ब्लग
भारतको विहार प्रदेशमा पर्ने मुजफ्फरपुर जिल्लाको लक्ष्मिनगर निवासी यी साहु थरका मिस्त्रीहरूलाई उनीहरूको मुलुकका राष्ट्रपति नेपाल आएको त थाहा छैन नै यी कसैले पनि प्रणव मुखर्जीको नाम पनि जानेका रहेनछन् ।
दिनभरको काम सकेर सुस्ताएका यी भारतीय मिस्त्रीहरूसँग भारतका राष्ट्रपतिको नाम सोध्दा एक जनाले डा.अब्दुल कलामको नाम लिए भने अरू दुई जनाले मोदीको नाम लिए । नितीश र लालुको नाम पनि लिए तर मुखर्जीको नाम कसैले लिएनन् ।
भारतको विहारमा र नेपालमा मजदुरी उत्तिकै पाइने भए पनि यिनीहरू महिनाभर काम पाइने र चाडपर्वका कारण अलमलिनु नपर्ने हुनाले नेपालमा काम गर्न रुचाउँदा रहेछन् । तीमध्ये एकजनाले भने - काम त उता पनि पाइन्छ तर सातामा ३-४ दिनभन्दा बढी काम गर्नै पाइन्न । यसैले नेपाल आउँछौँ । महिनामा १२-१५ हजार जति बचाएर घर पठाउने उनीहरूले पैसा पठाउन भने अप्ठेरो हुने गुनास गरे । स्टेट बैंकको शाखा त गाउँमा पनि छ तर यहाँबाट पठाउँदा यता र उता दुवैतिर झन्झट हुन्छ । नानाथरी कागज भर्नुपर्छ र महिनामा ४० हजारभन्दा बढी हुनेबित्तिकै कर काट्छ । यसैले एउटै परिवारका भए पनि सबैको पैसा एकैपटक पठाउन सकिँदैन । साथमा लिएर जाँदा चोरिने, लुटिने र ठगिने डर हुन्छ ।
भारतमा काम गरेर नेपाल आउने मजदुरले पनि यस्तै समस्या भोग्नुपर्छ । ठूलाठूला कुरा गरेर सम्बन्ध निकट बनाएको पाखण्ड प्रचार गर्नेहरूले यस्ता मामुली मान्छेका समस्या सुन्दैनन् । राष्ट्रपतिको नामसम्म नजान्नेहरूको आवाज संसद् वा सरकारसम्म कहिल्यै पुग्दैन ।
उनीहरू भने महाराष्ट्र जानुभन्दा नेपालका पहाडी गाउँमा काम गर्न रूचाउँदा रहेछन् । लामो रेलयात्रमा दिक्क लाग्छ । अनि सबै नौलो लाग्छ । यता खासै अप्ठेरो हुँदैन । मैले हिन्दीमा सोधेको प्रश्नको उत्तर उनीहरूले नेपालीमा दिन थालेपछि हामी नेपालीमै कुराकानी गर्न थाल्यौँ । जनस्तरको सम्बन्ध सायद यसैलाई भन्छन् । विहार सरकारले केटाकेटी विद्यालय नपठाउने परिवारलाई सहुलियत रासनको कार्ड दिँदैन रे । एक जनाले भने अब भने केटाकेटी नपढाई सुखै छैन । मैले प्रणव मुखर्जीको नाम दोहोर्याएर लिँदा पनि उनीहरूले राम्ररी उच्चारण गर्न सकेनन् । र खासै चासो पनि लिएनन् ।
तुलसीदासका सच्चा अनुयायी निस्के - कोउ नृप होय हमे का हानि !
तस्बिर : बाह्रखरी
प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७३ २०:१५
प्रतिक्रिया दिनुहोस्