site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवि वैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कविताका शिखर–साधक एवम् मुर्धन्य मुन्धुमविद् वैरागी काइँलालाई नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका काइँलालाई काव्य तथा मुन्धुमको खोज–अन्वेषण एवम् लेखनसँगै वाङ्मय क्षेत्रमा दिएको अतुलनीय योगदानवापत नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले नागरिक अभिनन्दन गर्ने जनाएको छ । 

धरानमा आउँदो चैत ४ गते एक समारोहको आयोजना गरी आयामेली कवि काइँलालाई सांस्कृतिक झाँक्रीसहित अभिनन्दन गरिने निर्णय गरिएको प्रतिभा प्रतिष्ठानका महासचिव देवेन्द्र खेरेसले जानकारी दिए ।

प्रतिभा प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले सो निर्णय गरेको हो । कवि बैरागी काइँलाको जन्म वि.सं.१९९६ साल साउन २५ गते पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकाको पौवा–सारताप इलाकाको पौवा गाउँमा बाबा सुब्बा खड्गबहादुर नेम्बाङ लिम्बू र आमा सरस्वती नेम्बाङ लिम्बूका काइँला पुत्रका रूपमा भएको हो । 

दार्जिलिङबाट स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका कवि काइँला नेपाली काव्यसाहित्यमा आयामेली कविका रूपमा प्रसिद्ध छन् । उनले दार्जिलिङमा रहँदा इन्द्रबहादर राई र ईश्वर वल्लभसँग मिलेर नेपाली साहित्यमा ‘तेस्रो आयाम’ आन्दोलनमार्फत साहित्यजगत्मा नयाँ युगको सुरुआत गरेका थिए । 

कवि काइँलाका काव्य विधातर्फ ‘वैरागी काइँलाका कविताहरू’ र ‘अन्धा मान्छेहरू र हात्ती’ सहित दुई कविताकृति प्रकाशित छ । उनको लिम्बू भाषा र नेपाली भाषामा क्रमशः ‘साप्पोःक् चोमेन: लिम्बूजातिमा कोखपूजा’, ‘साम्सोघा मुन्धुम: प्रेतात्माको आख्यान र अनुष्ठान’, ‘नाहेन् मुन्धुम: इर्ष्या र आँखीडाहीको आख्यान र अनुष्ठान’, ‘ससिक् मुन्धुम: मोच मार्ने आख्यान र अनुष्ठान’, ‘तङ्सिङ तक्मा मुन्धुम: आख्यान र अनुष्ठान’, ‘चइःत् मुन्धुम: सृष्टिवर्णन’, ‘मुजिङ्नामा खेयङ्नामा मुन्धुम’, ‘नाम्सामि–केसामि मुन्धुम’, खाप्पुनामा मेल्लङ्हाङ्मा र लुप्लिनामा वदन्नामा मुन्धुम’, ‘पाजाइबा मुन्धुम’, ‘लाहादाङ्ना–सुहाम्फेबा मुन्धुम’ र ‘नवाकोइत् मुन्धुम’ गरी मुन्धुमका ११ ओटा कृति प्रकाशित रहेको प्रतिभा प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

‘लिम्बू व्याकरण: याक्थुङ् हुप्पाःन’ र ‘याक्थुङ् हुप्पाःन: लिम्बू व्याकरण’को सहलेखन गरेका वैरागी काइँलाले आफ्ना बाबा सुब्बा खड्गबहादुरले लेखेको ‘किरात मिक्हन साम्लो: किरात जागरण गीत’को नेपाली भाषामा अनुवादसमेत गरेका छन् । त्यसैगरी काइँलाले ‘फूल पात पतकर’, ‘महागुरु फाल्गुनन्दका उपदेशहरू तथा सत्यहाङ्मा पन्थको भजनमाला’, ‘समकालीन साहित्य’, ‘जर्नल अफ लिम्बू लिटरेचर एन्ड कल्चर’, ‘राष्ट्रिय भाषाको कविता सँगालो’, ‘लिम्बू ग्रन्थ सूची’, ‘सयपत्री: लिम्बू लोककथा विशेषाङ्क’, ‘लिम्बू भाषा तथा साहित्य विचार’, लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश’ र ‘किरात मिक्हन साम्लो’, ‘तेस्रो आयाम’ लगायतको सम्पादनसमेत गरेका छन् ।

कवि काइँला वि.सं. २०६६ देखि २०७० सम्म चार वर्ष  एक कार्यकाल) नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति रहे भने त्यसअघि २०४७ देखि २०५० र २०५१ देखि २०५६ गरी दुई कार्यकाल प्राज्ञपरिषद् सदस्य रहेका थिए । उनी नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य हुन् । 

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सोही समारोहमा गायक दीप श्रेष्ठल र कवि सुदीप पाख्रिनलाई पनि पुरस्कार प्रदान गर्ने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  २३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro