
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्षको दसैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आइतबारको बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।
इन्धनको मूल्यअनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यसवर्ष भाडा नबढाउने योजना रहेको उनको भनाइ छ । चाडपर्वको समयमा भाडा नबढाउन यातायात व्यवसायीहरूलाई आग्रह गरेको पनि बताए ।
यातायात व्यवसायीहरूसँग छलफलमार्फत सार्वजनिक यातायातको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको पनि बताए । प्रदेशस्तरमा रहेका सडक आयोजनाहरू प्रदेश सरकारलाई नै हस्तान्तरण गर्ने उद्देश्य रहेको उल्लेख गरे ।
"यो वर्षको दसैँ र तिहारमा भाडा बढाउने योजना हाम्रो छैन । हामीले यातायात व्यवसायीहरूसँग पनि भनेका छौँ, मान्छेको भिडभाड हुने बेलामा भाडा बढाउने काम नगरौँ भनेर," उनले भने ।
निर्माणाधीन सडकका सम्बन्धमा ज्यालादारी कामदारसहित प्रदेश सरकारलाई सडक आयोजनाको जिम्मा दिने तयारी भइरहेको मन्त्री दाहालको भनाइ छ ।