
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेलले एनएफजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डमा आफू मनोनीत हुने सपना पूरा भएको बताएकी छन् ।
आइतबार नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएफजेएफ)ले २२औँ संस्करणको स्पोर्ट्स अवार्ड कार्यक्रमअन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरेको थियो । यही विधामा महिला फुटबल खेलाडीको रूपमा मनोनीत भएपछि रेखाले आफ्नो सपना पूरा भएको बताएकी हुन् ।
आइतबार एनएसजेएफले रेखासहित राष्ट्रिय उसु खेलाडी विजय सिञ्जाली, टेबल टेनिस खेलाडी इभानी थापा, भलिबल खेलाडी हिमाल सेनारी, महिला क्रिकेट खेलाडी पूजा महतो गरी पाँचजनाको मनोनयन सार्वजनिक गरेको थियो ।
रेखा नेपाली राष्ट्रिय महिला फुटबलमा एएफसी महिला च्याम्पियन्स लिग खेल्ने पहिलो खेलाडी हुन् । रेखा साफ महिला च्याम्पियनसिप २०२४ मा सात गोलसहित सर्वाधिक गोलकर्ता बनेकी थिइन् । उनले उक्त प्रतियोगितामा माल्दिभ्सविरुद्ध पाँच र श्रीलंकाविरुद्ध दुई गोल गरेकी थिइन् ।