
हनोई । भियतनामका राष्ट्रपति गुयन सुआन फुकले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । दुईजना उपप्रधानमन्त्रीको बहिर्गमनपछि यसअघि नै राष्ट्रपतिको राजीनामाबारे व्यापक चर्चा भएको थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका फुकले सन् २०२१ देखि राष्ट्रपतिको पदभार सम्हाल्दै आएका छन् । कट्टरपन्थीहरूको नेतृत्वमा भ्रष्टाचारविरुद्धको अभियान चलिरहेकाबेला उनको राजीनामाको खबर बाहिरिएको हो ।
अहिले सयौँ कम्युनिस्ट पार्टीका सदस्यहरूमाथि भ्रष्टाचारलाई लिएर अनुसन्धान भइरहेको छ ।
राष्ट्रपतिको राजीनामाका लागि पनि राष्ट्रिय सभाको अनुमोदनको आवश्यकता हुन्छ । औपचारिकताका लागि बुधबार नै असाधारण मतदानको आयोजना हुने अपेक्षा गरिएको छ ।
पार्टीबाट जारी भएको एक विज्ञप्तिमा फुकको नेतृत्वको प्रशंसा गरिएपनि उनको नेतृत्व अन्तर्गतका थुप्रै अधिकारीहरूले गरेका गलत कार्य र नियम उल्लंघनका लागि राजनीतिक रूपमा उनी जिम्मेवार रहेको बताइएको छ ।
यसै महिनाको सुरुमा राजीनामा दिएका दुईजना उपप्रधानमन्त्री, दुईजना मन्त्री र अन्य अधिकारीहरूले अहिले आपराधिक अभियोग सामना गरिरहेका छन् ।
बीबीसीबाट ।