ब्लग
‘‘नमस्कार आमा ! के समस्या लिएर आउनुभएको?’’
हातको निलो डाम देखाउँदै ‘‘जान्नेले भनेको बोक्सीले टोकेको रे बाबु ! दुईवटा भाले चडाइसकेँ अझै निको भा’छैन ।’’
‘‘हेर्नुस् आमा बोक्सी भन्ने हुँदैन, रगतको अथवा रक्त नलीको कुनै रोग हुन सक्छ । तपाईले कुनै औषधि खानुभएको छ ?"
"छैन बाबु केही खाएको छैन ।"
"रगत जाच्नु पर्छ आमा ।"
"हस बाबु त्यसो भए जाच्नुस् मेरो रगत ।"
एक घण्टापछि : "आमा रिपोर्ट आयो । तपाईलाई बधाई छ, रोग केही पनि देखिएन । सायद तपाईलाई थाहा नपाउने गरी चोट लागेको हुनुपर्छ । गाउँघरतिर मेलापात गर्दा वा सुत्ने बेलामा हात कतै ठोकिएको हुनुपर्छ ।"
"खै बाबु ! त्यस्तो त केही थाहा भएन ।"
"दुईतीन सातापछि फेरि आउनुहोला । त्यस बेलासम्म निलो डाम नहराएमा वा बढेमा थप जाँच गर्न ठूलो अस्पताल जानुपर्छ । जानुअघि तपाईलाई केही भन्नुछ आमा ?"
"बाबु ! किन किन मलाई त बोक्सीमै शंका छ ।"
मैले काम गर्ने अस्पताल नजिकै झारफुक गर्ने (जान्ने) एक जना महिला बस्छिन् । बिहानदेखि साँझसम्म उनीकहाँ ठूलै भिड लाग्छ । जस्तो बिरामी गए पनि निधारमा खरानी रंगको टीका र कम्मरमा बुटी लगाइदिने रै'छिन् । अचम्म त के भने, मेरै अस्पतालमा भर्ना भएका बिरामी पनि सुरक्षा गार्डको आँखा छलेर सुटुक्क उनीकहाँ जाँदा रै'छन । साँझ राउन्डमा जाँदा धेरैको निधारमा उनै जान्नेको टीका देखिन्थ्यो ।
मैले भने, "तपाईहरू झारफुकका लागि बाहिर जानुभएको रहेछ । अस्पतालका कर्मचारी कसैलाई थाहा नै नदिई यसरी जानु हुदैन । हेर्नुहोस्, तपाईहरूको झारफुकप्रतिको विश्वासलाई हामी विरोध गर्दैनौ तर अस्पतालमा भर्ना भएको अवस्थामा विनाजानकारी कतै नहिँड्नुहोला ।" मैले कौतुहलवश सोधेँ, "जान्नेले के भन्नुभयो त ?"
निमोनिया भएको बिरामीकी आमाले भनिन् “नाग लागेको छ रे”। मलाई हाँसो लाग्यो तर हाँसिन । उनीहरुको जान्नेप्रतिको विश्वासलाई खितित्त हाँसेर उडाउन चाहिन । मैले सोचेँ, अशिक्षा र अन्धविश्वासले गाँजिएको समाजको दोष हो यो, उनीहरूको होइन ।
स्वास्थ्यसम्बन्धी केही अध्ययनै नगरेका, रोगको कखग थाहा नभएकालाई जान्ने भनिन्छ। झारफुक गर्नेको भरपर्दा धेरै बिरामीको अकाल मृत्यु भएकोछ । झाडापखाला लागेका बिरामीलाई "पानी र जीवनजल नखानु यसले झन् पखाला बढ्छ" भन्दा रै'छन् । निमोनियाका बिरामीलाई नाग लागेको भन्दा रै'छन् । अनि मानसिक रोगीलाई "भूतप्रेत लाग्यो, देवी चढ्यो पूजा गर्नुपर्छ ठीक हुन्छ" भन्दा रै'छन् । प्रेसर बढेर बेहोश हुँदा "पिचासले ढालेको म पिचास भगाउँछु" भनेर ढ्याङ्गरो ठोक्दा रै'छन् ।
धेरै ठाउँमा, खासगरी गाउँघरतिर रोगले सिकिस्त पारेपछि मात्र अस्पताल जाने चलन छ ।
एक जना पेट दुखेको बिरामीलाई झारफुक गर्नेले ३ दिनसम्म घरमा फुकेर राखेछ । चौथो दिनमा समेत बीसको उन्नाइस नभएपछि बिरामीलाई अस्पताल पुर्याइयो । अस्पतालमा परीक्षण गरेपछि एपेन्डिक्स फुटेर पेटमा पिप जमेको पाइयो । तुरुन्त अप्रेसन नगरे यस्तो बिरामीको ज्यान जान सक्छ । ग्यास्ट्रिकलाई गाउँघरमा गानोगोला पनि भनिदो रै'छ। पहिले झारफुक गर्ने, निको नभए गानोगोला मिच्ने भनेर पेट रगड्ने गर्दा रै'छन ।
पेट दुखेर आएका एक जना दुब्लोपातलो बिरामीलाई मैले इमर्जेन्सीमा जाँच गरेको थिए । उनको पेट फुलेको र जता थिचे पनि दुख्ने थियो । उनलाई पनि गानोगोला भनेर पेट मिचिएको रहेछ ।
मैले तुरुन्तै बुझिहाले, पेट बेस्सरी माड्दा आन्द्रा ढाडको हड्ढीमा रगडियो र आन्द्रामा प्वाल पर्यो । यस्तो अवस्थामा पनि तुरुन्तै अप्रेसन नगरे बिरामीको ज्यान जानसक्छ ।
यी त भए देखिएका घटना । यस्ता घटना समाजमा कति लुकेका होलान् ?, कतिले अकालमा ज्यान गुमाएका होलान् ? कतिपय बिरामी झारफुकमा विश्वास गर्न बाध्य पनि छन् । घरदेखि स्वास्थ्य केन्द्र पुग्नै १–२ दिन लाग्छ । स्वास्थ्य केन्द्र तथा अस्पताल पुग्न धेरै समय र खर्च लाग्छ । खासगरी पहाडी र हिमाली भेगका जनता आधुनिक स्वास्थ्य सेवाबाट धेरै टाढा छन् । विकट ठाउँमा छरिएका सबै गाउँमा स्वास्थ्य केन्द्र र डाक्टर उपलब्ध गराउन पक्कै पनि असम्भव छ ।
तर, सरकारले चाहेमा विकट ठाउँका बस्तीलाई एकीकृत गरी अलि सुगम ठाउँमा बासस्थानको व्यवस्था गर्न सक्छ । यसबाट धेरैभन्दा धेरै जनताले नजिकको स्वास्थ्य सेवा र बाटोघाटोको प्रयोग गर्न सक्नेछन् ।
झारफुक गर्नेलाई एकै पटकमा विस्थापित गर्न असम्भव छ । बरु, उनीहरूलाई आधारभूत स्वास्थ्य तालिम दिन सकिएमा बिरामीमा खतराका लक्षण देख्नसाथ डाक्टरकहाँ पठाउन सक्छन् । यसो गर्दा बिरामीलाई फाइदा पनि हुन्छ । अनि झारफुक गर्नेहरूले रोगको बारेमा बुझ्न पनि पाउँछन् । उनीहरूले तालिम पाएर रोगको यथार्थ बुझे भने सायद धेरैले झारफुक गर्न छोड्छन । किनभने रोगको गम्भीरता नबुझी उपचार गर्दा र बुझेपछि गर्दा सोचमा धेरै फरक आउन सक्छ । "मैले त यस्ता खतरनाक रोग पनि फुकेर बसेको रै'छु, अब यो झारफुके पेसा छोड्छु" भन्न सक्छन् ।
एक दिन मैले अस्पताल नजिकै बस्ने माथि चर्चा गरिएकी ती जान्ने महिलालाई भेट्ने अवसर पाएँ । घाँटी दुखेर जचाँउन आएकी थिइन् । एक सातादेखि घाँटी दुखेर सताएको रैछ । जाँचेपछि घाँटीको संक्रमण (फ्यारिनजाइटिस) जस्तो लागेर औषधि खाने सल्लाह दिएँ । एक सातापछि फेरि आउन भने । त्यत्तिकैमा उनीसँग कुरा गर्न मन लाग्यो ।
"तपाईँ त धेरै प्रख्यात हुनुहुन्छ । मैले तपाईँका बारेमा धेरै सुनेको छु । तपाईँ झारफुकमा धेरै व्यस्त हुनुहुँदो रै'छ ।" उनले भनिन्, "हजुर डाक्टरसाव, व्यस्त हुन्छु, विश्वास गरेर बिरामी आउँछन् ।" मैले थपेँ, "अनि सबैलाई निको हुन्छ त "? "हुन्छ डाक्टरसाव, एकदुईबाहेक सबैलाई निको पार्छु", उनले भनिन् ।
मनमनै भने सायद त्यही एकदुईमध्ये तपाईँ एक होला । एक सातापछि उनीसँग भेट भयो । घाँटी पूरै निको भएको रहेछ । घाँटी निको भएकोमा उनले धन्यवाद दिइन् । "धन्यवाद भनिरहनु पर्दैन दिदी, तपाईँलाई निको भयो म धेरै खुसी छु।" मैले भने । मैले ती झारफुक गर्ने दिदीलाई घाँटीको इन्फेक्सन कसरी हुन्छ ? कुन कीटाणुले संक्रमण गर्छ, रोग कसरी सर्छ, उपचार कसरी हुन्छ भनेर सबै सम्झाएँ । उनी अल्लि गम्भीर भइन् । सायद, उनी रोगको गम्भीरता बुझेपछि झस्किन् । खुसीको कुरा आजकाल उनले बिरामीको समस्या बढेमा तुरुन्त अस्पताल रिफर गर्न थालेकी छन् ।
डाक्टरले केही अपवादबाहेक सबै रोगका कारण पत्ता लगाएर उपचार गर्छन् । रोगका बारेमा गहिरो अध्ययन र अनुसन्धान गर्ने भएकोले डाक्टरहरू बिरामीको उपचारका लागि आधिकारिक व्यक्ति ठहरिन्छन् । रोगको निदान गर्न बिरामीसँग वार्तालाप गर्ने, छामेर परीक्षण गर्ने, आवश्यक ल्याब जाँच गराउने डाक्टरहरूको नियमित विधि हो ।
तथ्यमा आधारित उपचार अर्थात् (इभिडेन्स बेस्ड मेडिसिन) विधि डाक्टरले अँगालेका हुन्छन् ।
विभिन्न अनुसन्धानबाट प्रमाणित भएका विशिष्ट उपचार शैली चिकित्सकले अपनाएका हुन्छन् । त्यसले गर्दा रोगहरू अधिकतमरूपमा नियन्त्रित हुन्छन्। दिनहुँ नयाँनयाँ उपचार शैलीको अनुसन्धान भइरहेको हुन्छ । एउटै रोगको पनि फरकफरक उपचार शैली हुन सक्छ । डाक्टरले सबैभन्दा उपयुक्त विधि अपनाउने गर्छन् ।
कुन डाक्टर राम्रो वा को नराम्रो भन्न गाह्रो हुन्छ । कुनै डाक्टरले धेरै बिरामीलाई उपचार गर्यो भन्दैमा उसैलाई राम्रो भनिहाल्न सकिँदैन । किनभने सबैको सफल उपचार हुन्छ भन्ने पनि छैन । कसैसँग रोग पत्ता लगाउने कौशल बढी छ भने त्यो डाक्टरलाई पनि राम्रो भनिहाल्न सकिँदैन ।
किनभने, पत्ता लगाएका रोग सबैको उपचार नहुन पनि सक्छ ।
कसैले बिरामीसँग धेरै मीठो बोल्ला, इमानदार पनि होला तर रोगको सही उपचार गर्ने क्षमता नभए ती गुणले मात्र डाक्टरलाई राम्रो बनाउन सक्दैन । डाक्टरलाई माथि उल्लेखित सबै गुणको समग्रमा नहेरी राम्रो वा नराम्रो भन्न गाह्रो हुन्छ । राम्रो डाक्टर बन्न उसमा विषयको ज्ञान, इमान्दारी, क्षमता, गाम्भीर्य, दया, मायाका साथै बिरामीका सबै पीडा सुन्न सक्ने धैर्यवान कान हुनुपर्छ । हामीहरू यी सबै गुण आफूमा निहित गर्न प्रयास गरिरहेका हुन्छौँ । तर, कहिले काँही हामी चिप्लिन्छौँ । कहिले पढाइको ज्ञान छुट्छ, कहिले इमान्दारी हुँदैन, कहिले क्षमता त कहिले गाम्भीर्य हुँदैन, कहिले दया, मायाको भाव टुट्छ भने कहिले बिरामीको केही कुरा सुनेपछि हाम्रो कान बन्द हुन्छ ।
मानिस सर्वगुण सम्पन्न हुँदैन । त्यसोभन्दैमा हामी डाक्टरहरूलाई कमजोरी देखाउने छुट हुँदैन ।
किनभने हाम्रो पेसा बढी संवेदनशील छ । हामी मृत्युसँग दिनहुँ जुहारी खेलेका हुन्छौँ । मिडियामा बेलाबेलामा डाक्टरहरूको गाम्भीर्य घटेको कुरा आउने गर्छ । यसमा आंशिक सत्यता पनि छ । अब हामीले आफ्नो गाम्भीर्यलाई बढाउनै पर्छ । हामीले यस्तो प्रयास गरिरहँदा कहिले काँही हामी निराश हुन बाध्य हुन्छौँ । राम्रो उपचारको प्रयास गर्दागर्दै कसैको मृत्यु भएमा डाक्टरहरूप्रति नै हमला हुन्छ ।
ठूलो मानसिक दबाबमा काम गर्नुपर्ने वातावरण बढ्दै गएको छ । डाक्टरहरू पनि मान्छे हुन्, मानवीय गल्ती हुनसक्छ तर घटनाको अनुसन्धान निचोडमा नपुगी डाक्टरलाई तुरुन्तै दोषी ठहर्याउनु राम्रो होइन । जति प्रहार भए पनि डाक्टरहरूले आफ्नो कर्तव्य इमानदारीसाथ पूरा गर्नेछन् । किनभने, बिरामीको उपचार गर्नु नै डाक्टरको मूल धर्म हो । डाक्टर र बिरामीबीचको सम्बन्धजस्तै डाक्टर र डाक्टर बीचको सम्बन्ध पनि मधुर बन्न आवश्यक छ । डाक्टर–डाक्टरबीच सूचनाको तालमेल नमिल्दा र व्यावसायिक धर्मप्रतिको प्रतिबद्धता घट्दा बिरामीले व्यर्थमा दुःख पाएका घटना धेरै छन् ।
उदाहरण १ :
बिरामी : "डाक्साब नमस्ते ! मलाई टाउको दुखेको १ वर्ष भयो, सीटी स्क्यान, एमआरआई सबै गरिसकेँ, औषधि १ वर्षदेखि खाएको छु, औषधि छोड्नेबित्तिकै दुख्छ ।"
डाक्टर: "ए तपाईँलाई 'माइग्रेन हेडेक' भएको हुनुपर्छ । पहिलो डाक्टरले दिएको औषाधि काम लाग्दैन । अब यो खानुस्"
( औषधि लगभग उस्तै ।)
उदाहरण २ :
बिरामी : डाक्साब नमस्ते ! मलाई प्रेसर भएको ६ महिना भयो । पहिलेको डाक्टरले यो औषाधि दिनु भएको छ । यो औषाधि ठिक छ कि छैन ?"
डाक्टर : छैन, त्यो बन्द गर्नुस । यो खानुस् । (अर्कै कम्पनीको दिँदै)
उदाहरण ३ :
बिरामी : पेट दुखेको छ डाक्साब हिजोदेखि ।
डाक्टर : (सबै रिर्पाट आएपछि) तपाईँलाई एपेन्डसाइटिस भएको हुनसक्छ तर अहिले ठ्याक्कै भन्न गाह्रो छ । आज रातभर अस्पतालमा बस्नुस्, दुखाइ बढेमा वा दुखाइ दाहिनेतर्फ सरेमा अप्रेसन गर्नुपर्छ । बिरामी पेट दुखाई कम भएन भन्दै अर्को अस्पताल जान्छ ।
उदाहरण ४
डाक्टर २ : तपाईको एपेन्डिक्स धेरै पाकिसकेछ, किन हिजो नै नआउनु भएको ?
बिरामी : हिजो त्यो अर्का अस्पतालको डाक्टरले रातभरी राख्नुभयो ।
डाक्टर २ : कस्तो डाक्टर रै'छ ! धन्नै, तपाईको ज्यान गएको, धन्न ठाँउमा आउनु भएछ ।
यी माथिका दुःखद उदाहरणले के देखाएका छन् भने डाक्टर–डाक्टरबीचको सम्बन्ध बिग्रेको छ । राम्रै औषधि भएपनि औषधि फेरिदिने, अघिल्लो डाक्टरलाई गाली गरिहाल्ने र कहिलेकाहीँ बिरामीलाई त्यहाँ किन गएको भनेर प्रतिप्रश्न गर्ने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्ति अहिलेको दरमा बढेमा डाक्टर–डाक्टरबीचको सम्बन्ध छिट्टै नै धरापमा पर्नेछ । औषधि फेर्न नै पर्ने रैछ भने पनि बिरामीलाई राम्रोसँग सम्झाएर फेर्दा हुन्थ्यो । हामीमा आमूल परिवर्तनको खाँचो छ । आफू र आफ्नो पेसाको मर्यादा बचाउन अब हामी सबै डाक्टरले फेरि हिप्पोक्रयाटिक ओथ सम्झिन आवश्यक छ ।
आफ्नो पेसालाई इमानदारीपूर्वक पूरा गरेका कुनै पनि डाक्टरहरूप्रति यी माथिका उदाहरण भने लागु हुदैँन ।
स्टेज चारमा भएको क्यान्सरका बिरामी आफ्नो दुखाइ कम गर्न अस्पताल आउने गर्थे । धेरै दुख्दा कहिलेकाहीँ रातैभर पनि बस्थे । पेनकिलरको डोज जति बढाए पनि उनको दुखाइ खासै कम हुँदैनथ्यो । धेरै दिनपछि उनलाई बढी नै गाह्रो परेछ । सास फेर्न पनि गाह्रो हुने, दुखा खप्नै नसकिने, टाउको दुखिरहने भएछ । अक्सिजन र पेनकिलर दिइयो । त्यही बेला उनले सोधे - "डाक्टर बाबु, तपाईँलाई भगवानप्रति विश्वास छ ?" मैले कुरा मोडेर उनको रोगको बारेमा बताउन लागे । "हेर्नुस बुबा, तपाईँको क्यान्सर शरीरभर फैलिसकेको छ, त्यो तपाईँलाई क्यान्सरको डाक्टरले पनि भन्नुभएको रै'छ ।
यसरी फैलिएको क्यान्सरलाई निर्मूल पार्न सकिँदैन । क्यान्सरलाई दबाउन केमोथेरापी र आवश्यकताअनुसार रेडियोथेरापी दिने हो, त्यो पनि तपाईँले पाइसक्नु भएको छ । अब बाँकी रह्यो तपाईँको दुखाइ, यसलाई पेन किलर दिएर कम गर्ने हो । सास फेर्न गाह्रो हुँदा अक्सिजन दिने हो ।" "बाबु यो कुरा सबै मैले बुझिसकेको छु । बाबुले उत्तर दिनुभएन । तपाईको भगवानप्रति विश्वास छ ?" तुरुन्तै जवाफ फर्काउन सकिन । एकै छिनको मौनपछि मैले भने “अँ छ” उनी मुसुक्क हाँसे । सायद, उनको भगवानप्रतिको विश्वास मेरो उत्तरले झन् बलियो बन्यो । दुई दिनपछि खबर पाएँ उनी बितेछन् ।
मैले त्यति बेला उनको विश्वासलाई थप बलियो बनाउन भगवानमा विश्वास गर्छु भनेको थिएँ । यथार्थमा म भगवानमा विश्वास गर्दिन । राख्छु केबल आस्थामात्र । किनभने विश्वासमा विश्वासघात हुनसक्छ, आस्थामा हुँदैन ।
भगवानलाई कसैले भेट्न सकेको छैन । भगवान खोजेर भेटिने वस्तु होइन । भगवान त आफूभित्र हुन्छ । आफूभित्र रहेको भगवानलाई बाहिर खोच्दा भेट्टाउने कुरै भएन । भगवानले मेरो रोग निको पारिदिन्छन् भन्नु आफूभित्रको शक्तिले निको पार्छ भन्नु हो । आफूभित्रको शक्ति अर्थात् रोगसँग लड्ने क्षमता, धैर्य र आत्मविश्वास । व्यक्तिमा यी गुण घट्न थालेपछि औषधिले पनि काम गर्न छोड्छ र बिरामीको मृत्यु हुन्छ ।
हामी बाँचेका छौँ र हामीलाई थाहा छ एक दिन मर्छौँ । मृत्यु सत्य हो । एउटा कीटाणु अरू केही होइन फगत केही रासायनिक क्रियाको सेट हो । रासायनिक क्रिया बन्द हुन्छ, कीटाणु मर्छ । त्यस्तै मानिसको शरीर पनि विभिन्न रसायनको थुप्रो हो । रसायनमा केही गडबढी भएमा रोग उत्पन्न हुन्छ । शरीर संवेदनशील छ । यही संवेदनशीलतालाई ध्यानमा राखेर आफ्नो रोगको बारेमा जानकार रहन र आधिकारिक व्यक्तिबाट उपचार गराउन सबैले ध्यान दिनुपर्छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७३ १०:२४
प्रतिक्रिया दिनुहोस्