन्द्र र पछि वीरेन्द्रले उनलाई अन्तर्राष्ट्रिय सम्बन्धको विकास, विस्तार र अध्ययनका लागि विभिन्न अवसर दिए । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पठाए । राष्ट्रसंघको महासभामा सदस्यका रूपमा दुई पटक बस्ने अवसर पाए ।
राजा वीरेन्द्रको शासनको शुरुआती कालखण्डमा रमेशले चीन, भारत, स्विट्जरल्यान्ड, अमेरिका आदि मुलुक घुम्न पाए ।
अमेरिकाबाट फर्किंदा जापानमा वीरेन्द्रसँग भेट भयो । वीरेन्द्रले रमेशलाई भने, “अब तिमीले अर्को काममा हात हाल्नुपर्छ । पत्रकारितामा कति बसिरहन्छौ ? अब अर्को कामका लागि तयार होऊ ।”
नेपाल आएपछि वीरेन्द्रले उनलाई राष्ट्रिय पञ्चायतमा मनोनीत गरे । त्यसपछि रमेशको पत्रकारिता यात्रामा पूर्णविराम लाग्यो । संसद्मा २० वर्ष बसेका उनी पर्यटन, श्रम, समाजकल्याण, सञ्चार, सामान्य प्रशासन, वातावरण, उद्योग, परराष्ट्र गरी सातपटक मन्त्री भए ।
तस्बिरः सौरभ रानाभाट