नेपाली भाषा साहित्य अविश्राम कलमजिवी हुन् वसन्तकुमार शर्मा नेपाल (९६) । छ दर्जनभन्दा बढी कृतिका लेखक, नेपाली शब्दसागरका सम्पादक वसन्तका आँखा र कानले यतिबेला धोका दिइसकेका छन् । उनका यी दुबै इन्द्रीय कमजोर भएका छन् । पाँच वर्षको उमेरदेखि अक्षर कोर्न थालेका वसन्तको अक्षर अब दस्तखतमा सीमित भएको छ । अर्थात् आँखा र कानमा देखिएको कमजोरीले उनको सिर्जनशीलतालाई प्रत्यक्ष असर पारेको छ । हैन भने अझैपनि केही कृति सिर्जना गर्ने उत्साह उनमा रहेको उनको जाँगरले देखाउँछ ।
तथापि वर्षदिन अघिसम्म पनि उनले सहयोगीको साथ लिएर केही कृति सार्वजनिक गरे ।
बितेको चैत्र ३० गते उनको जन्मदिन उप्रान्त उनले केही लेखेका छैनन् । उनी यो समयमा आफूले कतैकतै दस्तखत मात्रै गर्दैआएको बताउँछन् ।
केही दिनअघि उनको निवास चावहिल मैजुबहालमा उनकै कोठामा बसेर हामी कुराकानी गर्दैथियौं । त्यसैबेला उनले भने, ‘लेख्न नसकेपछि गाह्रो हुनु स्वाभाविक हो । यद्यपि ०७२ सालमा ‘सम विसमार्थ कोष’ बाहिरियो । ०७३ सालमा एघार जनाले संयुक्तरुपमा लेखेको खण्डकाव्यमा एउटा भाग मैले पनि लेखेँ ।’
वि.सं. २०७४ सालमा नेपालले इतिहासकारहरुले छोडेका विषय अर्थात् तिनको नजर नपुगेका विषयहरुलाई एउटा पुस्तकमार्फत् सार्वजनिक गरे । अनि पुस्तकको नाम दिए ‘ऐतिहासिक झिल्काहरु’ ।
यस ‘ऐतिहासिक झिल्काहरु’मा केही सन्दर्भहरु राखिएका छन् । तिहारको भाइटिकाको एउटा सन्दर्भका साथै केही अन्य विषय ‘ऐतिहासिक झिल्काहरु’मा समाबेस छन् । त्यसमा नेपालका सन्दर्भसहित भारतीय इतिहासका कतिपय लुकेका विषयलाई पनि समावेश गरिएको छ ।
त्यस्तै जयप्रकाश मल्ल र पृथ्वीनारायण शाहको बीचमा के लुक्यो, सिद्धिनरसिंह मल्ल र पृथ्वीनारायणका बीचमा के लुक्यो, भृकुटी र अंशुवर्माका बीचमा के कुरा ओझेलमा पर्यो अनि स्रङचंग गम्पो र भृकुटीका बीचमा के थियो, कश्मिरका राजाले नेपालमा आक्रमण गर्दा केके भयो, यी र यस्ता अनेक विषय सन्दर्भ यस पुस्तकमा आफूले प्रस्तुत गर्र्ने प्रयास गरेको उनको कथन छ ।
यसरी उनी केही महिनाअघिसम्म पनि साहित्य, सिर्जना र अक्षरसँगै भलाकुसारी गरिरहेका थिए । तर यतिबेला उनी मानसिकरुपमा कृति सिर्जना त गर्दैछन्, तर ती सिर्जनालाई कागजमा उतार्न सकिरहेका छैनन् ।
पाँच वर्षको उमेरमा अक्षरारम्भ गरेदेखि जीवनको यो कालखण्डसम्म आइपुग्दा उनले अनेक आरोह अवरोह देखे । जसलाई शब्दमा बयान गर्न सायद सकिन्न । नेपाल भन्छन्, ‘म चार वर्षको हुँदाको एउटा घटनाको मलाई झिनो सम्झना छ । यसरी सम्झिँदा ९२ वर्षका कति घटना परिघटना होलान् । सबै बताएर साध्यै हुँदैन ।’ निश्चय पनि यो कठिन कार्य हो ।
यद्यपि उनी बताउँदै गए केही सन्दर्भ प्रसंगहरु । चार वर्षको हुँदा उनको नाइटो पाकेको थियो । त्यसबेला एक जना कम्पाउण्डरले आएर स्पीरिटमा आगो बालेर इन्जेक्सनको निडिल तताउँदै इन्जेक्सन दिएको उनी अहिले पनि सझिन्छन् । उनकी आमाले भनेकी थिइन्, त्यो नाइटोको घाउ आठ महिनासम्म थियो अरे ।
नेपाल सम्झिन्छन्, ‘त्यसबेला लाजिम्पाटमा ब्रिटिश दूतावास भित्र ब्रिटिश लिगेसन नामको सानो अस्पताल थियो । बेलायतीहरुले चलाएका थिए । राम्रो उपचार हुन्थ्यो त्यहाँ । डाक्टरहरु बंगाली थिए । मेरो उपचार पनि त्यहीँकै डाक्टर कम्पाउण्डरले गरेका हुन् ।’ उनका अनुसार भारत स्वतन्त्र भएपछि त्यो अस्पताल बन्द भयो । अस्पताल भएको क्षेत्र भारतीय दूतावासको भागमा परेकोले त्यो अस्पताल खारेज भएको उनको भनाइ छ । यद्यपि वीर अस्पतालको स्थापना त्यसबेलासम्म भइसकेको थियो ।
जीवनको लामो कालखण्डमा धेरै उतारचढाव देखिनु अस्वाभाविक होइन । मानिसको जीवनलाई उनी चेसको गोटीसँग, बाघचालका गोटीसँग तुलना गर्छन् । भन्छन्, ‘चेस र बाघचालमा केही गोटी अगाडि बढ्छन्, केही मर्छन् ।’
वसन्तकुमार शम्र्मा नेपालका पूर्वज तेह्र पुस्ता अघि नै काठमाडौं आए । ती बाजुराको सिन्जाबाट आएका थिए भन्ने उनले पनि सुनेका हुन् । तत्कालिन अवस्थामा लाजिम्पाटमा बस्दै आएका उनको परिवार ठूलो थियो । सबै आआफ्नो कर्ममा सक्रिय ।
उनका मातापिताका उनीभन्दा अघिका दुई छोरा असमयमै बितेका थिए । वसन्तपछिका दुई छोरा पनि असमयमै बिते । त्यसैले पनि उनका परिवारका सबैले उनलाई बोकेरै हिँडे । उनलाई भुइँमा ओरालेनन् । केही भइहाल्छ कि भन्ने डरले पनि यस्तो भएको थियो ।
विसं १९७९ साल चैत्र ३० मा जन्मिएका उनलाई पाँच वर्षको हुँदा अक्षरारम्भ गराइयो । अक्षरारम्भ गर्नु पनि सजिलो काम थिएन । त्यसका लागि उनलाई अघिल्लो दिन चोखो खाना खान लगाइयो । उनी हविशेक बसे । साँझमा दही चामल मात्रै उनलाई खुवाइयो ।
वि.सं. १९८४ साल, माघ महिना । भोलिपल्ट वसन्त पञ्चमीका दिन बिहानै नुहाइवरी तयार पारेर उनलाई होम गर्न नजिकैको सरस्वती मन्दिर लगियो । सरस्वतीको बीज मन्त्रको उच्चारणका साथ चार घण्टा उनी होममा बसे । त्यसपछि सात गेडा चामल खान दिइयो उनलाई । अनि कखरा लेख्न लगाइयो । त्यसपछि मात्रै उनलाई घर ल्याइयो ।
घर पुगेको केही समयपछि उनी अचेत भए । हाहाकार मच्चियो घरमा । के भयो कसो भयो भनेर । डाक्टर बोलाइयो । वैद्यहरु पनि आए । उपचार चल्यो । तर कसैको केही लागेन । अन्ततः दिउँसो दुई बजे उनी नरहेको डाक्टरले भने । उनलाई तुलसीको मठ अगाडि सुताइयो ।
अब अन्तेष्टि कसरी गर्ने भन्ने विवाद चुलियो । कोही व्रतवन्ध नभएकाले जलाउन हुँदैन भन्न थाले । कोही जलाउने कुरामा जोड दिन थाले । यो विवादले चार बजायो ।
शम्र्मा भन्दैथिए, ‘त्यो दिन म मरिसकेको थिएँ । तर संयोग कस्तो भने, त्यसैबेला स्वर्गद्वारीका एक शिद्धपुरुष स्वामीजी आफ्ना केही शिष्यहरुका साथ हामीकहाँ आउनु भयो । उहाँ मेरा पिताजीका गुरु पनि हुनुहुँदो रहेछ । उहाँले मलाई हेर्छु भन्नु भयो । एउटा जोगीलाई किन हेर्न दिने भन्ने पक्षमा परिवारका सदस्य उभिए । अन्ततः स्वामीजीले तिम्रो छोराको लाश दान देउ भनेर माग्नुभएछ । यो अवस्थामा कसैले नाई भन्न सकेनन् । अनि पिताजीले मलाई महासंकल्प गरेर जोगीलाई दान दिनुभयो ।’
वसन्तलाई दानमा प्राप्त गरेपछि स्वामीजीले आफूसँग भएका जडीबुटीहरु उनलाई खुवाएछन् । शिष्यहरुलाई भनेर चारैतिरबाट आगो बाल्न लगाएछन् । अनि उनको शरीरमा स्वामीजीका चेलाहरुले मालिस गर्न थालेछन् । यो क्रम रातभर चल्यो । बिहान पाँच बजे उनको बूढीआंैला चल्यो । त्यसको पाँच घण्टापछि उनको आँखा खुल्यो ।
उनी भन्छन्, ‘यसरी मरिसकेको म चौबीस घण्टापछि बाँचेर आएँ ।’
त्यस उप्रान्त उनको परिवारमा कसैको पनि अक्षरारम्भ गर्दा होम गरिएन ।
मातापिताका बाह्र सन्तानमध्येका एक उनी घरमा जोगी सरह नै रहन थाले । जोगीलाई दान दिइए पनि परिवारले उनलाई स्वामीसँगै जान दिएनन् । स्वामीले पनि यिनलाई खाने बस्ने व्यवस्था गरिदिनू भनेर हिँडे ।
घरमा पनि उनी जोगी जस्तै थिए । उनलाई जे गर्न पनि छुट थियो । फुक्काफाल भएर हिँड्थे उनी । यसरी फुक्काफाल भएर हिँड्दा उनी मनलाग्दी गर्दै हिँड्न थाले । रिसाउन पनि औधी रिसाउँथे उनी ।
एकदिन रिसकै झोंकमा उनले आफू बस्ने घरमै आगो लगाइदिए । घर जलेर खरानी भयो । यसरी उनले झोकैझोकमा दुई पटक घरमा आगो लगाइदिए भने एक पटक गोठमा आगो लगाइदिए ।
घरमा आगो लगाउने कारण उनले सुनाए । उनका भाइले तीन वर्षको उमेरमै एक पटक अर्काले लेखेको देखेरै ‘क’ लेखेछन् । र पिताजीलाई गएर देखाएछन् । पिताजीले स्यावास भन्दै एक मोहर बक्सिस दिएछन् । भाइ दंग परे । उनले आफूले मोहर पाएको सबैलाई सुनाउँदै हिँडे ।
यो थाहा पाएर वसन्त पनि पुगे पिताजीका अघिल्तिर । उनले पनि मोहर मागे । तर पिताजीले ‘तँ जोगीलाई किन चाहियो पैसा’ भन्दै हकारेछन् । त्यसपछि उनको रिसको पारो माथि
उक्लियोे । र गएर आफ्नो परिवार बस्ने घरमै आगो झोँसिदिए । तेस्रो पटक गोठमा आगो लाग्दा उनलाई मनपर्ने बाच्छीको फिला पोलिएर घाउ भयो । त्यहाँबाट उनमा एक किसिमको चेतना जागृत भयो, यसरी बदमासी गर्नहुन्न भन्ने ।
तिनताक स्वामीजी पनि काठमाडौं आएका थिए । घरको अवस्था देखेर स्वामीजीले वसन्तलाई सम्झाए, ‘तिमीले लेखपढ गर्नुपर्छ । ठूलो र असल मानिस बन्नुपर्छ । बदमासी गर्नु हुँदैन’ भनेर ।
यहीँबाट उनी फरक मोडमा मोडिए । यहाँबाट उनको जीवन दर्शन नै परिवर्तन भयो । उनी लेखपढमा रमाउन थाले । उनी तिक्ष्ण थिए, त्यसैले आठ वर्षको उमेरमा पढ्न सुरु गरेपनि उनले पढाईमा राम्रो गर्दैैगए ।
उनले बदमासी गरेपनि उनकी हजुरआमाले उनलाई अत्यन्त माया गर्थिन् । हजुरआमाले रामायण र महाभारत पाठ गरेको उनी सुनिरहन्थे । हजुरआमा सुनाउँथिन् भानुभक्तको रामायण वाचन गरेर, ‘एकदिन नारद सत्यलोक पुगिगया लोकको गरुँ हित भनी’ ।
उनले हजुरआमालाई श्लोकको एक एक शब्दको अर्थ सोधेछन् । हजु्रआमाले पनि झर्को नमानी नातीलाई श्लोकको अर्थ बताइन् । जब उनले यसको अर्थ बुझे, उनी दङ्ग परे ।
त्यसपछि उनले श्लोकमा भएको शब्द र परिवारका अन्य सदस्यहरुले बोल्ने शब्दको उच्चारणमा ध्यान दिन थाले । त्यहाँ शब्दहरुको उच्चारणमा तारतम्य नमिलेको जस्तो उनलाई लाग्यो । उनले फेरि हजुरआमालाई सोधे, ‘भानुभक्तले लेखेको गलत कि हामीले बोलेको गलत ?’
यहीँबाट वसन्तमा व्याकरण र भाषाप्रतिको रुची बढ्दै गयो । यतातिर उनको मोह चढ्दै गयो । पछि उनलाई लाग्यो, व्याकरण बिना कुनै पनि भाषा शुद्ध हुँदैन भन्ने । यसरी उनको आकर्षण भाषा साहित्य तर्फ चुलिँदै गयो ।
अन्ततः उनी बनारस पुगे पढ्नका लागि । बनारसबाटै उनले पढाई अगाडि बढाए । मध्यमा सिध्याए ।
मध्यमा गरेपछि उनी काठमाडौं फर्किएका थिए । तर यहाँबाट परिवारले जान दिएनन् । तर उनी पनि कम थिएनन् । सुरा थिए । आँटी थिए । त्यसैले उनी भागे, बनारसतिरै ।
उनी हाँस्दै भन्दैथिए, ‘मलाई लाग्थ्यो म एकैदिनमा अमलेखगञ्ज पुगौं । मेरो हिँडाइ पनि त्यहि पाराको थियो । तर भनेर कहाँ सकिन्छ र । तथापि म चित्लाङ, मार्खु, भिमफेदी, अमलेखगन्ज हुँदै बीरगन्ज पुगें । र रक्सौल हुँदै बनारस ।’
उनी यसरी एक्लै हिँड्दा कृष्ण पक्षमा कहिले हिँडेनन् । अझै पनि उनी आफूलाई पुरानो जमानाको मानिस मान्दछन् । भन्छन्, ‘सायद त्यसैले होला मलाई अँध्यारो, कालो, धुँवा र आवेग मन पर्दैन । म ज्यादा चर्को रंगको कपडा पनि लगाउँदिन ।’
कपडाको प्रसंग आउँदा उनले एउटा घटना बताए । एकपटक उनले झिल्केमिल्के कपडा किने । त्यो किनेर कमिज सुरुवाल सिलाए । त्यसमा तार पनि मिसिएको रहेछ । त्यो कपडा बेकार रहेको भोलिपल्ट त्यो लुगा धुँदा आधा सुकेर गएपछि मात्रै थाहा पाए । त्यसपछि उनले कुनै सामान आजसम्म किनेका छैनन् । उनी भन्छन्, ‘मैले मेरो जीवनमा किनेको पहिलो र अन्तिम लत्ताकपडा नै त्यही हो ।’
यसलाई पनि उनी आफ्नो जीवनमा घटेको एउटा दुर्घटना नै मान्छन् । त्यो कपडाको रोगन राम्रो थियो । तर भित्री रुपमा त्यो राम्रो थिएन । त्यस कपडाको सही विवेचना उनले गर्नसकेका थिएनन् ।
योसँगै उनले जोडे, ‘साहित्यमा पनि राम्रो नराम्रो पक्षका बारेमा गहिरो विवेचना हुनुपर्छ । यसका लागि व्याकरणको गहिरो ज्ञान आवश्यक छ भन्ने मलाई लाग्छ । जसरी मैले राम्रो कपडा चिन्न र किन्न सकिन, त्यसरी नै मानिसले नचिनेर केही पनि गर्न सक्दैनन् । ‘सुर’ शब्दलाई हेर्नुस्, सुर भनेको होस पनि हुन्छ, देवता पनि हुन्छ र ताल पनि हुन्छ । यसलाई ठिक्क ठाउँमा ठिक्क तरिकाले मिलाउने भनेको त व्याकरणकै मद्दतले त हो नी ।’
अर्थात शब्दहरुको धेरै अर्थ लाग्न सक्ने उनको तर्क छ । शब्दलाई ब्रह्म मान्छन् उनी । त्यसैले जसले पनि शब्दको प्रयोग राम्ररी गर्न सक्नुपर्ने उनको भनाइ छ ।
यस्ता सानासाना घटनाहरुबाट उनले सिक्दै गए । सानासाना विषयहरुको गहिराई खोज्दै हिँडे । साथै उनको लागेको बानी फुक्काफाल यात्रा अनवरत थियो । यसले उनलाई रैजनाको निकट पुर्यायो । राणा खलकहरुको नजिक पनि यिनी पुगे । विजय शमशेरसित यिनको राम्रो सम्बन्ध रह्यो । त्यसैले उनलाई पढ्नलाई विजयले पनि हौस्याउँदै गए । यसरी उनले पाँचवटा विषयमा ग्य्राजुएसन गरे । चार वटामा पोष्ट ग्य्राजुएसन गरे ।
राजनीति शास्त्र लिएर पढेका थिए उनले । एक पटक काठमाडौंमा राजनीतिशास्त्रको केही किताब बनारसबाट मगाए । यी किताब आउन त आउने तर जहिले जफत हुने । त्यसैले एक पटक उनले बीरगंजबाट आउने भान्टाको टोकरीको मुनी किताब र माथी भन्टा हालेर किताब घर भित्र्याएका थिए ।
यसरी अनेक गरेरै उनी पढ्दै गए । र आफूले जानेको कुरा पढाउँदै पनि गए । हेर्ने हो भने उनको जीवनका कैयन वर्ष अध्यापनमा बितेको छ । उनी चावेलस्थित पशुपति क्याम्पसका संस्थापक प्रिन्सिपल पनि हुन् ।
विजय शमशेरको कुरो उठाउँदै उनले सम्झिए ती दिन, ‘मलाई राणाजीहरुले गीत गाउन र नाच्न भन्थे । म नाचिदिन्थें । गाइदिन्थे । ती मनोरञ्जन लिएर रमाउँथे र मलाई पैसा दिन्थे, दस रुपैयाँसम्म । त्यसले मेरो पढाइ खर्च प्रशस्त पुग्दथ्यो । बेलाबखतमा विजय शमशेरले पनि पैसा दिन्थे । उनी र म फुटवल खेल्ने साथी थियौं ।’
उनका अनुसार त्यसबेला नेपाली ७३ रुपैयाँमा भारु एक सय रुपैयाँ आउँथ्यो । एक तोला सुनको दाम पचास रुपैयाँ थियो । दोस्रो पटक भागेर बनारस गएपछि उनी टन्नै उतै बसे । यहाँ राणाजीहरुले दिएको गिन्नी र असर्फीले उनको पढाई र बसाई खर्च टरेको थियो ।
उनी भन्छन्, ‘म एकचोटी नाचेरै दस रुपैयाँ कमाउँथे । जबकी सरकारी अधिकारीको तलब त्यसबेला दस रुपैयाँ थिएन ।’ एघार वर्षसम्म बनारस बसेर काठमाडौं फर्किएपछि उनले केही मानिसहरुलाई पढाउन सुरु गरे, २००३ सालतिर । त्यसबेला अठार जना पढ्थे उनीसित । त्यस बाहेक राणाजीको दरबारमा गएर बिहान पाठ पनि गर्थे । त्यो उनको जागिर थियो ।
त्यतिबेला पद्म शमशेरका हजुरिया थिए, विजय शमशेर । त्यसबेला स्कूल स्थापनाका लागि शिक्षा डाइरेक्टरले अनुमति दिनुपर्दथ्यो । विजयसँगको निकटताका कारण केही व्यक्तिले उनलाई पद्मोदय स्कूलको अनुमति दिलाउन पहल गरिदिन आग्रह गरे । उनले पद्मोदय स्कूल स्थापनाका लागि विजय शमशेरसित कुरा गरे ।
विजयले उनलाई अठार जना पढाइरहेको ठाउँमै स्कुल खोल्न सुझाए । यसरी उनले महाराजगन्जमा आदर्श स्कुलको संचालन अनुमति लिएर स्कुल स्थापना गरिदिए । तर पद्मोदयको स्थापनामा पनि उनले जोड दिए । त्यसको केही महिना पछिमात्रै पद्मोदय स्कुल स्थापनाको अनुमति मिल्यो । र वसन्त शम्र्मा नेपालले पद्मोदयमा पनि पढाउन थाले ।
२००४ सालमा उनी नेपाली भाषा प्रकाशिनी समितिसँग पनि जोडिए । नेपाली भाषा साहित्यका लागि शब्दकोषको उत्पादन अति आवश्यक थियो । त्यसैले समितिले शब्दकोषको काम गर्दैगयो ।
जब शब्दकोषको काम सकियो, यो छाप्ने कामका लागि साझाको स्थापना गरियो । अन्य कार्यका लागि प्रज्ञा प्रतिष्ठानको स्थापना गरियो । त्यसबेला उनलाई कहाँ जाने हो, ठाउँ खोज, पठाउँछु भनेछन्, सरोकारवालाहरुले । उनी पनि झोक्की स्वभावका । उनले सिधै तिम्रो जागिर खान्न भनिदिए ।
उनी भन्दैथिए, ‘त्यतिबेला हाम्रो दिनरातको मिहिनेतको अवमूल्यन भएको मैले ठाने । त्यसैले म जागिर खान गइन । मैले म भिख मागेर जागिर खान्न भनिदिएँ ।’ त्यो शब्दकोषको काम गर्दा प्रकाशिनी समितिको २९ वटा दराजमा महत्वपूर्ण किताब र पाण्डुलिपिहरु थिए । ती सबै बाँडचुँड गरिए । अहिले त्यो दस्तावेजहरु छ छैन्, भन्न सक्दैनन् उनी ।
वि.सं. २००४ सालदेखि ०११ सालसम्म उनले समितिमा रहेर काम गरे । त्यसबेला शम्र्माका साथै बद्रीनाथ भट्टराई, गोपालप्रसाद रिमाल, ऋषभदेव शास्त्री, रामहरि अर्याल, हरिश चन्द, राम चन्द, भिमनिधि तिवारी, शिव चन्द, युवनाथ, कृष्णबहादुर जस्ता विद्वान व्यक्तित्व त्यहाँ कार्यरत थिए । त्यहाँका किताबहरु र पाण्डुलिपिको सुरक्षाका लागि किरा मार्ने औषधि स्प्रे गर्थे उनीहरु । त्यसका लागि उनीहरु आफै पैसा खर्च गर्दथे । तर त्यो तिनले माया गरेर राखेको दस्तावेज कहाँ छ, उनलाई थाहा छैन ।
पछि शब्दकोष प्रकाशित भयो । प्रयोगमा आयो । प्रकाशिनी समिति छोडेपछि उनी फेरि पठनपाठनमै फर्किएका थिए । त्यसैबेला उनलाई लाग्यो, एउटा वृहत् शब्दकोषको आवश्यकता अहिले पनि छ ।
त्यसपछि उनी हरेक वर्ष दुई तीन महिना नेपालका गाउँ गाउँ घुम्न थाले । २०१३ सालमा उनले सुरु गरेको शब्द खोजीको अभियानले लामो समय लियो । यसै क्रममा उनले मुलुकको ४ हजार २ सय ३८ वटा गाउँ घुमे । ती गाउँमा पुगेर उनले शब्द, भाषा र संस्कृतिको खोजी गरे । यसरी उनी २८ वर्ष घुमे र खोजी गरे शब्दशब्दको । शब्द खोजीका लागि यायावर जस्तै हिँडे उनी ।
एकपटक उनी काठमाडौंबाट गजुरी पुगे एकैदिनमा । यो १९ कोष जमिन हिँड्न कति सकस भयो होला, भन्न सकिन्न । घुम्ने क्रममा कहिलेकाही उनले योगी नरहरीनाथसँग पनि भेटे । नरहरीनाथ आफ्नो खोजमा हिँडेका थिए, उनी आफ्नो खोजमा । तर यो भेटले उनलाई शब्द खोज्न र गाउँ गाउँ घुम्न शक्ति मिलेकै थियो ।
यसरी दौड लगाएर, कुरा गरेर भाषाको खोजी गर्दै गए उनी । शब्द खोज्न अनेक जुुक्ति पनि लगाए । यसरी शब्दको भाषाको खोजी गर्दै जाँदा अनेक दुःख पनि पाए । तर दुःख पाए पनि शब्द खोज्नु उनको अभिष्ट थियो ।
उनले शब्दको खोजीमा २८ वर्ष बिताए । र, २०४४ सालदेखि सबै काम छोडेर उनी एकै थलोमा बसे, र लेख्नथाले शब्दसागर । उनी भन्छन्, ‘लगभग १३ वर्ष दुई महिना एकै थलोमा बसेर मैले नेपाली शब्दसागर तयार गरेँ । जसमा १ लाख ४३ हजार ७ सय ७८ शब्द छन् । जुन २०५७ सालमा प्रकाशित भयो ।’
नेपाली शब्दसागर प्रकाशनमा आइसकेपछि विवादमा पनि पर्यो । उनी गलत प्रवृत्ति भएकाहरुले यस किसिमको विवाद गर्दै आएको बताउँछन् । उनी सगर्व भन्छन्, ‘मेरो काम भाषाको सेवा गर्नु हो । मैले भाषाको सेवा गरेको हुँ ।’ चलनचल्तीको भाषा र व्याकरणलाई नै विकृत बनाउने, तोडमोड गर्नेहरुबाट अरु केही आशा गर्न नसकिने उनको भनाइ छ ।
शब्दसागरको काम सक्याएपछि उनी महाभारतलाई नेपालीमा लेख्ने काममा लागे । छ वर्षको समय उनको यसैमा बित्यो । त्यसपछि पनि उनले लेख्दै गए । छाप्दै गए ।
आज उनको ८२ वटा किताब प्रकाशित भइसकेको छ । र, ९९ वटा पाण्डुलिपि प्रकाशन कुरेर बसेको छ ।
नेपाली भाषा साहित्यका यी धरोहर शम्र्मा भन्छन्, ‘केही वर्षअघि आँखा कमजोर भएपछि चिकित्सक कहाँ जँचाउन जाँदा मलाई डाक्टरले भने– तीन सय चौसठी वर्षको मानिसले हेरेबराबर तिम्रो आँखाले हेरेको छ ।’
यति भन्दै उनी हाँसे । उनको मुहारमा एककिसिमको चमक थियो । उनी आफूले नेपाली भाषा साहित्यको सेवा गर्न पाएकोमा दङ्ग देखिन्थे ।