अर्थ व्यवसाय
काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले यस वर्षको उत्कृष्ट दुरसञ्चार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डबाट सम्मानित भएको छ ।
उक्त अवार्ड एनसेललाई अन्तर्राष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एन्ड सलिभनले काठमाडौंमा आयोजना गरेको ‘२०१६ नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस्’ को एक भव्य समारोहमा बुधबार प्रदान गरेको हो । नेपाल बेस्ट प्राक्टिसेस् अवार्डस् विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएका कम्पनीहरुलाई प्रदान गरिएको हो ।
गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए । “ग्राहकमा ध्यान केन्द्रित गर्दै उनीहरुको विविध सञ्चार सेवाको आवश्यकतालाई परिपूर्ति गर्ने हाम्रो प्रयासले फेरी एक पटक सम्मान पाएकोमा हामी हर्षित छौं । यो अवार्ड एनसेलको उदाहरणीय विकास र उत्कृष्ट कार्यसम्पादनको प्रमाण हो,” पर्किन्सले भने ।
कम्पनीहरुको वास्तविक बजार सम्पादन सूचकहरु, समग्र विकास, नवीनता र नेपाली अर्थतन्त्रमा पुर्याइको योगदान लगायतका आधारमा कडा मापदण्ड भित्र रहेर अवार्ड पाउने कम्पनीहरुको मूल्यांकन गरिएको थियो ।
“एनसेलको सफलता नेपालको सामाजिक तथा आर्थिक विकासका लागि काम गरिरहेका हाम्रा सम्पूर्ण कर्मचारी तथा साझेदारहरुको कठिन परिश्रम र समर्पणको फल हो । हामी हाम्रा ग्राहकको भरोसा, प्रतिक्रिया तथा संलग्नताको लागि आभारी छौं, जसले गर्दा एनसेलले स्वदेशमा तथा विदेशमा विभिन्न सम्मान पाउन सफल भएको छ,’’ पर्किन्सले भने । एनसेल उत्कृष्ट तथा दिगो सेवा प्रदान गर्न कटिवद्ध रहेको कुरा पर्किन्सले बताए ।
सन् २०१६ मा एनसेलले पाएको यो तेस्रो पुरस्कार हो । गत फेबु्रअरीमा एनसेलले मोबाइल इन एमर्जन्सी एण्ड ह्युम्यानिटेरियन सिचुयसन्स् विधा अन्र्तगत जीएसएम एसोसिएसनले प्रदान गरेको ग्लोबल मोबाइल अवार्ड र गत महिना सिङ्गापुरमा फ्रोस्ट एन्ड सलिभन नेपाल मोबाइल सेवा प्रदायक २०१६ सम्मान पनि पाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३ १५:१६
प्रतिक्रिया दिनुहोस्