site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विकास खर्च न्यून, ठूला आयोजनाको प्रगति पनि निराशाजनक

धनगढी । सरकारले चालु आर्थिक वर्ष २०७४–०७५ को बजेट ल्याएको साढे ८ महिना र आर्थिक वर्ष सुरु भएको सात महिना बितिसक्दा समेत कैलालीमा विकास बजेट खर्चको अवस्था भने नाजुक देखिएको छ । जेठ १५ मै बजेट ल्याएको सरकारले अख्तियारी पनि समयमै दिएको थियो । तर, कैलाली जिल्लामा अहिलेसम्म ३२ प्रतिशतमात्रै विकास बजेट खर्च भएको छ । मंसिर मसान्तसम्म १८ प्रतिशत विकास बजेट खर्च गरेका कैलालीका विकासे अड्डाहरुले पछिल्लो झण्डै २ महिनामा १४ प्रतिशत बजेट खर्च गरेका छन् । राष्ट्रिय गौरवका आयोजनाहरु हुलाकी र राजी जमराबाहेक अन्य ठूला आयोजनाहरुको प्रगति पनि निकै निराशाजनक देखिएको छ ।

५ अर्ब ६९ करोड ३८ लाख विकास बजेट खर्चको अख्तियारी पाएका कैलाली जिल्लाका कार्यालयहरुले आर्थिक वर्षको सात महिना बितिसक्दा समेत एक तिहाई बजेट पनि खर्च गर्न सकेका छैनन् । माघ महिना बित्नै लाग्दा समेत जिल्लामा १ अर्ब ८३ करोड अर्थात् कुल विकास बजेटको ३२ प्रतिशतमात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका कोष नियन्त्रणक मदनराज पाण्डेयले बताए । “अख्तियारी आएको बजेटको एक तिहाई रकममात्रै कार्यालयहरुले निकासा लगेका छन्,” उनले भने, “दुई तिहाईभन्दा बढी बजेट कोलेनिकाकै खातामा रहेको छ ।”
कैलालीमा राष्ट्रिय गौरवका दुई आयोजना हुुलाकी राजमार्ग र रानीजमरा सिँचाइ आयोजनाको प्रगति भने राम्रो देखिएको छ । तर, मंसिर मसान्तपछि भने दुवै योजनाको प्रगति पनि लगभग रोकिएको छ । १ अर्ब ९२ करोडको अख्तियारी पाएको रानीजमरा आयोजनाले पनि झण्डै ३८ प्रतिशत अर्थात् ७४ करोड खर्च गरेको छ । तर अर्को गौरवको हुलाकी राजमार्ग आयोजनाको भने मंसिर मसान्तदेखि काम नै रोकिएको छ । अख्तियारी आएको १७ करोड ७१ लाख खर्च भएपछि आयोजनाले थप ७० करोड माग गरेको छ । तर अहिलेसम्म बजेटको अख्तियारी भने नपाएको कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग आयोजनाका प्रमुख मनिष कुमार शाहले जानकारी दिए । 

राष्ट्रिय गौरवका बाहेक कैलाली जिल्लामा रहेका अन्य ठूला आयोजनाहरुको प्रगति भने निराशाजनक देखिएको छ । मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजनाले ५१ करोडको अख्तियारी पाएकोमा अहिलेसम्म १८ प्रतिशत अर्थात् ९ करोड खर्च गरेको छ । धनगढी–दिपायल फास्ट ट्रयाक योजनाले १५ करोडको अख्तियारी पाएकोमा ३३ प्रतिशत अर्थात् ५ करोड खर्च गरेको छ । क्षेत्रीय सहरी विकास आयोजनाको लागि २१ करोडको अख्तियारी आएकोमा अहिलेसम्म कुनै पनि रकम निकासा नभएको कोष नियन्त्रक पाण्डेयले जानकारी दिए । 

जिल्लामा सबैभन्दा बढी विकासे योजना हेरिरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीको प्रगति पनि निराशाजनक छ । सहरी विकासले अख्तियारी पाएको १ अर्ब ४५ करोड ३४ लाखमध्ये २३ प्रतिशतमात्रै खर्च गर्न सकेको छ । काम भइरहेको र भुक्तानी पछि लिने गरेका कारण प्रगति कम देखिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले बताए । 

सरकारले विकास खर्चमा देखिएको समस्या न्यूनीकरणका लागि संवैधानिक व्यवस्थाअनुसार १५ जेठमै बजेट ल्याउने अभ्यास थाले पनि त्यसबाट खासै अन्तर देखिएको छैन । आर्थिक वर्षको ७ महिना बितिसक्दा समेत विकासे अड्डाहरुले कतिपय योजनाको ठेक्का आह्वानसमेत गर्न सकेका छैनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro