छिमेकी चीनको सिचुआन प्रान्तले सेप्टेम्बर ४ देखि ९ सम्म आफ्नो पर्यटन प्रवद्र्धन गर्न ‘सीआईटीई’ भन्ने एउटा कार्यक्रम आयोजना गरेको थियो । त्यहाँको ल्हसान भन्ने ठाउँ र हाम्रो बुद्ध जन्मस्थल लुम्बिनीबीच भगिनी सम्बन्ध गाँस्ने कार्यक्रम पनि थियो । नेपालको पर्यटन प्रवद्र्धन गर्न उनीहरूले पूर्णरूपमा सहयोग गर्ने र नेपालको हस्तकलाका सामानलाई एक सातासम्म प्रदर्शन गर्ने तालिका थियो । त्यस कार्यक्रममा हस्तकला क्षेत्रबाट ४० देखि ५० जना, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाट १० जना, नेपाल पर्यटन बोर्डबाट १० जना र लुम्बिनी विकास कोषबाट १० जनालाई उतैबाट निमन्त्रणा आएपछि नेपाली टोली त्यहाँ गएको थियो ।
यति ठूलो खर्चमा चीनले बोलाउँदा २० लाख पर्यटक ल्याउने हाम्रो पर्यटन अभियान ‘नेपाल भ्रमण वर्ष, २०२०’ का लागि एउटा ठूलो ‘प्लेटफर्म’ तयार भएको थियो । त्यहाँ पुग्दा उनीहरूकै खर्चमा सहरैभर नेपालको पर्यटन प्रवद्र्धन हुने पोस्टर, पम्प्लेट टाँसेर प्रचार गरिएको थियो । एकदमै राम्रो कार्यक्रम र प्लेटफर्म तयार पारेर चिनियाँले नेपालको पर्यटनलाई गुण लगाएका थिए ।
परन्तु, यस्तो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा हाम्रो राष्ट्रिय पर्यटन सस्था नेपाल पर्यटन बोर्डको उपस्थिति र प्रस्तुति असाध्यै फितलो हुन पुग्यो । मुख्य हलमा नेपालको प्रस्तुति थियो । त्यसलाई पर्यटन बोर्डका अधिकारीले पेस गर्नुपर्ने थियो तर नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईंले प्रस्तुत गर्नुपर्यो जुन अत्यन्तै नराम्रो र फितलो भयो । वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज मिश्रदेखि हामी सबै त्यही हलमा नेपालको प्रस्तुति हेरिरहेका थियौँ तर त्यो प्रस्तुतिबाट हामी खुसी होइन असाध्यै लज्जित हुन पुग्यौँ ।
यसमा मैले भन्न खोजेको के हो भने यसखालको कार्यक्रममा पर्यटन बोर्डको प्रस्तुति फितलो हुने गरेको गुनासो सधैं सुन्दै आएका थियौं र कहिल्यै पनि नसुध्रिएको देखेर हामी थाकिसकेका छौंँ । यसभन्दा अघि नाट्टाको ‘रोड सो’ मा पनि पर्यटन बोर्डको प्रस्तुतिमा पर्यटन सचिवले चित्त नबुझाएपछि उहाँले बोर्डका सीईओलगायत अन्य अधिकारीलाई पर्याप्त तयारी गरेरमात्र प्रस्तुति दिन निर्देशन दिनुभएको थियो ।
सचिवले चीनको (अहिले चर्चा गरिएको) कार्यक्रममा नेपालसम्बन्धी उत्कृष्ट प्रस्तुति तयार गर्न निर्देशन दिए पनि त्यहाँ गरिएको प्रस्तुति ‘कामै नलाग्ने’ थियो । प्रस्तुतिमा न तस्बिर, न चित्र केही थिएन । भाषणजस्तो नेपालबारे लिखित जानकारीमात्र थियो । यसरी अर्काले करोडौंं लागतको प्रवद्र्धन निःशुल्क गरिदिन त्यति ठूलो मञ्च दिँदा पनि पर्यटन बोर्डले फितलो प्रस्तुति दिँदा ‘दाँतमा ढुंगा लागेजस्तो’ भयो । बोर्डबाट १०÷१० जना जाँदा पनि एकजना नेपालको स्टलमा बसेका थिए भने तीन दिनको कार्यक्रममा बाँकी झल्याकझुलुकमात्र देखिए । देखिनेले पनि जिम्मेवारीसाथ काम गरेनन् ।
वर्षौंदेखि पर्यटन व्यवसाय गर्दै आएको अनुभवका आधारमा भन्नुपर्दा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली पर्यटन प्रवद्र्धन, प्रचारप्रसार र विकासको जिम्मेवारी बोकेको पर्यटन बोर्डजस्तो संस्थाले चीनजस्तो ठूलो बजारमा भएको कार्यक्रमलाई ‘बेवास्ता’ गरेजस्तो देखिने गरी काम गर्नुहुन्थेन । मलगायत चीन पुगेका पर्यटन व्यवसायीको भनाइ यही हो ।
अन्तर्राष्ट्रिय पर्यटन मेलामा पर्यटन बोर्डका केही अधिकारी भत्ता खाएर पोस्टर र पम्प्लेट बाँड्ने नै ठूलो काम हो भन्ने भ्रममा छन् । यो बिल्कुलै मान्य छैन । त्यस्ता कर्मचारीलाई बोर्डबाट नहटाएसम्म विदेशमा नेपालको पर्यटनको प्रवद्र्धन कहिल्यै राम्रो हुनेछैन ।
यसअघि पनि पर्यटन बोर्डले हामीजस्ता चिनियाँ पर्यटक ल्याउन काम गर्ने व्यवसायीसँग सल्लाह गरेर चीनको मेलामा के गर्न सकिन्छ भनेर सोधेको थियो । हामीले विगतमा झैंँ चीनमा प्रवद्र्धन गर्दा चिनियाँ भाषामै हुनुपर्ने, राम्रा भिडियो, तस्बिर र जानकारीसहितको प्रस्तुति हुनुपर्ने सल्लाह दिएका थियाँैं । तर, त्यहाँ पुगेपछि बोर्डको प्रस्तुति हाम्रो सल्लाहभन्दा ठीक विपरीत भएपछि हामी खङ्ग्रङ भयौंँ ।
यस्तो ठूलो अवसर र मञ्चलाई पनि पर्यटन बोर्डले ‘क्यास’ नगरेको देख्दा हामी असाध्यै दुःखी छौँं । बोर्डले अन्तर्राष्ट्रिय पर्यटन बजारमा यस्तो खालको फितलो प्रस्तुति दियो भने नेपालको पर्यटन प्रवद्र्धन हुनुको सट्टा उल्टै नकारात्मक प्रचार हुन्छ । यस्तो प्रस्तुति बोकेर चीन जाने बोर्डका कर्मचारीलाई कामबाट हटाइदिए केही फरक पर्दैन । बोर्डले यसबारे बेलैमा सोचोस् ।
(प्रबन्ध निर्देशक, सुआङ ची टुर्स प्रालि )