
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत परमाणु साइटमा इजरायली आक्रमणमा सहभागी हुने विचार गरिरहेको बीबीसीले जनाएको छ ।
अमेरिकाको सीबीएस न्युजले दिएको खबरअनुसार, ट्रम्पले इजरायल–इरानबीच छैटौँ दिनसम्म चलेको सैन्य संघर्षमा सहभागी हुन विचार गरिरहेको उल्लेख गरेको छ ।
राष्ट्रपति ट्रम्पले मंगलबार ९० मिनेट लामो राष्ट्रिय सुरक्षा परिषद् बैठक गरेर यस विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन् ।
अमेरिकाले इरानको फोर्डो परमाणु सुविधालाई आक्रमणका लागि सम्भावित लक्ष्य बनाएको हुन सक्ने बताइएको छ । सुरक्षा विश्लेषक फ्रयांक गार्डनरले यो भूमिभित्र धेरै गहिरो स्थानमा फैलिएको र ३० हजार पाउन्डको अमेरिकी बमले मात्र यसलाई ध्वस्त गर्न सक्ने उल्लेख गरेका छन् ।
ट्रम्पका सल्लाहकारहरू भने यो कदमप्रति विभाजित छन् । विज्ञहरूले यसले संघर्षलाई पूर्णरूपमा परिवर्तन गर्ने चेतावनी दिएका छन् ।
यसअघि, तीन दिनमा युरोपमा ३० भन्दा बढी अमेरिकी सैन्य इन्धन ट्यांकर विमान पुगिसकेका छन् । जुन युद्धक विमानलाई इन्धन आपूर्ति गर्न प्रयोग हुन्छ ।
संघर्ष सुरु भएदेखि इरानले निरन्तर प्रतिआक्रमण जारी राखेको छ । तेहरानले तेल अभिभमा फत्ताह–१ हाइपरसोनिक मिसाइल प्रहार गरेको बताइएको छ ।
बीबीसीबाट ।