काठमाडौं । पाकिस्तानविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्नका लागि नेपाल दृष्टिविहीन महिला क्रिकेट टोली यतिबेला लाहोरमा छ । शनिबार भारत हुँदै पाकिस्तान पुगेको नेपाली टोलीले ३ सहरमा पाँच ट्वान्टी–२० क्रिकेट खेल्नेछ ।
सोमबार प्रतियोगिताको उद्घाटन भए पनि खेलहरु मंगलबारबाट सुरु भएका छन् । भगवती भट्टराईको कप्तानीमा रहेकोे १५ सदस्यीय टोलीमा ५ खेलाडी ‘वी–वान’ (पूरै आँखा नदेख्ने), ६ ‘वी–टु’ (पाँच मिटरसम्म देख्ने) र ४ ‘वी–थ्री’ (१० मिटरसम्म देख्ने) खेलाडी छन् ।
नेपालले लाहोर, फैसलावाद र इस्लामावाद गरी तीन सहरमा पाँच खेल खेल्नेछ । रिजन प्रजुको प्रशिक्षणमा ३ साताको अभ्यासपछि गएको टोलीको लक्ष्य दृष्टिविहीन क्रिकेटमा पहिलो हुने छ । २००७ मा दृष्टिविहीन महिला क्रिकेट टोली बनेपछि नेपालबाट बेलायत र पाकिस्तानले पनि क्रिकेट सिके । नेपाल नै आएर बेलायतले २०१४ मा प्रतियोगिता पनि खेलेको थियो । जसमा नेपालले पाहुना टोलीमाथि विजयी नतिजा निकालेको थियो । केही समयअघि मात्र टोली बनाएको पाकिस्तानले निमन्त्रणा गरेपछि नेपाल खेल्न तयार भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १ लाख ५० हजार रुपैयाँ नगद सहयोग, स्विट्जरल्याण्ड दूतावासको प्रशिक्षण सहयोग र पाकिस्तान दृष्टिविहीन क्रिकेट परिषद्ले आवतजावत टिकटको व्यवस्था गरिदिएपछि नेपाली टोलीको यात्रा सहज भयो । तथापि, गतवर्ष पुरुष टोली भने रेलमार्ग हुँदै पाकिस्तान गएको थियो । पुरुष टोलीले दृष्टिविहीन विश्वकप क्रिकेट खेलिसक्दा महिला टोलीले भने समाजले हेर्नेे दृष्टिकोणमा परिवर्तन गर्ने सपना लिएको छ ।
ललितपुर घर भएकी आयुष्मा क्षेत्री वी–टु खेलाडी हुन् । विगत पाँच वर्षदेखि क्रिकेट खेलिरहेकी आयुष्मालाई क्रिकेटले नै सबैको नजिक पुर्याएको छ । पहिलो अन्तर्राष्ट्रिय भ्रमणअघि बाह्रखरीसँगको कुराकानीमा उनले भनिन्, “अहिले त सबैको प्यारो भएको छु । घरपरिवार मात्र होइन समाजले गर्ने व्यवहार पनि पहिले भन्दा फरक भएको छ । यो सबै क्रिकेटले नै गर्दा भएको जस्तो लाग्छ ।”
कप्तान भगवती भट्टराईले टोलीसँग रहेको लामो अनुभव नै जितको बलियो पक्ष रहेको बताएकी छन् । यतिमात्र नभई कप्तान भट्टराईले सिरिज आफनो पक्षमा पारेर दृष्टिविहीनप्रति समाजको दृष्टिकोण समेत परिवर्तन गर्ने सपना बोकेकी छन् । उनको सपनामा अन्य १४ जना खेलाडीले हातेमालो गरेका छन् । टोली बनेयता निरन्तर क्रिकेटमै रहेकी भट्टराईले दृष्टिविहीनलाई खेलप्रति हौस्याउँदै आएकी छन् । उनको उत्साह र हौसलाले अन्य खेलाडी पनि आत्मविश्वासी बनेका छन् ।
कन्चनपुरस्थित वसन्तपुरकी २२ वर्षिया आशिका डगौरा वी–३ खेलाडी हुन् । कक्षा १२ मा अध्ययनरत आशिका विगत ३ वर्षदेखि क्रिकेटमा रमाउँदै आएकी छन् । जन्मदै दृष्टिविहीन आशिका क्रिकेटलाई जीवनको महत्वपूर्ण साथी मान्छिन् । उनी भन्छिन्, “घरपरिवार र साथीभाइबाहेक पनि मेरो अर्को साथी छ, त्यो हो क्रिकेट । यसले केही गर्नुपर्छ भन्ने भावना उब्जाएको छ । पहिलो पटक विदेश भ्रमणको अवसर पनि क्रिकेटले दिएको छ । मलाई एकदम खुशी लागेको छ ।”
स्याङ्जा पुतलीबजारकी मुना अर्यालले विगत १० वर्षदेखि क्रिकेट खेलिरहेकी छन् । टोलीमा सिनियर खेलाडीको पहिचान बनाएकी मुना क्रिकेटले आफ्नो जीवनमा धेरै परिवर्तन ल्याएको बताउँछिन् ।
“दृष्टिविहीनलाई घर कुरुवाको रुपमा मात्र लिइन्थ्यो । जबदेखि मैले क्रिकेट खेल्न थाले, पत्रपत्रिकामा मेरो तस्बिर छापिन थाल्यो । मेरो क्षमताको प्रशंसा हुन थाल्यो । अहिले मेरो समाजमा निकै सम्मान हुन्छ । यो सबै क्रिकेटको कमाल हो,” उनले भनिन् ।
कास्कीकी रितादेवी थापा र सरिता घिमिरेको अनुभव पनि मुनाको जस्तै छ । उनीहरु दुवैले क्रिकेटले नै जीवनमा परिवर्तन आएको बताएका थिए । संसार कस्तो छ भनेर कल्पनामात्र गर्ने उनीहरु देशको प्रतिष्ठाका लागि मैदानमा सकी–नसकी दौडिरहेका छन् ।
उनीहरुको जीवनयात्रालाई सहज बनाउन २०६४ सालमा दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले महिला टोली बनाएका थिए । सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोहीको एम्बुसमा परी दुबै आँखा गुमाएपछि नेपाली सेनाका जागिरे घिमिरेले आफैंजस्ता दृष्टिविहीनका लागि नयाँ कदम चालेका थिए । त्यही यात्रालाई निरन्तरता दिने क्रममा उनले २०६३ सालमा दृष्टिविहीनहरुको पुरुष र २०६४ मा महिला क्रिकेट टिम बनाएका थिए ।