काठमाडौं । चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागेको छ । विशेषगरी जंगल सफारीका लागि पर्यटक सौराहा आउने गर्छन् ।
हात्ती महोत्सव अन्तर्गत हात्ती पोलो, हात्तीको ब्युटी कन्टेस्ट, फुटबल, वनभोज आदि कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । हिजो बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको महोत्सव ५ दिनसम्म चल्नेछ ।
महोत्सवको पहिलो दिन हात्ती वाक र छावाको मैत्रीपूर्ण फुटबल खेल भएको थियो । हात्ती वाक प्रतियोगितामा १५ वटा हात्तीको सहभागिता थियो । महोत्सवमा लोक गायक मिलन लामा, नेत्रजी पन्तलगायतको कलाकारले साङ्गीतिक प्रस्तुति दिएका छन् ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुनका लागि चितवन हात्ती महोत्सव गरिएको होटल संघ सौराहका अध्यक्ष सुमन घिमिरेले बताए ।
यस्तै महोत्सवका क्रममा ‘साहित्य र पर्यटन’ विषयक विशेष कार्यक्रम आयोजनासमेत गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव आयोजना भएको हो ।