
उदयपुर । पिकअप जीप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । शनिबार (वैशाख २७) गाईघाटबाट मोरङको विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३, फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो ।
प्रदेश २–०१–००च २१५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकछेउको विद्युत् पोलमा ठोक्किएको र त्यसमा अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरकै त्रियुगा नगरपालिका–८, गैरुन स्थायी घर भएका खतिवडा शनिबार बिहान कामविशेषले विराटनगरतर्फ गएका थिए ।
दुर्घटनामा चालक उदयपुरकै चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी घाइते भएका डीएसपी केदारमान दोङले जानकारी दिए । रासस