विशेष
नेपाली लोकगीतको फाँटमा हरिदेवी कोइराला एउटा सम्मानित नाम हो । नेपाली लोक संस्कृतिप्रति सधैं आदरभाव राख्ने र यसका लागि नयाँ पुस्तालाई उत्प्रेरित गर्नु उनको विशेषता हो । आफ्नो पहिचान र धरोहरका रूपमा रहेको लोक संस्कृतिलाई सधै शिरोपर गरेर पर्वको विशेषताअनुसारका गीत गाउनुपर्छ भन्ने उनको मान्यता छ । नेपालमा तिज गीत गाउने परम्पराको श्रीगणेश गर्ने हरिदेवी नै हुन् । २०४५ सालमा उनले पहिलोपटक तिज गीत गाइन् । जुन नेपालकै पहिलो तिज गीत थियो । पछिल्लो समय तिजका गीतले मौलिकतालाई चुनौती दिँदै अगाडि बढेकोप्रति उनलाई चिन्ता छ । कतै हाम्रो मौलिकता गुमाएर भोलिको पुस्तामा यिनै गीत पुग्ने होइनन् भन्ने उनी प्रश्न गर्छिन् । कोइरालासँग गरेको कुराकानीः
हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
तिज लागेकाले यसैमा व्यस्त छु । दिनको चार–पाँच वटासम्म कार्यक्रममा बोलाउनुहुन्छ । तिनै कार्यक्रममा जान्छु । तिज लागेपछि यस्तै कार्यक्रममा धेरै समय बितिरहेको छ ।
तपाईं आफैंले यो तिजमा तिज गीत गाउनुभयो कि भएन ?
मैले ०४५ सालदेखि हरेक तिजमा गीत गाउँदै आएको छु । यो तिजमा पनि गाएको छु । मेरा गीतहरु विशेषगरी चेतनामूलक र सन्देशमूलक हुन्छन् । मेरा गीत घटनाप्रधान हुन्छन् । दरबार हत्याकाण्ड, लोकतन्त्रको दियो, हाम्रा उनै सभासद, भुइँचालो, बिरामी छ फेवातालजस्ता गीत गाएकी छु । यो वर्ष माइतीको सम्झना र महँगीको विषमा गीत गाएको छु । यसैगरी दिदीबहिनीको मर्म भन्ने भीसीडी पनि बजारमा आएको छ । त्यसमा चार वटा गीत छन् । यसमा पुराना गीतलाई नयाँ ‘भिजुअल’ गरेको छु । युट्युबमा पनि हेर्न सकिन्छ ।
अहिलेसम्म कति गीत गाउनुभयो तिजका ?
मैले तिजका गीत गाउन सुरु गर्दा कसैले पनि गाउँदैनथे । सायद तिजका गीत सुरु गर्ने म नै पहिलो हुँ जस्तो लाग्छ । अहिलेसम्म मेरै शब्द र लय संकलनमा मात्रै मैलै ३६ वटा तिजका गीत गाइसकेकी छु ।
एक महिनाभन्दा पहिलेदेखि तिज मनाउने प्रचलन बसेको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
तिज त खास तीन दिन मनाउने हो । सुरुमा तीन दिनमात्रै मनाउने गरिन्थ्यो । जनै पूर्णिमा अएपछि तिजको रौनक बढ्थ्यो । त्यसपछि दिदीबहिनी भेला भएर यो वर्ष कस्ता गीत गाउने, कुन गीत गाउने, कसरी मनाउने भनेर छलफल गरिन्थ्यो । तर, केही वर्षयता अलि पहिलादेखि नै मनाउने चलन बढेर गएको छ । तिजका नाममा यससँग जोडेर उन्नति, प्रगति, विकास र चेतनाका काम गर्नलाई हो भने १०÷१२ दिन मनाउँदा फरक पर्दैन जस्तो लाग्छ । सबै दिदीबहिनी एक मन भएर पर्व र नारी स्वतन्त्रता दिवसका रूपमा मनाउँदा सबैले सहयोग नै गर्नुपर्छ । आपत्ति जनाउनुपर्दैन । सिर्जनात्मक, रचनात्मक, परिवर्तनका लागि मनाउनुपर्छ । पहिला तिजले सञ्चारको काम गथ्र्यो । समाजमा के भइरहेको छ, कहाँ के भइरहेको छ भन्ने सूचना दिन काम गथ्र्यो । समाजले के गरिरहेको छ, दिदीबहिनीले के भोगिरहेका छन् भन्ने वार्षिक स्वतन्त्रताका कुरा गरिन्थ्यो । तर, रमाइलोका लागि मात्रै भने मनाउनु हुँदैन । कामकाजी महिलाहरुका लागि महिनौं पहिलादेखि नै मनाउनु राम्रो होइन ।
तिज भड्किलो हुँदै गएको र परम्परा, संस्कार धान्ने भन्दा पनि विकृति भित्र्याउँदै गएको अनुभूति हुँदैन ?
पहिलो कुरा तिज पर्व हो र पर्वमा गाइने गीत पर्व गीत हुन् । यसलाई सबैले बुझ्नुपर्छ । पर्व गीतको आफ्नै मौलिकता र विशेषता हुन्छ । यसको आफ्नै विशिष्टता र सभ्यता हुन्छ । संस्कृति चिनारी र अस्तित्व छ । जसरी भैलिनी, फागु, देउसुरे गीत गाउँछौं, त्यस्तै हो तिज गीत पनि । यी हाम्रा चिनारी र मौलिकतालाई नयाँ प्रयोग गर्यौं भने यसको मौलिक विशेषतामा प्रश्न उठ्छ । अस्तित्व कसरी जोगाउँला, भोलिका तिज कस्तो होला, भोलिको पुस्ताले तिज कसरी मनाउला भन्ने प्रश्न उठ्न थालेको छ । जस्ताको तस्तै संस्कृति र सभ्यतालाई चिनारीको रूपमा राखेर आफ्नो पहिचानलाई रक्षा गर्दै जाने हो ।
तपार्ईंले भनेजस्तो संरक्षण गर्न सक्ने अवस्थामा छौं हामी ?
लोकदोहोरीको क्षेत्र र विषय फराकिलो छ । हामी त्यहाँ धेरै कुरा समेट्न र गाउन सक्छौं । तिजले चेली र माइतीको सम्बन्ध गाँस्छ, पारिवारिक सम्बन्ध जोड्छ । त्यसैले यसलाई वार्षिक पर्वका रूपमा अगाडि बढाउनुपर्छ । माइती र चेलीका कुरा समेट्नुपर्छ । शिष्टता र सभ्यताको परिचय दिनुपर्छ तिजका गीतले । पारिवारिक मित्रता र परिवारमा बसेर गाउने र सुन्ने गीत कस्तो हुनुपर्छ त्यो मैले भनिरहनु पर्दैन, सबैलाई थाहा छ । त्यसैले हामी पूरै परिवार बाबुआमा, दिदीबहिनी बसेर, दाजुभाइ बसेर मनोरञ्जनसँगै समाजिक चेतना र आपसी सम्बन्धका गीत गाइनुपर्छ । नेपाली जनजीवनको यथार्थ खोज्छ तिजले । पारिवारिक शिष्टता र सभ्यता खोज्छ, त्यहीअनुसारका गीत गाइनुपर्छ ।
तिज गीत पुरुष गायकले बढी गाउने र भिडियोहरुमा पनि पुरुष हाबी भइरहेको देखिएको छ । कस्तो लाग्छ यो प्रवृत्ति परम्परा बन्दै गर्दा ?
महिलाहरूले गाउँदा, महिलाहरुले नाच्दा महिलाहरुले नै गाउँ समाजको कुरा उठाउँदा उनीहरुको प्रतिभा पनि प्रस्फुटित हुने थियो । महिलाहरुको सौन्दर्यसँगै उनीहरुले पनि यो देशमा केही गर्न सक्छन् भन्ने पनि प्रमाणित हुन्थ्यो । महिलाहरुको आत्मविश्वास पनि बढ्थ्यो । उनीहरु पनि अगाडि आउने विशेषता तिजले बोकेको हुन्छ । यसलाई विस्तारै भुल्दै गएको हो कि जस्तो लाग्छ । कतिले जानेर, कतिले नजानेर यस्तो भइरहेको छ । भोलिको पुस्ताले यही रहेछ तिज भन्ने बुझ्ने र हाम्रो संस्कृति, संस्कार र परम्परा एकादेशको कथा त हुने हैन भन्ने प्रश्न उठ्न थालेको छ । भोलि तिजको इतिहास खोज्नेलाई हामीले के दिनेछौं ? यसले तिजको मूललाई धमिल्याएको छ । विशेषतालाई चुनौती दिएको छ ।
तिज गीतको त आफ्नै लय हुन्छ नि हैन । त्यो लयमा गीत गाएको पाउनुहुन्छ ?
हो, तिज गीतको आफ्नै लय हुन्छ । तर, अहिले जुनसुकै लयमा पनि तिज गीत गाएको पाइन्छ । तिज गीत हो कि होइन, ठम्याउन गाह्रो हुन्छ । रातो साडी लगाएर दुई–चार जना नाच्दैमा तिज गीत हुँदैन । यसको आफ्नो मौलिक परम्परा, मौलिक लय, शिष्टता र मौलिक पहिचान झल्किने माइती र चेलीको सम्बन्धका विषय हुनुपर्छ । तिजले धेरै पक्षको वकालत गर्छ । यसलाई कायम राख्दै कलाकारले गाउनुपर्छ । धेरै पर्व गीत र जाति भाषाका गीतहरु छन् । यसलाई संरक्षण र संवद्र्धन गर्दै जानुपर्छ । यसका लागि सोच्नुपर्छ ।
कसले, कसरी र के सोच्नुपर्छ ?
हामी कलाकार र राज्यले हाम्रो पहिचान हो भनेर सांस्कृतिक चिन्तनले हेर्नुपर्छ । आफ्नो मौलिक पहिचान हाम्रो सम्पत्ति हो, संस्कार हो । हाम्रो पहिचानका लागि पनि बचाउनुपर्छ भन्ने चिन्तन मनन् गर्ने समय आइसकेको छ । पर्वअनुसारको विशेषता हुन्छ । पर्व स्वयंले आफ्नो विशेषता माग्छ । त्यसलाई गीतमा कसरी समेट्ने त्यो स्वयं कलाकारले बुझ्नुपर्छ । प्रयोग गर्ने नाममा भएको थितिलाई भत्काएर हिँड्ने, व्यावसायिकताको नाममा आफ्नो पहिचानलाई नामेट पार्नु हुँदैन । यदि यसो भएन भने भोलिको दिनका लागि संस्कृतिको फाँटमा दुःखद् दिन हुनेछ जस्तो लाग्छ ।
कलाकारले आफ्नो उत्तरदायित्व बिर्सिदै गएका हुन् ?
कलाकारको पनि दायित्व र जिम्मेवारी छ । हामी कलाकारलाई समाजले देखिरहेको, हेरिरहेको र सुनिरहेको हुन्छ । कलाकारलाई समाजले पछ्याइरहेको हुन्छ । उनीहरुले गरेका कुराले समाजले प्रत्यक्ष त्यो पनि तत्काल प्रभाव पारिरहेको हुन्छ । हामीले कस्तो गीत गाउँदैछु र यसले कस्तो प्रभाव पार्दैछ भन्ने कलाकारले पनि बुझ्नुपर्छ ।
हामीले हाम्रा मौलिक सरंचनालाई बचाउन के गर्नुपर्छ भनेर निगरानी गर्ने आधिकारिक संस्था छैन । यो भइदिएको भए उत्तम हुने थियो । संस्कृति फाँटमा जस्तो पनि गीत गाइदिने चलन छ । त्यसैले आधिकारिक सेन्सर बोर्ड हुँदैन, तबसम्म यो भेललाई रोक्न गाह्रो नै पर्छ ।
हाम्रो रितुअनुसारका गीत छन् र बाह्रै महिनामा गाइने गीत छन् । हाम्रो चिनारी यो हो र यसलाई यसरी अगाडि बढाउनुपर्छ भनेर पत्रकार तथा संस्कृतिविद्ले पनि औंल्याइदिनुपर्छ ।
जानेर होस् या नजानेर विकृत गीत गाउनेहरुलाई के भन्नुहुन्छ ?
विनम्रपूर्वक म आग्रह गर्छु, हामी कलाकार हौं भने हामीले सांस्कृतिक चिन्तन गर्नुपर्छ । मौलिक पहिचान, परम्परा र संस्कृतिको महत्व खोज्नुपर्छ हामीले । हामीले गाउँदै गरेको गीतको विशेषता के हो भनेर बुझ्नुपर्छ । शिष्टता र मर्यादामा ख्याल गर्नुपर्छ । हाम्रो भाषामा ध्यान दिनुपर्छ । विचार नै नगरी ठेट भाषा प्रयोग गर्ने ठाउँमा आगन्तुक भाषाको प्रयोग नगरौं । धैरै प्रकारका गीतहरु छन्, लय छन् । एउटा कसैले गरेको गीत चल्यो भने सबैले त्यस्तै गीत गाउने, त्यही लयलाई पछ्याउने प्रवृत्ति हाबी भएको छ । त्यो नगरौं । सिर्जनात्मक काम गरौं ।
तिजका गीत बढी मायाँ–प्रेममा केन्द्रित भए, होइन ?
तिजका गीत पर्व गीत हुन् । यसलाई ख्याल गर्नैपर्छ सर्जकहरुले । तिजमा चेलीले माइतीको बाटो हेरिरहेकी हुन्छे । बाबुआमा, दाजुभाइको बाटो हेरिरहेकी हुन्छे । बाबुआमा, दाजुभाइ छैनन् भने काकाकाकी या अन्य कुनै दाजुभाइ लिन आउँछ कि भनेर बाटो हेरिरहेकी हुन्छे । यसको मतलब उनीहरु भेट भएपछि चेली र माइतीबीचको सम्बन्ध र सुख–दुःख साटासाट नि हुन्छ नि । अरु कुरा त हुँदैनन् । यति ठूलो पारिवारिक आयाम जोडिएको छ ।
मायाँप्रेम नै सबैथोक हो भन्ने सोचबाट हामी अलग हुनुपर्छ । पहिला म के गर्दैछु र यसको विशेषता के हो भन्ने बुझ्नुपर्छ । पछिल्लो पुस्तालाई निराशामूलक गीतभन्दा पनि केही आशा जगाउने खालका गीतहरु दिनुपर्छ ।
तर, के अहिले यो पारिवारिक आयाम जोडिएको पर्व तीजका गीतहरु तिजको गीत हो भनेर सुन्न सक्छौं ? मैले यहाँभन्दा धेरै केही भनिरहनुपर्छ र ?
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७३ ११:५७
प्रतिक्रिया दिनुहोस्