
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राज्य र नागरिकबीचको द्वन्द्व कहाँबाट सुरु भयो भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले नागरिक र राज्यको सम्बन्ध बलियो हुन नसकेको बताएका छन् ।
उनले गत महिनाको आन्दोलनमा आफू परेको भन्दै सरकारी र गाडी निजी गाडी तोड्न भनिएको बताए । आन्दोलनमा सरकारी गाडी तोड्न भनेको आफूले सोधेको उनले सुनाए ।
“त्यँहा एउटा संकथन थियो, सरकारी गाडी तोफोड गर । सरकारी भनेको नेपाली जनताको होइन सभामुख महोदय ? तर, राज्य र नागरिकबीचको यो कमजोर सम्बन्ध के–का कारणले भयो ?,” उनको प्रश्न थियो ।
विसं. २००७ सालदेखि राजनीतिक दलले विकास गर्छु भनेर नै राजनीति गरेको तर अहिलेसम्म अपेक्षित विकास हुन नसकेको उनको भनाइ छ ।
“अझै पनि नेपाली समाजको वास्तविक अन्तरद्वन्द्वलाई पहिचान गरेनौँ भने दार्शनिक इमान्युल कान्टले भनेझैँ सत्य थाहा पाउने आँट गरेनौँ भने फेरि पनि नेपाली समाजको विकास हुँदैन,” उनले भने ।
सांसद परियारले देशमा जातीय विभेद छैन भनेर सत्य लुकाउन खोजेको आरोप समेत लगाए । “देशमा जातीय विभेद छैन भनेर भन्न खोजेको के हो ? सत्यलाई लुकाउन खोजेको हो ? सत्य लुकाएर लुक्दैन,” उनले भने ।