
काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२५–२०२६ को उद्घाटन खेलमा लिभरपुलले बर्नमाउथविरुद्ध खेल्ने भएको छ ।
मंगलबार प्रिमियर लिगको तालिका सार्वजानिक भएसँगै दुई टोलीले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने तय भएको हो । तालिकाअनुसार उद्घाटन खेल आगामी अगष्ट १५ (शुक्रबार) हुनेछ ।
प्रिमियर लिगमा सन्डरल्यान्डले सात वर्षपछि पुनरागमन गरेको छ । उसले पछिल्लो पटक सन् २०१६–२०१७ मा प्रिमियर लिग खेलेको थियो । उसले पहिलो खेलमा आगामी अगष्ट १६ मा वेस्टह्यामको सामना गर्नेछ ।
प्रिमियर लिगका अनुसार, प्रतियोगितामा कुल ३८० खेल हुनेछन् । लिगले प्रतियोगिता अगष्ट १५ देखि मे २४ सम्म चल्ने जनाएको छ । प्रतियोगितामा कुनै पनि टोलीले ६० घन्टाभन्दा कम समयमा दोहोरो खेल खेल्न पाउने छैन ।