
काठमाडौं । सांग्रिला मोटर्स प्रा. लि. ले लामो समयदेखि प्रतिक्षित विद्युतीय मोडल लिपमोटर बी१० चीनबाट नेपालतर्फ प्रस्थान गरिसकेको जनाएको छ । यसको डेलिभरी छिट्टै सुरु हुने घोषणा समेत गरेको छ ।
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा सार्वजनिक भएको यस मोडलले नेपाली उपभोक्ताबाट उल्लेख्य सकारात्मक प्रतिक्रिया र अग्रिम बुकिङ प्राप्त गरेको थियो । उक्त अर्डर पूरा गर्न तथा नेपाली सडकमा नयाँ पुस्ताको इलेक्ट्रिक मोबिलिटी ल्याउन अब लिपमोटर बी१० तयार भएको कम्पनीले जनाएको छ ।
लिपमोटर बी१० मा १६० किलोवाट क्षमताको रियर–ह्वील ड्राइभ मोटर र ६७.१ किलोवाट घण्टाको ब्याट्री जडान गरिएको छ । यसले एक पटक चार्जमा ६०० किमी र ४६० किमी (डब्लूएलटीपी) सम्मको प्रभावकारी रेञ्ज दिने क्षमता राख्छ । १८० मिमी ग्राउन्ड क्लियरेंस, १४.६ इन्चको २.५के एचडी टचस्क्रिन, ३६० डिग्री क्यामेरा रेकर्डिङ, हिटिङ र भेन्टिलेसनसहितका प्रिमियम लेदरटे सिट्स तथा आफ्नो सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानोरामिक रूफजस्ता सुविधाले यो मोडललाई थप आकर्षक बनाएको छ ।
“हामी खुसी छौँ कि लिपमोटर बी१० ले चीनबाट नेपालतर्फ प्रस्थान गरेको छ । यसको असाधारण रेञ्ज, प्रिमियम डिजाइन र अत्याधुनिक सुविधासहित यो मोडलले नेपालमा इलेक्ट्रिक गाडीको नयाँ मापदण्ड तय गर्नेछ भन्ने हाम्रो विश्वास छ । डेलिभरी छिट्टै सुरु हुनेछ र यसले ग्राहकहरूको ड्राइभिङ अनुभवलाई पुनःपरिभाषित गर्नेछ” सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले भने ।
गोल्छा अर्गनाइजेसनअन्तर्गतको सांग्रिला मोटर्सले सधैँ नयाँ पुस्ताका वातावरणमैत्री मोबिलिटी समाधान ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको जनाएको छ । प्युजो, सिट्रन र लिपमोटरजस्ता ब्रान्डहरूका मोडलमार्फत कम्पनीले स्मार्ट र हरित सवारीसाधनको प्रयोगलाई अझ विस्तार गर्ने प्रतिबद्धता गरेको छ ।