काठमाडौं । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ।
बुधबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले हराउँदै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो। टस जितेर पहिले ब्याटिङ गर्दै कर्णालीले २० ओभरमा ९ विकेटको क्षतिमा ९४
रन बनायो। कर्णालीका लागि दिवान पुनले २२ र हेमन्त ओलीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो रन अंक बनाउन सकेनन्।
सुदुरपश्चिमका लागि नरेन्द्र साउँदले ४ महेश अधिकारीले २ र विकास आग्रीले एक विकेट लिए। ९५ रनको विजय लक्ष्य सुदूरपश्चिमले १४ दशमलव १ ओभरमा २ विकेट गुमाएर विजय
लक्ष्य पुरा गर्यो। सन्जु बोहोराले ४३, खड्क बोहोराले २४ दिपेन्द्र बोहोराले २० रन बनाए।
पुरुष क्रिकेटमै बुधबार भएको दोस्रो खेलमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ५ रनले हराएको छ। फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर १ ले २० ओभरमा ६
विकेट गुमाउँदै १ सय १५ रन बनायो।
प्रदेश १ का लागि दिपेश कँडेलले ३६ र पुष्प थापाले ३४ रन बनाए। प्रदेश नम्बर ५ का लागि कृष्ण कार्कीले दुई विकेट लिए।
१ सय १६ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर ५ ले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन मात्रै बनाउन सक्यो। सुवेन्द्र पाण्डेयले २२ सौरव खनालले १५ र
राजीवर पंहिले १२ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन्। प्रदेश नम्बर १ का पुष्प थापा र मुकुन्द यादवले दुई दुई विकेट लिए।