site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेलिगेसनबिनाको लिगलाई कछुवा गतिको तयारी
SkywellSkywell

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको ६ दशकभन्दा लामो यात्राले यसपाली नयाँ मोड लिँदैछ । असोज १३ बाट सुरु हुने लिगको ४२औं संस्करण यसअघिकाभन्दा नितान्त फरक रुपमा सम्पन्न हुँदैछ, पहिलो पटक रेलिगेसनको व्यवस्था हटाउँदै । 

२०११ बाट राष्ट्रिय फुटबलको मेरुदण्डको हैसियत स्विकार्दै सुरु भएको लिगको स्वरुप फेरिएको यो पहिलो पटक होइन । एकल लिग, दोहोरो लिग, सुपर लिग, सुपर सिक्स, प्लेअफ र अरु धेरै खालका प्रयोग नेपाली फुटबलको शीर्ष डिभिजनमा भइसकेका छन् । शीर्ष डिभिजनको हैसियत सहिद स्मारक ‘ए’ डिभिजनबाट खोस्दै विगतमा दुई पटक राष्ट्रिय लिगको प्रयोग पनि भयो । तर सहिद स्मारक लिगले भने रेलिगेसनविना निरन्तरता खोजेको यो पहिलो पटक हो । 

पूर्वअध्यक्ष गणेश थापाविरुद्ध आन्दोलनको नेतृत्व गर्दा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाको मुख्य नारा थियो, आर्थिक पारदर्शिता, प्रशासनिक सुशासन, फुटबल विकासमा दिगो योजना । यसैलाई समग्रमा शेर्पा र उनका सहयात्रीहरु भन्ने गर्थे, ‘चेन्ज एन्फा,’ । अर्थात एन्फामा पूर्णरुपमा परिवर्तन । विगतका सबैखाले कमजोरी र गलत कुराहरुलाई सही कदमबाट स्थानान्तरण गर्ने । देशको फुटबललाई मर्मअनुसारकै योगदान गर्ने लिग आयोजना आन्दोलनमा रहँदा शेर्पाहरुकै मुद्दा थियो । 

KFC Island Ad
NIC Asia

तर, २०७० पछि थुप्रै पटक मिति तोकिए पनि हुन नसकेको लिगलाई पुनर्जिवन दिने निर्णय गर्दा एन्फा नेतृत्व आफैले उठाएका मुद्दामा चुक्यो । वैशाखमा सम्पन्न साधारणसभाले शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेलगत्तै एन्फाले असोजमा लिग गर्ने घोषणा गरेको थियो । तर सामान्य भाषामा घटुवा न बढुवा हुने लिग आयोजनाको निर्णय सर्बत्र आलोचनाको विषय बन्यो । तर एन्फा नेतृत्व भने सुस्ताएका गतिविधि सिर्जना गर्न एक पटक रेलिगेसनविनाको लिग गर्नुपरेको तर्कसँगै त्यही लिगको तयारीमा मस्त छ । 

०७० पछि सहिद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेको छैन । एन्फाको तत्कालिन नेतृत्वले २०७१ मा राष्ट्रिय लिगको अवधारणा ल्यायो । मोफसलका चार क्लबसमेत समावेश गरिएको राष्ट्रिय लिग चल्दै गर्दा २०७२ को भूकम्प गएपछि दुईवर्ष लगाएर त्यो प्रतियोगिता सम्पन्न भयो । त्यसपछि एन्फाले शीर्ष डिभिजनको लिग गर्न सकेको थिएन । त्यसैले एन्फा अध्यक्ष शेर्पाले आफू निर्वाचित हुनेवित्तिकै फुटबलको गतिविधि सु्चारु गर्न लिगलाई पूर्नजीवन दिने घोषणा गरे । 

Royal Enfield Island Ad

रेलिगेसनविनाको प्रतियोगिताले लिगको औचित्य समाप्त गर्ने प्रश्न उठिरहेका बेला एन्फाले गतमहिना साधारणसभाबाट आफ्नो पुरानो निर्णयमा केही परिमार्जन गर्यो । त्यसअनुसार लिगको पुछारमा रहने तीन टोलीले अर्को सिजन लिगमा तिर्नुपर्ने गरी क्रमशः ३, २ र १ अंक खोस्ने निर्णय गरेको थियो । एन्फा प्रवक्ता किरण राईले साधारणसभाको पत्रकार सम्मेलनमा यसो भनेर आलोचना मत्थर पार्ने प्रयास गरे । तर त्यसमा एन्फा लामो समय टिक्न सकेन । एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै त्यसमा फेरी परिमार्जन गर्यो । एन्फाको पछिल्लो निर्णयअनुसार अब पुछारका दुई टोलीले मात्र कमजोर प्रदर्शनको मुल्य चुकाउनुपर्नेछ । जहाँ पुछारका दुई टोलीले अर्को सिजनमा क्रमषः २ र १ अंक तिर्नुपर्नेछ ।  यसैगरी तयारी बापत दिइएको २० लाख रुपैयाँमा आगामी वर्ष ३ लाख र २ लाख रुपैयाँ घटाइने भएको छ । 

आलोचना र समर्थनका बीच असोज १३ बाट लिग सुरु हुने पक्का भएको छ, आलोचकहरुलाई नै बल दिँदै । तर लिगका मुख्य सरोकारवाला सहभागि क्लबहरुको तयारीले आलोचकहरु नै सही रहेको प्रमाण दिइरहेको छ । लामो समयपछि हुन लागेको लिगमा क्लबहरुले लामो र गम्भीर तयारी गर्नुपर्ने हो । तर तयारी त्यस्तो भइरहेको छैन । एन्फाले गर्न खोजेजस्तै झारो टराईमा क्लबहरुको तयारी सिमित छ । किनकी अधिकांस क्लबहरु यसपाली घटुवा भइएला की भन्ने सबभन्दा ठूलो भयबाट मुक्त छन् । सके उपाधि नसके पनि शीर्ष डिभिजनको हैसियत कतै नजाने । क्लबहरुलाई अहिले दुवै हातमा लड्डु छ । रेलिगेसन नहुने भएपछि ‘ए’ डिभिजनको हैसियत जोगाउनेमात्र लक्ष्य बोकेका अधिकांस क्लब टिम बलियो बनाउन लगानी गर्नुपर्ने तनावबाट पनि मुक्त भएका छन् ।

लिगमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका १४ क्लबमध्ये ३ विभागीय क्लबमात्र नियमित अभ्यासमा छन् । बाँकी तयारी सुरु गर्ने कोशीसमा छन् । लिग सुरु हुन ११ दिनमात्र बाँकी रहँदा पनि लिग हुने काठमाडौंको माहोल फुटबलमय बन्न सकेको छैन । एन्फाको तयारी जोडतोडले चलिरहे पनि क्लबको तयारी भने कछुवा गतिमा सिमित छ । कतिपयले तयारी थालेको साता बित्यो भने कतिपय अझै सुरु गर्ने प्रक्रियामै छन् । केहीले विदेशी खेलाडी भित्रयाउने चर्चा चलेको छ । नेपाली खेलाडीे अनुबन्ध हुने क्रम भने सुरु भइसकेको छ । तयारीको कुरा गर्ने हो भने टिमहरु कछुवाको गतिमा घिस्रिरहेका छन् । 

\"\"

लिगलाई क्लबको तयारी 
 

मनाङ मर्स्याङ्दीः  सर्वाधिक ७ पटक लिगको उपाधि उचालेको मनाङ मर्स्याङ्दी  क्लबले लिग सुरु हुन दुईसाता अघिबाटमात्र प्रशिक्षण सुरु गरेको छ । विदेशी प्रशिक्षक र ३ विदेशी खेलाडी भित्र्याएको मनाङले भदौ ३१ गतेबाट तयारी थालेको छ । सानो गौचरण रंगशालामा मनाङ टोलीले तयारी गरिरहेको छ । मनाङमा राष्ट्रिय टोलीका अधिंकाश खेलाडी समावेश छन् । राष्ट्रिय टोलीका कप्तान विराज महर्जनसहित पूर्वकप्तान अनिल गुरुङ, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, कमल श्रेष्ठ र अन्जन बिष्ट लगायतका खेलाडी छन् । मोफसलमा हुने गोल्डकप प्रतियोगितामा पनि सर्वाधिक उपाधि उचाल्ने मनाङ २०७० सालमा लिग विजेता पनि हो ।  

थ्री स्टारः राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तिमगर, अनन्त तामाङ, निराजन खड्का लगायतका खेलाडी सम्मलित थ्री स्टार क्लबले दुईसाता अघिबाट प्रशिक्षण सुरु गरेको छ । सातोदोबाटोस्थित चर्च ग्राउन्डमा मेघराज केसीले टोलीलाई प्रशिक्षण दिइरहेका छन् । दुई विदेशी खेलाडी मार्टिन र पिटर पहिलेदेखि टिममा रहेको अवस्थामा बाँकी विदेशी खेलाडीबारे छलफल भइरहेको क्लबका अध्यक्ष अरुणमान जोशीले जानकारी दिएका छन् । गत संस्करणको राष्ट्रिय लिग च्याम्पियन थ्री स्टारले ४ पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको छ । उपाधि उचाल्ने लक्ष्यका साथ प्रशिक्षण सुरु गरिएको अध्यक्ष जोशीले बताए । एन्फाको लापरवाहिका कारण एएफसी कपको दोस्रो चरणमा सहभागिता जनाउन नपाएको थ्री स्टार झण्डै १ वर्ष फुटबलका गतिविधिबाट बाहिर बसेको थियो । एन्फालाई चेतावनी दिँदै फुटबल बाहिर बसेको थ्री स्टार क्षतिपूर्ति पाएपछि खेलमा फर्किएको थियो । 

नेपाल पुलिसः तीन पटक लगातार सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि जितेको नेपाल पुलिस क्लबले यसपालीका लागि विशेष तयारी थालेको छ । पछिल्लो समय केही सुस्ताएझै देखिएको पुलिस क्लब फेरि पुरानो लय समात्ने रणनीतिका साथ तयारीमा जुटेको हो ।

विभागीय क्लबको नियमित प्रशिक्षण हुने भए पनि पुलिसले लिग केन्द्रित गर्दै विशेष तयारी थालेको खेलकुद शाखाका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । विभागबाहेक अन्य क्लबले विदेशी खेलाडी भित्र्याउँदा प्रतिस्पर्धा केही बढे पनि निरन्तर अभ्यासमा रहने पुलिस क्लबका खेलाडीको प्रदर्शन कमजोर नभएको शाहको दाबी छ । यो वर्ष मोफसलमा भएका प्रतियोगितामा ७ पटक फाइनल पुगेर तीन उपाधि उचाल्दै लयमा फर्किएको संकेत गरेको पुलिसले लिग च्याम्पियन बन्ने दाबी गरेको छ । भोला सिलवाल, जुमानु राई, रविन श्रेष्ठ, दिनेश राजवंशी र भरत शाह लगायतका खेलाडी पुलिसमा आबद्ध छन् । 

एपिएफः नियमित प्रशिक्षणमा रहने विभागीय क्लब एपिएफले पनि तयारी तीव्र बनाएको जनाएको छ । पहिलो पटक लिगमा उपाधि जित्ने लक्ष्यका साथ तयारी थालेको खेलकुद शाखाका अमित मल्लले जानकारी दिएका छन् । नियमित हुने तालिम भन्दा लिगलाई प्राथमिकतामा राखेर तयारी सुरु गरिएको एपिएफले जनाएको छ । 

त्रिभुवन आर्मीः राष्ट्रिय टोलीका भरपर्दा खेलाडी भरत खवास, नवयुग श्रेष्ठ र सुमन अर्याललगायतका खेलाडी सम्मिलित त्रिभुवन आर्मी क्लब पनि नियमित अभ्यासमा रहने टिम हो । तथापि टोलीले पछिल्लो समय नियमित अभ्यासलाई लिगको विशेष तयारीमा रुपान्तरण गरेको छ । आर्मीले २०१४ सालमा चौथो संस्करणको लिग जितेको थियो । मोफसलमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्मी यो सिजनमा सुदूर पश्चिम गोल्डकप लगायतका उपाधि उचालेको थियो । राष्ट्रिय टोलीबाट गोल मेसिनको उपनाम पाइसकेका नवयुग उच्च फर्ममा छन् । यस्तै आर्मीका कप्तान भरत खवासले पनि आर्मीको जितमा महत्वपूर्ण भुमिका खेल्दै आएका छन् । 

संकटाः बि.स ०३७, २०४० र ०४२ गरी तीनपटक सहिद स्मारक ‘ए’  डिभिजन लिग जितेको संकटा क्लबले भदौ १ गतेबाट तयारी सुरु गरेको छ । दुई विदेशी खेलाडी र बाँकी अनुबन्धित १६ खेलाडीलाई सल्यान खड्गीले प्रशिक्षण गराइरहेका छन् । एन्फाका महासचिव समेत रहेका क्लब अध्यक्ष इन्द्रमान तुलाधारले बाँकी १ विदेशी खेलाडी ल्याउनेबारे छलफल भइरहेको बताए । खेलाडी नपाइरहेको र खोज्ने क्रममा रहेको तुलाधारले बताएका छन् । 

न्युरोड टिम (एनआरटी): पाँचाैं संस्करणको लिगमा पहिलो पटक च्याम्पियन बनेको न्युरोड टिमले तयारी थालेको छ । २०१७ साल र २०१९ मा लगातार च्याम्पियन बनेको न्युरोड टिमले २०३५ सालमा तेस्रो पटक उपाधि उचालेको थियो । न्युरोड टिमले २०५२ मा पछिल्लो पटक उपाधि जितेको थियो । फुटबलका गतिविधिमा पछिल्लो समय सुस्ताएको एनआरटीले यो सिजनमा केही प्रतियोगितामा सहभागिता जनाएको छ । बाँकी हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइजले पनि तयारी थालेका छन् । 

परिमार्जित पुरस्कार  

यसअघि सहिद स्मारक ‘ए’ डिभिजन लिगको पुरस्कार ७५ लाख रुपैयाँ हुने गरेकोमा अब विजेताले ५० लाख मात्र पाउने भएको छ । एन्फाले विजेताको पुरस्कार राशी घटाउँदै उत्कृष्ट ६ क्लबलाई पुरस्कृत गर्ने तयारी गरेको बताएको छ । च्याम्पियनको पुरस्कार राशी घटे पनि समग्रमा पुरस्कार राशी बढेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताए । यसअघि दोस्रो हुने टिमले ५० लाख पाउने गरेको भए पनि यो संस्करणमा दोस्रो हुने टिमले ३५ लाख रुपैयाँ पाउने छ । तेस्रो हुनेलाई २५ लाख, चौथौ हुनेलाई १५ लाख, पाँचांै हुनेलाई ७ लाख र छैठौं हुनेलाई ५ लाख रुपैयाँ प्रदान गर्ने एन्फा लिग कमिटीले जनाएको छ । व्यक्तिगत पुरस्कारमा उत्कृष्ट फरवार्ड, मिडफिल्डर, रक्षक, गोलकिपर र प्रशिक्षकले जनही एक थान मोटरसाइकल पुरस्कार पाउने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro