काठमाडौं । नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले सातदोबाटोस्थित एन्फा मुख्यालयमा खेल्न गाह्रो भएको बताएका छन् । बिहीबार नेपाल पुलिस क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी शुरुआत गरेको छ । तथापि प्रशिक्षक थापाले आफ्नो टोलीको प्रदर्शनमा असन्तुष्टि जनाएका छन् ।
“नतिजा पक्षमा आए पनि हाम्रो प्रदर्शन सोचेजस्तो हुन सकेन । हामीले घाँसे मैदानमा अभ्यास गरिरहेका छौं । त्यसैले पनि यहाँ एक्ट्रा टर्फमा खेल्न असहज महसुस भएजस्तो देखिन्छ,” पुलिस क्लबका प्रशिक्षक थापाले थपे, “हाम्रो आक्रमणमा केही समस्या देखियो । पहिलो खेल भएर पनि हुनसक्छ । विस्तारै टिम सेट हुँदै गएपछि राम्रो हुने आशा छ ।”
युवा खेलाडीको बर्चश्व रहेको पुलिस क्लबको बेन्च पनि बलियो भएका कारण प्रशिक्षक थापाले उपाधि होडमा असर नपर्ने बताए । “नयाँ खेलाडीबीच तालमेल राम्रो छ । लामो समय चल्ने हुनाले लिगमा धेरै खेलाडी चाहिन्छ । एउटै खेलाडी सधै लयमा नहुन सक्छ । चोट लाग्ने सम्भावना हुन्छ । तर हामीसँग बेन्चमा पनि राम्रो खेलाडी छन् । त्यसैले हाम्रो समस्या हुँदैन,” जावलाखेलविरुद्धको प्रदर्शनबाट असन्तुष्ट पुलिसका प्रशिक्षक थापाले थपे, “यो स्तरको खेलले हामी च्याम्पियन बन्न सक्दैनौं । त्यसैले यो भन्दा धेरै राम्रो प्रदर्शन गर्नु जुरुरी छ ।”