site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोदीको स्वागत

केहीबेर पहिले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको राजकीय तीर्थयात्रामा जनकपुर ओर्लेका छन् । उनको नेपाल प्रवेश जनकपुरबाट हुँदैछ । जनकपुरमा आज प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन हुँदैछ । मोदीले जानकी मन्दिरमा पूजा गर्ने र उनका नेपाली आतिथेय प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गर्ने कार्यक्रम सार्वजनिक भएको छ । साथै प्रधानमन्त्री द्वयले ‘रामायण सर्किट‘ को पनि उद्घाटन गर्नेछन् । 

त्यसपछि काठमाडौं र मुक्तिनाथमा उनको भेटघाट र भ्रमण हुनेछ । केके हुनेछ देखिने नै छ । यी पंक्तिहरू लेख्दै गरेका बेलामा म भारतीय पत्रकार रविशकुमारको टेलिभिजन कार्यक्रम ‘प्राइमटाइम‘ युटुबमा हेर्दै पनि छु । भारतको कर्णाटक राज्यमा दिएको भाषणमा प्रधानमन्त्री मोदीले बोलेका कुराहरूको चिरफार गरिरहेका छन् । उत्तेजक भाषण गर्न सिपालु नरन्द्र मोदी अहिले भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको निन्दामा बढी नै मुखर हुनेगर्छन् । रविशकुमारले उतिबेलाका पत्रिकाहरू र इतिहासकारलाई प्रस्तुत गरेर मोदीलाई फटाहा सिद्ध गरिदिए । 

नेपालमा मोदीको विरोधमा सामाजिक सञ्जालमा विरोधको चर्कै अभियान चलेको छ । विशेषगरी पछिल्लो नाकाबन्दीका कारण मोदीप्रति नोपलीहरूको गुनासो छ । यही क्रममा केहीले मोदीको पक्षमा घुमाउरो शैलीमा पुराना नाकाबन्दीहरूको उल्लेख गरेका छन् । मोदी र पुराना प्रधानमन्त्रीहरू खासै फरक थिएनन् भनेका छन् । यस्तै, मोदी जनकपुर भएर नेपाल आउनुको औचित्य सिद्ध गर्न बीपी कोइराला पटना भएर भारत भ्रमणमा गएको उदाहरण दिएकाछन् । 

यी दुवैमा अन्तर छ । पहिलेका ३ वटै नाकाबन्दीमा भारतले सामान वा पारवहनको अधिकार नदिएको हो तर बाटो नै थुनेको थिएन । यद्यपि, भूपरिवेष्ठित मुलुकको अधिकार पहिले पनि कुण्ठित भएको थियो । पहिलो नाकाबन्दी बारे थाहा भएन तर पछिल्ला २ नाकाबन्दी पारवहन सम्झौताको म्याद सकिएपछि नवीकरण नहुन्जेल गरिएको थियो । मोदीका पालामा भएको नाकाबन्दीका बेला पारवहन सम्झौता कायमै थियो । अर्थात्, सोझै थिचोमिचो गरिएको थियो । यसैले पहिलेका भन्दा बढी डरलाग्दो र अन्यायपूर्ण थियो । 

अरू भारतीय प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालविरुद्ध अभियान चलाएका थिएनन् । मोदीले राष्ट्रसंघ, युरोपेली युनियन र बेलायतमा नेपालविरुद्ध संयुक्त मोर्चा बनाए । नेपालको संविधानप्रति भ्रम फैलाए । 

बीपीका लागि पटना कर्मभूमि पनि हो । उनी नेपाल फर्कँदा पनि पटनाबाटै फर्केका थिए । उनको बाल्यकाल र युवा अवस्था विहारमै बितेको हो । यसैले बीपीको पटनाप्रति भावनात्मक लगाव हुनु स्वाभाविक हो । मोदीबाहेक अरू कोही जनकपुर गएको भए खासै ध्यान पनि जाने थिएन । विभाजन र घृणाको राजनीति गर्न खप्पिस नरेन्द्र मोदीको जनकपुरसँग त्यस्तो भावनात्मक सम्बन्ध भएको थाहा छैन । यसैले तराईवासी नेपालीमाथि हैन नरेन्द्र मोदीमाथि प्रकट भएको अविश्वास हो । 
आशा गरौँ, मोदी यहाँ कर्णाटकको मत बढाउने दाउमा नेपाली समाजमा विभाजन बढाउने कुनै कुरा गर्नेछैनन् । 
मन नलागे पनि नेपालीहरू अशिष्ट छैनन् ।   
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०७५  ११:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro