site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकार कि ‘भर्जिन’ पत्रकार !
मेरो नजिकको नातेदारको एउटा पौडी पोखरी छ । काठमाडौंको गर्मीमा आजकाल बच्चाहरू पौडी खेल्न जान रहर गर्छन् । पत्रकारका बच्चाले त झन् रहर गर्ने नै भए । किनभने बाउले सबैलाई चिनेको गफ बारम्बार दिएको हुन्छ, सित्तैमा सबैथोक गराइदिनसक्छु भनिरहेको हुन्छ । तर, हरेकपल्ट कुनै पत्रकार त्यो पौडी पोखरीमा पुग्दा मेरो इज्जतमाथि त्यो पौडी पोखरीको सबै पानी खन्याइदिएको भान हुन्छ । 
'दाइ हजुरको स्विमिंग पुलको मैले राम्रो लेखिदिएँ नि' भन्दै कुनै पत्रकार त्यहाँ पुग्छ र एकपल्ट स्विमिंग पुलमा सित्तैमा हाम फालेर ठूलो पराक्रम गरेँ भन्ने ठान्छ । अर्को पत्रकार फोनबाटै भन्छ, “दाइ, मैले छोराछोरी पठाइदिएको छु, यसो पौडी खेल्न दिनुपर्यो ।” मानौं, नेपाली पत्रकार सब थोत्रा ट्वाक बोकेर हिंड्ने माग्ने हुन् । तिनलाई पत्रकार भएका कारण सबैथोक सित्तैमा चाहिएको छ । अझ कोही त छ महिनाको पासै बनाई माग्न पनि केत्ति धक मान्दैनन् । बरु गुन्डा केटा सित्तैमा आएर केही माग्न एक्लै आउने आँट गर्दैनन्, दुई चार जना बोकेर आउँछन् । तर, पत्रकार त अधिकारपूर्ण रूपमा एक्लै आएर माग्नसक्छ । कस्तो अचम्म !
ठूलै मिडियाका कपाल पनि रंगीन र समाचार पनि रंगीन लेख्ने पत्रकार पनि पुग्छन् मेरो इज्जतमा पानी खन्याउन त्यस पुलमा । लाजै नमानी आफू र आफ्ना सन्तानलाई सित्तै खेलाउन अनुरोध गर्छन् । त्यस्ताको बच्चाका लागि नैतिकता, इमानदारीको मानक के हुने ? तिनका बच्चा ठूलो भएर के सिक्ने ? मेरा नातेदारले मलाई के भनेर चिन्ने ?
तर, धन्न सबै पत्रकार त्यस्ता छैनन् ।  
कहिलेकाहीँ एक अग्लो कदको मित्र छोरी लिएर पुग्छ, खुरुखुरु पैसा तिर्छ र स्विमिंग गर्छ । ऊ धनी पत्रकार पनि हैन र अहिले उसको खासै आम्दानीको कुनै स्रोत पनि छैन । तर कहिल्यै उसको एक कल आउँदैन न त मलाई न मेरो नातेदारलाई कुनै कुरामा छुट चाहियो भनेर । उसलाई सित्तैमा कसैको कुनै सेवा लिनै आउँदैन । त्यस्तो बेलामा त्यो पोखरीको पानी पूरै स्वच्छ बनाइदिएजस्तो लाग्छ । 
के पत्रकारिता सबैथोक सित्तैमा उपभोग गर्ने पेसा हो ? 
सिनेमा सित्तैमा हेर्ने, पार्क सित्तैमा छिर्ने, केबल कारमा सित्तैमा झुन्डिने अनि गाडी, मोटरसाइकल पार्किङ सित्तैमा गर्ने । मानौं सबै व्यवसायी, व्यापारीका तिनीहरू ज्वाइँचेला हुन् । कहिलेकाहीँ कसैले आफ्नो वस्तु वा सेवाको पत्रिकामार्फत विज्ञापन गर्न चाहे भने ठीक छ- उसको सेवा उपभोग गरेर समाचार लेखिदिनु । हुन त, यस्तो सेवा पनि सकभर पत्रिकाले पैसा तिरेर उपभोग गर्न सकेको खण्डमा राम्रो र नराम्रो दुवै लेख्न सकिन्छ भन्ने पत्रकारिताको आचारसंहिताले भन्छ । तर, नेपालको पत्रकारिता त्यो तहमा पुग्न सकेको छैन । त्यसैले अहिलेसम्म प्रचार चाहिनेको सेवा एकपल्ट सित्तैमा लिनु स्वाभाविकै होला । तर, सधैं सबैथोक सित्तैमा ? त्यसको एउटा हद त हुन्छ नि ! 
एकपल्ट एकजना मित्रले 'सिनेमाको पास छ, हलको काउन्टरमा गएर प्राप्त गर्न सक्नुहुनेछ, कृपया जानुस्' भनेर अनुरोध गरे । श्रीमतीसहित आफैँ गइयो सिनेमा हेर्न सित्तैमा । सिनेमा हलमा पुगेर पत्रकार हुँ भनेपछि बल्ल सो पास पाइयो, हेरुन्जेल उही स्विमिंग पुलमा पुगेका मेरा पेसाका साथीहरूभन्दा राम्रो महसुस गरिएन । हुन त, कतिपय सिनेमा हल वा कतिपय पसलको उद्घाटनमा गइएको छ र तिनको सेवा सित्तैमा उपभोग पनि गरिएको छ । तर, आफूलाई मन लागेको बेला गएर सित्तैमा हेर्नु र त्यसबापत केही नलेख्नु वा केही नदेखाउनु चाहिँं एक प्रकारको लुट हो, 'ब्ल्याकमेलिङ' हो । त्यस कर्ममा चाही-नचाही कतिपल्ट म परेको छु, एकदम चोखो हुँ भनेर यो लेख लेखेको पनि हैन ।
आफ्नो पेसाको यस्तो कुरा लेख्न नहुने हो । पत्रकारलाई अरूले कसरी हेर्छन् भन्ने थाहा नहुन्जेल किन बेइज्जत गर्नु भन्ने सोच आउँथ्यो पनि होला । तर, सबैलाई थाहा छ यस पेसाका व्यक्ति कति नांगिएका छौं भनेर । कसैले नभन्दैमा नाकमा लागेको कालो सबैले नदेखेको ठहर्ने हो र ? 
अचेल कहीँं कतै कसैले बोलाएको ठूलो ठाउँमा जान पनि लाज लाग्न थालेको छ । किनभने सबैलाई पत्रकार भनेको सबैथोक सित्तैमा चाहिने र उसको विरोध कसैले गरे भोलिपल्ट (अहिले अनलाइनको जमानामा त तुरुन्तै एकै घन्टामा) सत्तोसराप गर्ने अजिबको प्राणी हो भन्ने परेको छ । जनतालाई थाहा नै भइसक्यो हामी को हौँं भनेर भने अब सकारौं । 
अब पत्रकार भनेरमात्र परिचय नपुग्ने भएछ । केही दिनअघि समाजका स्थापित दुई जनासँग फरक-फरक दिन डिनर खान गएँ । दुवैको एक-अर्कासँग कुनै कुरा भएको पनि होइनजस्तो लाग्छ । तर दुवैले मलाई एउटै तरिकाले परिचय गराए, “उहाँ पत्रकार, नाम चलेको पत्रकार । तर, तपाईंले सोचेजस्तो होइन है, एकदमै इमानदार पत्रकार ।” मानौं उहाँ चोर बात लागेको मान्छे हो तर साँच्चिकै चोर हैन है भनेजस्तो । वा, उहाँ पेसेवर यौनकर्मी हो तर अझै भर्जिन नै हुनुहुन्छ भनेझैँ । कति लजाउनु ? कहाँ लुकाउनु यो अनुहार ?
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७३  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro