
तिमी जहाँ राख्यो त्यहीँ बसिरहन्छौ,
बाटोछेउ, घरको कुना, चोक, गल्ली जहाँ पनि
बसिरहन्छौ, चुपचाप चुपचाप ।
घाम, झरी, असिना, हुरी, हिउँ–तुसारो, दिन अनि रात
कुनै पर्वाह छैन, सबै सहिरहन्छौ
किनकि, तिमीमा सहने शक्ति छ ।
कैयौँ दिन भोकै राखे पनि भोजन माग्दैनौ,
बत्ती नबाले पनि अँध्यारो भो भन्दैनौ,
फूलैफूलले छोपिदिँदा अनि अगरबत्तीको धुवाँले भरिदिँदा
अहँ ! पटक्कै निस्सासिँदैनौ ।
मुस्कुराइरहन्छौ मन्द–मन्द
किनकि, तिमी कुनै कुशल कलाकारको सुन्दर कलाकृतिमा अंकित छौ !
श्रद्धा–सम्मान गरून् कोही,
घृणा–तिरस्कार गरून् कोही,
बाटोछेउको ढुंगामा समाहित तिमी
यात्रुले लत्याउँदा पनि रिसाउँदैनौ,
भक्तले पुज्दा पनि अहम् गर्दैनौ,
स्थिर रहन्छौ सदा शान्त अनि सौम्य ।
तिम्रा आँखासामु अपराधीहरू स्वतन्त्र हिँडिदिन्छन्,
भ्रष्टाचारीहरू निर्दोषीको अभिनय गरिरहन्छन्,
निर्धा–निमुखाहरूमाथि दुष्टहरूले दाह्रा धसिरहन्छन्
तर पनि तिमी बोल्दैनौ ! कति महान् छौ तिमी !
तर, म तिमीजस्तो महान् हुन सक्दिनँ !
म अन्याय पटक्कै सहन सक्दिनँ !
देवी बनाएर पहिला शिरमा चढाउने
अनि दासीतुल्य फेरि पैतालाले दबाउने
सफल नाटककारको म विरोध गर्दछु !
प्रतिष्ठाको खोल ओढेर अर्काको अस्मितामाथि खेलबाड गर्ने
कथित महापुरुषलाई म सम्मानको माला पहिर्याउन सक्दिनँ !
परम्परा र संस्कृतिको नाममा
आफ्नो आँगनमा आफ्नै सन्तानको बलि दिएको
टुलुटुलु हेरेर बस्न पनि सक्दिनँ म तिमीजस्तो !
अपराध र व्यभिचारले रंगिएको भेटी
चुपचाप स्वीकार गरेर
तिनलाई उन्मुक्तिको वरदान दिन सक्दिनँ म !
त्यसैले म आलोचित छु, तिमी आलोचनारहित सर्वमान्य छौ !
तिमी पीडामा रुँदैनौ, खुसीमा हाँस्दैनौ
अन्यायमा बोल्दैनौ, अत्याचारको विरोध गर्दैनौ,
जहाँ जे भए पनि चुपचाप हेरिरहन्छौ,
त्यसैले त तिमी भगवान् हौ !
तर, म तिमीजस्तो हुन सक्दिनँ !
मलाई अधिकार चाहिन्छ, स्वाभिमान चाहिन्छ,
अन्याय र असत्यका विरुद्ध विद्रोह बर्साउँछु,
त्यसैले त म सदा शंकटग्रस्त हुन्छु,
किनकि, म तिमीजस्तो देवता होइन, फगत मान्छे हुँ !