चितवन । चितवनको समग्र शैक्षिक तथा सामाजिक क्षेत्रमा एक अनुकरणीय व्यक्तित्वको नाम हो– ८५ वर्षीया निरकला शर्मा । उनलाई धेरैजसोले ‘निरकला सिस्टर’का रुपमा चिन्छन् भने चितवनकी ‘मदर टेरेसा’का रुपमा सम्मान प्रकट गर्छन् ।
मैनवत्तीले आफूलाई सिध्याएर अरुलाई प्रकाश दिएजस्तै आफू अशक्त रहँदारहँदै पनि हिम्मत नहारिकन सयौँ चेलाचेलीलाई शिक्षाको ज्याति बाँड्ने विद्यार्की प्रतिमूर्ति हुन् निरकला । उनी चितवनकी पहिलो अंग्रेजी शिक्षिका हुन् । नेपालका विभिन्न क्षेत्रमा ‘चम्किएका तारा’ उत्पादन गर्ने गुरुआमा हुन् । अहोरात्र परोपकार र मानवसेवाका लागि चिन्तन गर्ने एक सामाजिक अभियन्ता हुन् ।
तनहुँबाट झापाको भद्रपुर र अध्यापनका सिलसिलामा दार्जिलिङको ओबाइकीमा रहँदा शिक्षक पिता जगधर र आमा गायत्री शर्माबाट १९९० पौष २८ गते जन्मिएकी निरकला संभ्रान्त परिवारकी भए पनि उनको जीवन अभाव र पीडामै बित्यो । त्यतिबेलै मन्टेश्वरी शिक्षा अध्ययन गर्ने अवसर पाएकी निरकला १० वर्षको उमेरमै हड्डीसम्बन्धी रोगको आक्रमणबाट थला परिन् । पढाइमा तेज भए पनि शारीरिक कारणले अवरुद्ध भएपछि हजुरबुवाको संगतले उनी गीताको स्वाध्ययन गर्न थालिन् ।
उनी भन्छिन्, “गीतामा मेरो अति नै प्रेम छ । गीताको अध्ययनले नै मलाई शक्ति प्रदान गरेको हो । जीवनमा जो कसैले पनि एकपटक गीता अध्ययन गर्नैपर्छ । गीताको पुस्तक सधैँ सिरानीमै रहन्छ ।”
अशक्त भएर ओछ्यान पर्दा उनकी आमा गायत्रीले उनको उपचारमा कुनै कसर बाँकी राखिनन् । उनी १३ वर्षको हुँदा उनका भाइ स्कुलबाट फर्किंदा रेलमा परेर बिते । एकातिर छोरीको अवस्था र अर्कोतिर छोरा गुमेको शोकले गायत्री गाडीको आवाज आउँदा पनि बेहोस हुने भएपछि निरकलाको परिवारले खर्साङको घरजग्गा बेचेर झापा आए । तत्कालीन समयमा पद्मशमशेरले झापामा हाइस्कुल खोलेका थिए । उनका बुवा पहिलो नेपाली शिक्षक भए ।
खर्साङबाट झापा स्थानान्तरण भए पनि शर्मा परिवारमा पीडा थपिन छाडेन । निरकलाका १९ वर्षीय दाजु मिलमा काम गर्दा ज्वरोले थलिएर बिते । शिक्षक क्वाटरमा रहँदा दार्जिलिङको सेन्ट मेरिट हस्पिटलमा उपचारपश्चात् निरकला तगारो समातेर पाइला सार्न थालिन । पाँच महिनाको तीर्थयात्रापछि पढेर आत्मनिर्भर बन्नुपर्छ भन्ने ऊर्जा थपियो । चार कक्षामा अवरुद्ध भएको पढाइ उनले आठ वर्षपछि तीन महिनाको स्वाध्ययनपश्चात् नौ कक्षामा भर्ना भएर निरन्तरता दिइन् ।
उनी २०२० मा एसएलसी परीक्षा दिन धरान आउँदा उनकी आमा सिकिस्त बिरामी थिइन् । परीक्षा सकिएर फर्किंदा आमा बितेको नौ दिन भइसकेको थियो । त्यस घटना सम्झँदै उनी भन्छिन्, “एसएलसी दिएर फर्किंदा आमालाई सुहाउँछ भनेर पोते र चप्पल ल्याइदिएको थिएँ, आफूलाई भगिरथ प्रयास गरेर पुनर्जन्म दिलाउने आमालाई अन्तिम समयमा देख्न पाइनँ । ”
त्यसपछि उनलाई तत्कालीन महिला संघकी जिल्ला सभापति ‘मेचीआमा’ भनेर चिनिने दिलकुमारी श्रेष्ठले आमाको रुपमा स्वास्थ्य र शिक्षाका लागि जिम्मा लिइन् । मेचीआमाकै पहलमा प्रिन्सेप शाह (राजा महेन्द्रकी बुहारी), विमला मास्के र कमल राणा (जुद्धशमशेरकी बुहारी) को सहयोगमा उनी कीर्तिपुर क्याम्पसको छात्राबासमा रहेर शिक्षाशास्त्रमा स्नातक गरिन् । क्याम्पसका प्राध्यापक, साथीहरु र मेचीआमाकै पहलमा शान्त भवन मिसन अस्पतालमा युकेबाट आएका डा मार्टिनले ठूलो पर्यत्नबाट उनको खुट्टाको शल्यक्रिया सम्पन्न गरिदिए । पाँच महिनाको अस्पताल बसाइपश्चात् उनी त्रिविबाट उपाधिसहित झापा फर्किइन् ।
आफैँले संघर्ष गरी शैक्षिक सफलता गरेर झापा आउँदा उनलाई ठेस लाग्नेगरी कान्छीआमाले वचन लगाएपछि २०२५ सालमा चितवन आएकी निरकला नेपाल मावि रत्ननगरमा मावि शिक्षिकामा नियुक्त भइन् । निरन्तर २४ वर्षसम्म अंग्रेजी, अर्थशास्त्र र इतिहास पढाइन् । ०४९ सालमा सेवा निवृत्त भएपछि उनी राधाकृष्ण मन्दिरको संस्थापक भएर अशक्त, अपाङ्ग र बेसहारा वृद्धको कल्याणमा लागिन् ।
आजीवन वृद्धवृद्धाको कल्याण गर्ने उद्देश्यले उनकै अध्यक्षतामा २०५९ सालमा असहाय वृद्ध कल्याण समाज स्थापना गरिन् । रत्ननगर–१२ स्थित अमिलियामा ६ कठ्ठा जग्गा खरिद गरिन् । तर, पास खर्च जुटाउन उनले रिक्सा चढेर घरघरमा पुगेर सहयोग मागिन् । अब भवन बनाउने चुनौती थपियो । त्यसबेला आपत् सम्झँदै उनी भन्छिन्, “एकपैसा थिएन । पास खर्च पनि सहयोग मागेरै गरेको हो । यस भवनको जग खन्दा पनि पैसा नभएर उधारोमै खनाएकी हुँ ।”
विभिन्न दाताको सहयोगबाट संस्थाको आफ्नै भवन बन्यो । सत्संग भवन निर्माणका लागि पदमनारायण धर्मकुमारी मल्ल प्रतिष्ठानले ९ लाख ९० हजार रुपैयाँ, निरकलाले ६ लाख ८१ हजार रुपैयाँ र रत्ननगर नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरे । यस्तै, धान्याचल महायज्ञबाट १ करोड ८७ लाख रुपैयाँ संकलन गरी वृद्धवृद्धाको लागि आवास निर्माण भयो । जसमा सात वृद्ध र तीन वृद्धाले सम्मानजनक जीवन बिताइरहेका छन् । आगामी दिनमा महिला आवास निर्माण गर्ने योजना निरकलाले लिएकी छन् ।
१५ वर्ष संस्थाको नेतृत्व प्रदान गरेकी निरकला आफू संरक्षक रहेर स्थानीय समाजसेवी तिलकराज शर्मालाई अध्यक्षको जिम्मेवारी दिएकी छन् । शर्मा रत्ननगर २ का वडाध्यक्ष हुन् । निरकलाले दुःख गरेर पढाएको रकम जम्मा गरेर बनाएको घरसमेत बिक्री गरेर वृद्धवृद्धाको कल्याणमा समर्पित भएकी छन् ।
उनले विसं २०७० सालमा आमाको स्मृतिमा ‘गायत्री शर्मा अशक्त मानवसेवा ट्रष्ट’समेत स्थापना गरेकी छन् । गायत्रीको पुण्य स्मृतिमा संस्थामा रहने वृद्धवृद्धालाई खाद्य सामग्रीलगायतमा सहयोग पुगोस् भनेर उनको निजी कमाईबाट स्थापित अक्षयकोषमा पन्ध्र लाख रुपैयाँ जम्मा भएको छ ।
उनले पढाएका चेलाचेलीहरु एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने, मेयर नारायण वन, प्राध्यापक रामबाबु घिमिरे, साहित्यकार धनराज गिरी, डा ढुण्डीराज पौडेल, डा कृष्णप्रसाद पौडेल, डा विजयराज न्यौपानेलगायत विभिन्न पेसा व्यवसायमा स्थापित भएका छन् । उनी भन्छिन्, “पहिले संस्था चलाउन समस्या थियो । अब दर्जनौँ वृद्धवृद्धा राखे पनि सहयोगी हात बढ्ने विश्वास लिएको छु ।”
जीवनको उत्तराद्र्धमा पनि उनको साहस र आँट उस्तै छ । मानिस अशक्त, अपाङ्ग र वृद्ध हुँदैमा सहाराविहीन हुँदैन भन्ने दृष्टान्त निरकलाले प्रमाणित गरेकी छन् । चार सय रुपैयाँ तलबबाट पढाउन सुरु गरेर ७ हजार ५०० तलब हुँदा अवकास पाएकी निरकलाले अहिले २० हजार रुपैयाँ पेन्सिन थाप्छिन् । भन्छिन्, ‘औषधि खाएर बचेको पेन्सन ट्रष्टमै जम्मा गर्ने गरेकी छु । ट्रष्टमा ५० लाख रुपैयाँ जम्मा गर्ने लक्ष्य राखेकी छु ।”