site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
६९ क्यापसहित विराज महर्जनको कीर्तिमान 

काठमाडौं ।  २०५८ सालमा बुबा बाबुकाजी महर्जनको हात समातेर एन्फा प्रवेश गर्दा विराज महर्जनलाई लागेको थियो– म ठूलो फुटबलर बन्छु । अन्डर १० का लागि एन्फा एकडेमीमा प्रवेश गर्दैगर्दा विराजको मनमा उब्जिएको फुटबलर बन्ने सपना त पूरा भयो नै । उनले कीर्तिमान पनि कायम गरेका छन् । एन्फा पुग्दा ८ वर्षका विराज महर्जन अहिले २९ वर्षका भए । तर, एन्फा प्रवेश गर्दा मनमा उब्जिएको जोस शारीरिक रुपमा केही कम भए पनि उस्तै लाग्छ विराजलाई । ठूल्दाइ विक्रम महर्जनको खेलबाट हौसिएका विराज महर्जनको परिवार फुटबलमा नै घुलित छ । 

उनका दाजु विक्रम एन्फा एकेडेमीका पहिलो ब्याचका कप्तान हुन् भने बुबा बाबुकाजी क्लब स्तरका खेलाडी । काका रत्नजीत महर्जनले उमेर समूहको खेलबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन् । विराजलाई पनि फुटबल भन्दा बाहिर जान मन लागेन र बुबाको आग्रहमा एन्फा एकेडेमी भर्ना भए । विभिन्न उमेर समूह हुँदै सन् २००८ मा पोखरामा पाकिस्तानविरुद्ध भएको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका विराजले नेपाली फुटबलमा इतिहास बनाएका छन् । 

नेपाली फुटबलका प्रशिक्षक राजुकाजी शाक्यको ६८ क्यापको रेकर्डमा विराजले आफ्नो नाम थपेका छन् । आफ्ना गुरुको ६८ क्यापको रेकर्ड उनले बंगलादेशमा जारी साफ च्याम्पियनसिपमा भुटानविरुद्ध खेल्दै ६९ क्यापको नयाँ कीर्तिमान बनाएका हुन् । यसअघि नेपाली खेलाडीले सर्वाधिक ६८ क्याप खेलेको कीर्तिमान राजुकाजी शाक्यको नाममा थियो ।

सफल कप्तान
म्याच फिक्सिङ काण्डपछि रुमलिएको नेपाली फुटबल टोली २०७२ माघमा बंगबन्धु गोल्डकप खेल्न बंगलादेश गयो । बंगबन्धु रंगशालामा फाइनलमा बहराइनलाई हराउँदै नेपालले २३ वर्षपछि उपाधी जित्यो । विराज महर्जनकै कप्तानीमा रहेको नेपाली टोलीले उपाधी खडेरीलाई तोडेको थियो । बंगबन्धु गोल्डकपपछि हौसिएको नेपाली टोलीले २०७२ फागुनमा भारतमा सम्पन्न १२ सागमा स्वर्ण पदक जित्यो । 

१७ वर्षपछि फाइनलमा पुगी आयोजक भारतलाई पराजित गर्दै स्वर्ण पदक जित्दा नेपालको कप्तानी विराज महर्जनले नै गरेका थिए । २०७३ कात्तिकमा सोलिडारिटी कपमा नेपाल च्याम्पीयन बन्यो । मलेसियाको कुचिङमा मकाउलाई हराउँदै २३ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दा नेपाली कप्तानी विराजले नै सम्हालेका थिए । एकपछि अर्को उपाधी आफ्नै कप्तानीमा जितेर विराजले सफल कप्तानको उपमा पाएका छन् । 

सन्यासको योजना
साथीभाइका बीच प्रिय विराज महर्जन कीर्तिमान बनेकोमा निकै खुसी छन् । भन्छन्, “मेहनत र सबैको मायाले नयाँ कीर्तिमान बनाउन सफल भएको छु । देशका लागि ६९ क्याप खेल्न पाउनु गर्वको विषय हो ।” अब करिब २ वर्ष खेलेर सन्यास लिने योजनामा उनी छन् । उनी भन्छन्, “नयाँ भाइहरु आइरहेका छन् । आफूभन्दा राम्रो गर्ने क्षमता देख्नेबित्तिकै स्थान दिनेछु ।”
प्रशिक्षक राजुकाजी शाक्य पनि विराज महर्जनले नयाँ कीर्तिमान बनाएकोमा निकै खुसी छन् । “आफूले सिकाएको चेलाले आफ्नै कीर्तिमान ब्रेक गर्दा खुसी लाग्ने रैछ,” प्रशिक्षक शाक्यले भने, “अनुशासित, मेहनती र लगनशिल खेलाडीको परिचय बनाएका महर्जनप्रति मेरो विश्वास उस्तै छ । आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्नेछ ।” 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro