site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ब्राजिलमाथि अमेरिकाको ५० प्रतिशत कर, बोल्सोनारो मुद्दाका न्यायाधीश प्रतिबन्धित
न्यायाधीश अलेक्जान्डर डे मोराएस ।

काठमाडौं । अमेरिकी अधिकारीहरूले ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्डर डे मोराएसलाई प्रतिबन्ध लगाउने बुधबार घोषणा गरेका छन् ।

न्यायाधीश मोराएसले ब्राजिलका पूर्वदक्षिणपन्थी राष्ट्रपति जेयर बोल्सोनारो र उनका सहयोगीले सन् २०२२ को चुनावमा हारेर सत्तापलटको योजना बनाएको आरोपमा अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।

बोल्सोनारोले ती आरोप अस्वीकार गरेका छन् । र, न्यायाधीश मोराएसलाई तानाशाह बताएका छन् ।

प्रतिबन्धको घोषणाको केही समयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि ५० प्रतिशत आयातकर वृद्धि गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले यसै महिनाको सुरुमा सामाजिक सञ्जालमा ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई लेखेको पत्रमा यस्तो कडा कर लगाउने धम्की दिएका थिए । उक्त पत्रमा ट्रम्पले ब्राजिलले अमेरिकी प्राविधिक कम्पनीमाथि आक्रमण गरेको र बोल्सोनारोविरुद्ध झुटो मुद्दा चलाइएको आरोप लगाएका थिए ।

ब्राजिलका प्रमुख निर्यात उत्पादन जस्तै, सुन्तलाको रस, केही विमानका पार्टपुर्जा र ऊर्जा सामग्रीलाई कडा करबाट छुट दिइएको छ । ब्राजिलले जवाफमा समान कर लगाउने धम्की दिएको छ ।

अमेरिका चीनपछि ब्राजिलको दोस्रो ठूलो व्यापार साझेदार हो । त्यसैले यो कर वृद्धिले दक्षिण अमेरिकी राष्ट्रलाई कडा प्रभाव पार्नेछ ।

ब्राजिल अमेरिकाको १५औँ ठूलो व्यापार साझेदार हो । यसले मुख्य रूपमा खनिज इन्धन, विमान र मेसिनरी आयात गर्छ । अमेरिकाले ब्राजिलबाट ग्यास, पेट्रोलियम, फलाम र कफी आयात गर्छ । बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्