
काठमाडौं । भुटानले अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक नेपालविरुद्धको पहिलो हाफमा अग्रता बनाएको छ ।
प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालविरुद्ध खेलिरहेको भुटानले पहिलो हाफमा १–० को अग्रता बनाएको हो ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी खेलको १९औँ मिनेटमा तेन्जिङ नोर्बुले गोल गर्दै भुटानलाई अग्रता दिलाए ।
दावा छिरिङले गरेको कर्नर प्रहारमा बकस भित्र रहेका तेन्जिङ नोर्बुले लोवर हेडर गोल गर्दै भुटानलाई अग्रता दिलाएका हुन् ।
गोल बेहोरेपछि आक्रमण बुन्ने प्रयास गरे पनि नेपालले भुटानको पोस्टमा डरलाग्दो आक्रमण बुन्न सकेन । पहिलो हाफमा नेपालले कुनै पनि समय मिडफिल्डमा बल नियन्त्रणमा राख्न सकेन ।
अन्तर्राष्ट्रिय फुटबलमा भुटानले पहिलोपटक नेपालविरुद्ध पहिले अग्रता बनाएको हो । नेपालले भुटानविरुद्ध खेलेका यसअघिका १२ खेलमध्ये कुनै पनि खेलमा पहिले गोल बेहोरेको थिएन । यस्तै, भुटानविरुद्ध नेपाल हालसम्म अपराजित छ ।