site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखराबाट विभिन्न सहरमा हवाई सेवा सञ्चालन गर्न चार एयरलाइन्स तयार 

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालन गर्न चारवटा एयरलाइन्स तयार भएका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गरेको आग्रहमा बुद्ध एयरका अपरेसन डाइरेक्टर सुवर्ण खरेल, यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पा, श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल, समिट एयरका मनोज कार्कीलगायतले आफूहरू सेवाका लागि तयार रहेको बताएका हुन् । 

पोखरा महानगरपालिकाको पहलमा शुक्रबार यस विषयमा छलफल भएको हो । छलफलमा पोखरा महानगर प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारी सहभागी थिए । 

छलफलमा मन्त्री पाण्डेले पर्यटन राजधानी पोखरामा सञ्चालनमा रहेको सुविधासम्पन्न विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यमा नियमित उडान सञ्चालन गर्न सेवा प्रदायकलाई आग्रह गरे । काठमाडौंको विमानस्थलको व्यस्तता र केन्द्रीकृत सेवाको विकेन्द्रीकरणमा जोड दिँदै उनले सरकारको तर्फबाट आवश्यक नीतिगत सहयोगका लागि आफूहरू तत्पर रहेको बताए । 

पोखराबाट नियमितबाहेक अन्य नयाँ गन्तव्यमा पनि उडान सञ्चालन गर्न सके पर्यटकीय गतिविधि चलायमान हुने उनले विश्वास व्यक्त गरे । 

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा सबै हिसाबले तयार रहेकाले तत्काल मुलुकका सात वटै प्रदेशमा सञ्चालनमा रहेका विमानस्थलहरूमा हवाई सेवा सञ्चालनको व्यवस्थापन गर्न निजी वायुसेवा प्रदायकहरूलाई आग्रह गरे । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा पछिल्लोपटक चर्चामा आएका विषयवस्तु कपोलकल्पित र भ्रामक रहेको टिप्पणी गरे । 

छानबिन समितिको प्रतिवेदनका नाममा सत्य तथ्य कुरा नबुझीकन सस्तो लोकप्रियताका लागि भ्रमको खेती गर्न खोजिएको उनको टिप्पणी थियो । विमानस्थल पूर्ण क्षमतामा सेवा दिन सक्षम रहेको उल्लेख गर्दै उनले देशभरका सम्भाव्य स्थानमा पोखराबाट सेवा प्रदानका लागि आवश्यक व्यवस्थापनका लागि विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गरे । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २१:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro