
त्यो दिन शीतल समीर चल्नेछ
आकाशमा चन्द्रमा स्वागतमा हात फैलाउनेछ
म मर्दा धौलागिरिलाई हेर्नू
महादेवको विम्ब देख्नेछौ
रिपको वनमा न्याउली चरी विरह गाउनेछ
म जहाँ मरूँ तापनि
मेरो पार्थिव जहाँको दाउराले जले पनि
कालीगण्डकी मेरो यादमा सुसाउनेछ
भगवान् कालभैरव श्रद्धाञ्जली मुद्रामा उभिनेछ
हे मेरा मित्रहरू !
तिमीहरू थोरै बेर पिपलको छहारीमा जम्मा भए पुग्छ
पार्कमा, चउरमा, चिया पसलमा चर्चा गरे पुग्छ
मेरा बारे दुई बात गरे पुग्छ
मलाई सम्झेर कोही नरूनू
आकाश रुनेछ आँसुको शीतलता छर्दै
कसैले शोक नगर्नू
काजमा आएको थियो, फिर्ता भयो
एउटा पाहुना थियो, बिदा भयो
कोत्रेको डाँडामा उभिएर पारि अन्नपूर्णमाथि हेर्नू
म स्वच्छन्द उडेको देख्नेछौ
मलाई वैतरणीको दरकार छैन
मेरो नाममा प्रेतशय्या नसजाउनू
कलिलो फूल टिपेर मलाई चढाउनु पर्दैन
श्रद्धासुमनका दुई शब्द बोलिदिए पुग्छ
म सिधै देवलोकमा पुग्नेछु
म केही लिएर जाने छैन
केवल भ्रमण प्रतिवेदन मात्र
हे मेरा मित्र र स्वजनहरू !
म माथि पुगेर
परीहरूलाई
मर्त्यलोकका प्रेमकथा सुनाउनेछु
हो, मैले एउटा कुरा छाडेको छु
त्यो हो मेरो नाम
एउटा विम्ब
एउटा छवि
मलाई अलबिदा नभन्नू
म हुनेछु यहीँ कतै
बरु, मेरो नामामा एउटा कविता लेखिदिनू
मेरो नाममा सानो गाना गाइदिनू
कतै ठेस लाग्ने ढुंगो भेटियो भने पन्छाइदिनू
हे मेरा प्रियजनहरू !
मेरो सम्झनामा न्यायका खातिर लडिदिनू
मेरो सम्झनामा कसैको आँसु पुछिदिनू
मेरो सम्झनामा आर्तमा मलम लगाइदिनू
मेरो यादमा समुदायमा प्रेम फैलाइदिनू
मेरो यादमा आपसी सज्जनता राखिदिनू
वृद्ध आमाबाबामा सम्मान गरिदिनू
मेरो सम्झनामा चेलीहरूको इज्जत जोगाइदिनू
मेरो नाममा बालबालिकामा करुणा राखिदिनू