site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेढङ्गको अनुहार 
Tiktok banner adTiktok banner ad

सत्यमोहन जोशी

स्थान – मिथिला, जनकपुर राजप्रासादको प्रवेशद्वार

समय – अपराह्न

(एक भव्य प्रवेशद्वार छ । मकराकृति तोरण छ । पूर्ण कलशहरू दायाँ–बायाँ छन् । धूप–दीपहरूको धुवाँ अनेक आकार–प्रकार सिर्जना गर्दै माथि उडिरहेको छ । द्वारपालहरू सुसज्जित भएर उभिइरहेका छन् । मार्गको दायाँ–बायाँ दर्शकहरूको भीड लागेको छ ।)

(एउटा बेढङ्गको शरीर र अनुहार भएको मान्छेको प्रवेश । त्यसलाई देख्नेबित्तिकै सबैजना हँस्सी गर्न थाल्छन् । हाहा र हुहु हुन थाल्छ । त्यो बेढङ्गको कुरूप मान्छे टक्क रोकिन्छ । ऊ लाममा बस्न खोज्छ । सबजना उसलाई छीः छीः गर्न थाल्छन् । तर त्यो कुरूप मान्छे कति विचलित हुँदैन ।)

पहिलो दर्शक :  विदेहराज जनकको सवारी भित्रिने बेलामा यस्तो विरूप मान्छे देखापर्नु ! भएन यो बेढङ्गको मान्छेलाई यहाँ उभ्याउनु, यसलाई यहाँबाट घोक्र्याउनुपर्यो ।
(घोक्र्याउन खोज्छ, तर त्यो कुरूप मान्छे आफ्नै ठाउँमा अडिग भएर उभिरहन्छ)

दोस्रो दर्शक : अँ, साँच्चै कस्तो टेढोमेढो रहेछ यसको जीउ ! छीः मुख पनि कस्तो नराम्रो घिनलाग्दो !

तेस्रो दर्शक : कहाँबाट घुस्न आइपुग्यो यस्तो कुलक्षण मान्छे यहाँ ! (ठूलो स्वरले) जा, यहाँबाट हट !

(त्यो कुरूप मान्छेलाई सबले ठेलमठेल गर्दछन् । तर ऊ आफ्नै ठाउँमा अडिग भएर उभिन खोज्छ । अनि सबका आँखा उसैको बेढङ्गको मुखाकृतिमा पर्न थाल्छन् । उर्दीको पोसाक लाएका एकजना राजगुरु र उच्च पदाधिकारीको प्रवेश । ती दुवैको दृष्टि पनि त्यही बेढङ्गको अनुहार भएको मान्छेमा पर्छ । त्यस मान्छेको कुरूप मुख देख्नेबित्तिकै तिनीहरू घृणित भावले मुख बिगारेर उसलाई हेर्न थाल्छन् ।)

राजगुरु : स्वदेश भ्रमणबाट विदेहराज जनकको सवारी राजप्रासादमा भित्रिन लागेको बेलामा यस्तो अलच्छिन मान्छे अमङ्गल गर्न किन यहाँ देखापरेको होला ! (प्रहरीहरूलाई इशारा गर्दै) ए, घोक्र्याएर पठाऊन यो सत्र ठाउँमा बाङ्गोटिङ्गो भएको मान्छेलाई !

कुरूप मान्छे : (विनम्र भावले सबैलाई अभिवादन गर्दै) महानुभावहरू हो ! विदेहराज जनकको दर्शन गरी मौसुफमा हार्दिक अभिवादन टक्र्याउन तपाईंहरूको जति हक छ, त्यति नै मेरो पनि हक छ । तपाईंहरूले मलाई छीः छीः र दूरदूर गर्दैमा, म घृणित बन्ने व्यक्ति होइन, न कसैले धपाउन खोज्दैमा डर त्रासले धपिने व्यक्ति हुँ म । तपाईंहरू चाहे मलाई सत्र ठाउँमा बाङ्गोटिङ्गो मान्छे भन्नूस् अथवा एकाउन्न ठाउँमा बाङ्गोटिङ्गो मान्छे नै ! यसबाट मलाई केही छँुदैन ।
(सबजना झन् हाहा गर्दै खित्का छोड्छन्)

(म त ‘म’ नै हुँ, स्वस्वरूप हुँ, आत्मस्वरूप हुँ, अझ म पनि तपाईंहरूकै अनुरूप हूँ । मेरा बाह्य छाला, मासु र हाड बाङ्गाटिङ्गा र बेढङ्गको हुँदैमा मेरो देहभित्रको ‘म’ अथवा मेरो ‘आत्मा’ अथवा मेरो ‘चेतन’ बाङ्गोटिङ्गो र बेढङ्गको छैन । कुलो बाङ्गोटिङ्गो हुनसक्छ तर कुलाको पानी बाङ्गोटिङ्गो हुन सक्दैन ।) 
(खिस्सी गरेको हाँसो झन् चर्को हुन्छ)
(ठूलो स्वरले) केको निमित्त हाँसो गर्नुहुन्छ तपाईंहरू ?

एउटा बुजुग :  सत्र ठाउँमा टालेको तेरो बेरूप अनुहारको निमित्त !

कुरूप मान्छे : ठीक छ त्यसो भए । पाँच कर्मेन्द्रिय, पाँच ज्ञानेन्द्रिय, मन, चित्त, बुद्धि, अहङ्कारले युक्त मेरो अनुहार सबै ठाउँमा टालेको होस् तर ‘म’ त पूर्ण छु, पूर्ण ब्रह्म हुँ, नित्य छु, अविनाशी हूँ । बाहिरी रूपलाई मात्र देख्ने तपाईंहरूको विचार र दृष्टिकोणलाई धिक्कार छ ! मादलको छाला र देहको छालामा भेद देख्ने तपाईंहरूको विवेकलाई धिक्कार छ !

(सब चुप हुन्छन् । सब जिल्ल पर्छन् । विदेहराज जनकको सवारीको सूचना आउँछ । सबैजना लाम लागेर बस्छन् । दलबलसहित विदेहराज जनकको सवारी हुन्छ । लावा अबिर र पुष्पवृष्टि हुन्छ)

राजगुरु : विदेहराज महाराज जनकको 

सबैजना : (एकै स्वरले) जय !

(जयजयकार शब्द गुञ्जिन थाल्छ । विदेहराज जनकको सवारी भित्रिन्छ । दर्शकहरू छुट्टिन थाल्छन् । कुरूप मान्छे त्यहीँ उभिरहन्छ । एकजना जिज्ञासु पुरुष फर्केर आई त्यो कुरूप मान्छेसँग कुरा गर्न खोज्छन् ।)

याज्ञवल्क्य : (विनम्र भावले अभिवादन गर्दै) तपाईं को हुनुहुन्छ ? तपाईंको घर कहाँ ?

कुरूप मान्छे : ‘म’ तपाईं नै हुँ ! अनि मेरो घर त्यहीँ छ जहाँ हिमालको जग छ ।

याज्ञवल्क्य : (गम्भीर भावले, सम्बन्ध जोड्दै) काका, मैले तपाईंको कुराको भित्री अर्थ बुझ्न सकिनँ ।

कुरूप मान्छे : (शान्त भावले) त्यसो भए ‘म’ त क्षेत्रज्ञ हुँ, साक्षी स्वरूप भएर आफ्नो क्षेत्रमा बस्ने ।

याज्ञवल्क्य : (अर्थ बुझ्न खोज्दै) कस्तो क्षेत्रमा ?

कुरूप मान्छे : घररूपी क्षेत्रमा, देहरूपी क्षेत्रमा । घर भत्किन सक्छ, देह नाश हुनसक्छ, तर त्यो घर अथवा देहको मालिक भएको क्षेत्रज्ञ अविनाशी छ, सर्वज्ञ छ । उसको निमित्त त ‘पुराना’ जान्छ तर ‘नयाँ’ सिर्जना हुन्छ ।

(‘याज्ञवल्क्य ! ए याज्ञवल्क्य !’ भनेर बोलाएको आवाज आउँछ । यत्तिकैमा दुईजना अरू मानिसहरू आउँछन् । उनीहरूले कुरूप मान्छेसँग कुरा गर्न लागेका आफ्ना साथी याज्ञवल्क्यको हात तान्छन् ।)

एकजना साथी : याज्ञवल्क्य, तपाईंलाई हामीले कत्ति खोज्यौँ । तपाईं त यहाँ यो घिनलाग्दो मान्छेसित पो कुरा गर्न लाग्नुभएको रहेछ । (पश्चिमतिर औँल्याउँदै) घाम अस्ताइसक्यो । जाऊँ, अबेर भो ।

(याज्ञवल्क्य विवश भएर पाठेभाइहरूसँगै जान्छन् । उनी घरी–घरी पछिल्तिर फर्केर कुरूप मान्छे भएतिर हेर्छन्)

कुरूप मान्छे : (बाटो लागेकाहरूलाई हेर्दै) आफूले आफूलाई नचिन्ने यी मानिसहरू केवल शरीरकै रूप–सौन्दर्यलाई मात्र महत्त्व दिँदा रहेछन् ! (हाँस्दै) यिनीहरू ‘पहिले आफूले आफूलाई चिन्न’ किन खोज्दैनन् !

(याज्ञवल्क्य कान थापेर सुन्दछन् र फर्कन खोज्दछन्)

याज्ञवल्क्य : (अनायास ठूलै स्वरमा) आफूले आफूलाई पहिले चिन्न !

कुरूप मान्छे : (दायाँ हातले आफूलाई नै औँल्याउँदै) हो, आफूले आफूलाई पहिले चिन्न !

(याज्ञवल्क्य कुरूप मान्छे भएतिर आउन खोज्छन् । तर उनका साथीहरूले त्यस कुरूप मान्छेलाई फर्की–फर्की कर्के आँखाले हेर्दछन् र ‘अबेर भो’ भन्दै याज्ञवल्क्यलाई तानेर लैजान्छन् । कुरूप मान्छे पनि सुस्तरी आफ्नै बाटो लाग्छन् ।)

(वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नाट्यकृति ‘महर्षि याज्ञवल्क्य’को प्राक्कथन ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro