site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल वेस्ट म्यानेजमेन्टको पोस्टमा झापाको सात गोल

काठमाडौं । झापा फुटबल क्लब महिला टिमले एन्फा महिला लिग छनोटमा नेपाल वेस्ट म्यानेजमेन्ट महिला टिमविरुद्ध ७–० को रवाफिलो जित निकालेको छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा झापालाई जित दिलाउन एमी राईले ‘ह्याट्रिक’ गोल गरिन् । 

पुष्पकुमारी खड्काले दुई गोल गरिन् । सुनकाला राई र मनीता तामाङले समान एक गोल गरिन् । झापाले पहिलो हाफमा दुई र दोस्रो हाफमा पाँच गोल गरेको हो । 

खेलको १७औँ मिनेटमा सुनकालाले झापालाई अग्रता दिलाइन् । २५औँ मिनेटमा एमीले अग्रतालाई दोब्बर बनाइन् । खेलको ५७औँ मिनेटमा एमीले गोल गरेपछि झापाले खेलमा ३–० को अग्रता कायम गर्‍यो । ८१औँ मिनेटमा मनीताले गोल गर्दै अग्रतालाई ४–० को अवस्थामा पुर्‍याइन् । यसको चार मिनेटपछि, ८५औँ मिनेटमा पुष्पले अग्रतामा एक गोल थपिन् । खेलको ८७औँ मिनेटमा पुष्पले दोहारो गोल गरिन् । ९०औँ मिनेटमा एमीले ‘ह्याट्रिक’ गरेपछि टोलीले ७–० को जित पक्का गरेको हो । 

यो जितसँगै टोलीले छनोटमा पहिलो तीन अंक जोडेको छ । उसले अब दोस्रो जितको निम्ति नेपाल खेलकुद क्लबसँग सामना गर्नेछ । खेल शुक्रबार (भदौ ६ गते) दिउँसो ४ बजे च्यासल रंगशालामा हुने तालिका छ । 

पराजित नेपाल वेस्ट म्यानेजमेन्टले पहिलो जितको निम्ति दोस्रो खेलमा बुटवल लुम्बिनी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेल बुधबार (भदौ ४ गते) दिउँसो ४ः१५ बजे हुने तालिका छ । 

छनोटमा १४ टिमको सहभागिता रहेको छ । दुई समूहमा विभाजित यी टिममध्ये पाँच टिमले आगामी राष्ट्रिय महिला लिग छनोटमा स्थान बनाउने छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्