site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कञ्चनजङ्घाको काखबाट’ शब्दचित्रमा प्रकृति
Tiktok banner adTiktok banner ad

अक्सर कुहिरोले ढाकेको डाँडा, चौरी खेल्ने पाखा, हिउँबाट बन्ने आकृति, डाँडैभरि फुलेको केन्जो (पदमचाल) र गुराँस । प्राकृतिक सौन्दर्य तस्बिरमा देखेर आहा ! भन्ने धेरै छौँ । तर, यिनै डाँडापाखा डुलेर त्यहाँको जनजीवनलाई शब्दमा उतार्ने निकै कम छौँ ।

नेपालको पूर्वीपहाडी जिल्ला पाँचथरमा बसेर सञ्चार क्षेत्रमा सक्रिय एक पत्रकार हुन्, गिरिराज बाँस्कोटा । उनी नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन् । उनको नियात्रासंग्रहका रूपमा ‘कञ्चनजंङ्घाको काख’  नामक पुस्तक प्रकाशित भएको छ । उनको यो दोस्रो  पुस्तक हो । गत वर्ष २०७८ सालमा उनको कवितासंग्रह ‘ढुङ्गाको प्रेम’ प्रकाशन भएको थियो ।

बाँस्कोटाको जन्मघरबाट कञ्चनजङ्घा हिमशृंखला  देखिन्छ । उनलाई बुझ्ने र चिन्नेले यो मात्र कञ्चनजङ्घा हिमशृंखलाको बारेमा लेखिएको हो भन्ने पनि ठान्छन् । तर, यस पुस्तकमा उनले पाँचथरको याङ्वरक गाउँपालिकाको चिवाभज्याङदेखि बैतडीको झुलाघाटसम्म यात्रा गरेको अनुभव सँगालेका छन् ।

उनको यो यात्राको म प्रत्यक्ष सहभागी नभए पनि यात्राका कैयौँ किस्सा कफी खाँदा सुनेको थिएँ । ती किस्सा किताबका पानामा सजिएर आउँदा पक्कै पनि सुन्दर लाग्नेरहेछ । फरक राजनैतिक धारका व्यक्ति, कर्मचारी र पत्रकार मन मिल्ने साथीहरूको समूह बनाएर यात्रामा निस्किनु पाठकलाई  प्रेरणा लाग्न सक्छ । पहाडैपहाड पूर्व–पश्चिम यात्रामा उनले २६ जिल्लाको यात्रा गरेको उल्लेख गरेका छन् । एक हजार ८७९ किलोमिटर मोटरसाइकलमा यात्रा गरेको बताएका छन् ।

पढ्नेलाई आफैँ पुगेझैँ गरी भेटिएका पात्र, त्यहाँको जनजीवनलाई किताबमा हुबहु उतार्ने कोसिस गरिएको छ । मोटरसाइकलयात्रामा पाएको दुःख लेखेका छन् । यात्रामा भोगेको सकस देखिन्छ । जब यात्रा सकिन्छ, सम्झना पनि त उस्तै मिठास हुने झल्किल्छ पुस्तकमा । बाँस्कोटाको पुस्तक पढ्दै जाँदा चित्र पनि भेटिन्छ । देश हेर्ने हुटहुटीले निस्केका दाँैतरीका दुःखसुख दुवै कथा भेटिन्छ ।

२० वटा च्याप्टरमा उनले विभिन्न क्षेत्रको यात्राको विवरण राखेका छन्, रंगीन तस्बिरसहित । प्रायः बाँस्कोटा भन्ने गर्छन्– म सानो कुरामा खुसी र सानै कुरामा दुःखी हुन्छु । उनको यो पुस्तकमा पनि त्यस्तै देखिन्छ । ढाका बुन्नेको कथा, चीन नाका बन्द हुँदा गलैँचा बजार पुर्याउन नसक्दाको पीडा, गाउँले परिवेश अनि झोलुंगे पुलको सेल्फीजस्ता विषयलाई पनि आफ्नो सम्झनासहित राखेका छन् ।

यात्रा गर्नेलाइ त कठिन छ, पुस्तकले विभिन्न ठाउँको जनजीवन कस्तो होला भन्ने कल्पना गर्न सक्ने बनाउँछ । देशको भौगोलिकता झल्काउँछ । उनले पुस्तकमा यात्राभरका वृत्तान्त मात्र दिएका छैनन्, पूर्वी नेपालीलाई पश्चिम नेपालका पाठकमाझ चिनाएका छन् । अनि, पश्चिम नेपाललाई पूर्वको नेपाली गाउँहरूमा लुकेर रहेका पर्यटकीय, धार्मिक, सांस्कृतिक, प्राकृतिक सम्पदालाई कलात्मक रूपमा देखाएका छन् ।

१६४ पृष्ठको पुस्तकमा २० पाठ छन् । पुस्तकको नाम ‘कञ्चनजङ्घाको काखबाट’ शीर्षकबाट राखिएको छ । थकित यात्रीले गन्तव्य पुग्दाको खुसी पुस्तकमा भेटिन्छ । घामको पहिलो झुल्को हिमालमा पुगेको दृश्य देख्दा लेखक जसरी लोभिएका छन्, पाठकलाई त्यो दृश्य देखाउन हिमालको अनेकन् स्वरूपको चित्र प्रस्तुत गरेका छन् ।

ओलाङचुङगोला हुँदै टिप्तलाको यात्राको अत्यन्तै महत्त्वपूर्ण क्षण कैद गरेका छन् । ओलाङचुङवासीको पीडा सरकारसमक्ष पुर्याउने शब्द कोरेका छन् ।

रेडपान्डालाई प्रत्यक्ष देख्दाको उनको अनुभव साटेका छन् । फक्तालुङ यात्राको क्रममा देखिएका गाउँ चित्रमा र भेटिएका पात्र शब्दमार्फत पाठकमाझ पस्किएका छन् ।

तिम्बुपोखरी क्षेत्रमा गाडी नगुडेका कारण ‘अर्ग्यानिक तिम्बुपोखरी’ शीर्षक राखेर यात्रा गराएका छन् । पाथीभरा मन्दिर, इलामको सन्दकपुर गाउँपालिकाको माइपोखरी र आसपासका होमस्टेका रमाइला कथाहरू बुनिएको छ । चौँरी डुलाउनेको कथा, केन्जो करिस्मा, पानीटारको सुन्दरता, पहाडैपहाड पूर्व–पश्चिम हुँदै तितेमाछाको कहानी सुनाएका छन् । सरकारको नजर नपुगेको बर्मे गाउँको व्यथा पढ्दा पाठकलाई लाग्नेछ, लेखकले हिमालकै काखमा बसेर यात्राको सुगन्धित कथा शब्दचित्रमा उतारेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro