site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुस–युक्रेन युद्ध समाप्त गर्ने ट्रम्पको नयाँ रणनीति

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा तत्काल युद्धविरामको आफ्नो अघिल्लो अडान छाडेर अब पूर्ण शान्ति सम्झौतातर्फ अघि बढ्ने निर्णय गरेका छन् । अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटको केही घण्टापछि उनले यो ठूलो परिवर्तनको घोषणा गरे । यद्यपि, उक्त भेटमा खासै प्रगति भएको थिएन ।

त्यो महत्त्वपूर्ण भेटअघि ट्रम्प र युरोपेली नेताहरूको मुख्य माग तत्काल युद्धविराम थियो । ट्रम्पले रुसविरुद्ध गम्भीर परिणामको चेतावनी पनि दिएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सोमबार वासिङटन भ्रमणमा जाँदै छन् ।

युद्धविरामबाट शान्ति सम्झौतातर्फ
युद्धविरामबाट शान्ति सम्झौतातर्फको यो परिवर्तन पुटिनका पक्षमा देखिन्छ । यनले लामो समयदेखि अन्तिम शान्ति सम्झौताका निम्ति वार्तालाई जोड दिँदै आएका छन् । युक्रेन र उसका युरोपेली सहयोगीले यो रणनीतिलाई समय लम्बाउने र रुसी सैन्य आक्रमणलाई निरन्तरता दिने तरिकाका रूपमा आलोचना गर्दै आएका छन् ।

वासिङटन फर्कने क्रममा ट्रम्पले आफ्नो उडानमा जेलेन्स्की र अरू युरोपेली नेताहरूसँग कुरा गरे । उनले भने, “सबैले यो भयानक युद्ध समाप्त गर्ने उत्तम उपाय भनेको सिधै शान्ति सम्झौतातर्फ अघि बढ्नु हो, जसले युद्ध अन्त्य गर्नेछ ।”

ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेमा छन्, “युद्धविराम सम्झौता प्रायः टिक्दैनन् ।”

जेलेन्स्कीको चेतावनी
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले युद्धविराम स्वीकार नगर्दा युद्ध अन्त्य गर्ने प्रयास जटिल बनेको बताएका छन् । मस्कोले तीन वर्षभन्दा बढी समयदेखि जारी युद्ध रोक्ने आह्वानलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

शनिबार राति सामाजिक सञ्जालमा उनले लेखेका छन्, “हामीले रुसले युद्धविरामका धेरै आह्वानलाई ठाडै अस्वीकार गरिरहेको देखेका छौँ । उसले रक्तपात रोक्ने निर्णय अझै गर्न सकेको छैन । यसले स्थिति थप जटिल बनाइरहेको छ । यदि, रुसमा आक्रमण रोक्ने सामान्य आदेश लागु गर्ने इच्छाशक्ति छैन भने आफ्ना छिमेकीहरूसँग दशकौँसम्म शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने इच्छाशक्ति बनाउन उसलाई निकै मिहिनेत गर्नुपर्नेछ ।”

यसैबीच, नर्डिक–बाल्टिक आठ देशका नेताको संयुक्त विज्ञप्तिप्रति जेलेन्स्कीले एक्समा लेखेका छन्, “समर्थनका लागि धन्यवाद ! तपाईंको वक्तव्य दिगो र विश्वसनीय शान्तिका लागि महत्त्वपूर्ण छ । रुसले युद्धविरामका आह्वान अस्वीकार गरिरहेको छ र हत्याहरू कहिले रोक्ने भन्ने निर्णय गर्न सकेको छैन । यसले स्थिति जटिल बनाए पनि हामी सबै मिलेर शान्ति र सुरक्षाका निम्ति काम गरिरहेका छौँ । हत्या रोक्नु युद्ध अन्त्यको महत्त्वपूर्ण हिस्सा हो ।”

उनले अगाडि भनेका छन्, “आज दिनभर साझेदारहरूसँग समन्वय जारी रह्यो । भोलि पनि बैठकहरू तय भइसकेका छन् । हामी सोमबार राष्ट्रपति ट्रम्पसँगको बैठकको तयारी गरिरहेका छौँ । निमन्त्रणाका निम्ति म आभारी छु । सबैले सहमत के हुनुपर्छ भने नेताहरूको तहमा वार्ता आवश्यक छ, जसले सबै विवरण स्पष्ट गरोस् र कुन कदम जरुरी र प्रभावकारी हुन्छन् भन्ने निर्धारण गरोस् । हामी युक्रेनमा नर्डिक–बाल्टिक साझेदारहरूको सैद्धान्तिक वक्तव्यको स्वागत गर्छौं । उनीहरूको महत्त्वपूर्ण सहयोगप्रति आभारी छौँ । सबैको एकता हामीलाई बलियो बनाउँछ ।”

पुटिनको डोनबास माग
एएफपी समाचार एजेन्सीलाई जानकारी दिने एक अधिकारीका अनुसार, ट्रम्पले पुटिनको प्रस्तावलाई समर्थन गरे, जसानुसार रुसले दुई ठूला रुसी नियन्त्रित युक्रेनी क्षेत्रमा पूर्ण नियन्त्रण गर्नेछ । र, बदलामा दक्षिणी युक्रेनका खेरसन र जापोरिझझियामा आफ्नो अग्रपंक्तिका सैनिकलाई फिर्ता बोलाउनेछ । पुटिनले डोनेट्स्क र लुहान्स्क क्षेत्र समेटिएको डोनबास छाड्न युक्रेनलाई भनेका छन् । जेलेन्स्कीले यो आग्रह अस्वीकार गरेका छन् ।

सन् २०२२ को सेप्टेम्बरमा रुसले युक्रेनका यी चार क्षेत्र कब्जाको दाबी गरेको थियो । यद्यपि, रुसी सेनाले ती क्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्न सकेको छैन ।

ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन अमेरिका तयार रहेको पनि बताएका छन् । जर्मन चान्सलर फ्रेडरिक मर्जले यो आश्वासनलाई ‘महत्त्वपूर्ण प्रगति’ भनेका थिए ।

युरोपेली संघको आलोचना र दबाब
युरोपेली संघकी शीर्ष कूटनीतिज्ञ काजा कालासले शिखर सम्मेलनको नतिजाको कडा आलोचना गरिन् । उनले पुटिनमाथि रक्तपात अन्त्य गर्ने प्रतिबद्धताबिना ‘वार्तालाई लम्ब्याउने’ प्रयास गरेको आरोप लगाइन् । उनले भनिन्, “कटु सत्य यो हो कि यो युद्ध चाँडै अन्त्य गर्ने रुसको कुनै इरादा छैन ।”

फ्रान्स, बेलायत र जर्मनीका नेताले ट्रम्प–पुटिन–जेलेन्स्की शिखर सम्मेलनको योजनाको स्वागत गरे । तर, युद्धविराम नगरिँदासम्म रुसमाथि दबाब कायम राख्ने उनीहरूले बताए । उनीहरूले भने, “न्यायपूर्ण र दिगो शान्ति नहुँदासम्म हामी रुसको युद्ध अर्थतन्त्रमाथि प्रतिबन्ध र व्यापक आर्थिक उपायमार्फत दबाब कायम राख्नेछौँ ।”

जेलेन्स्कीको वासिङटन भ्रमण
जेलेन्स्की सोमबार ह्वाइट हाउस जाँदै छन् । सबैको ध्यान अब उनको वासिङटन वार्तामा केन्द्रित छ । युरोपेली संघको एक स्रोतले एएफपीलाई बताएअनुसार, धेरै युरोपेली नेतालाई उक्त बैठकमा निम्त्याइएको छ ।

जेलेन्स्की पछिल्लोपल्ट फेब्रुअरीमा ह्वाइट हाउस गएका थिए । त्यति बेला ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले अमेरिकी सहायताप्रति पर्याप्त कृतज्ञता नदेखाएको भन्दै उनको आलोचना गरेका थिए । दुवै पक्षबीच तनावपूर्ण बहस भएको थियो । जेलेन्स्कीले अलास्का शिखर सम्मेलनबारे ट्रम्पसँग कुराकानीपछि शनिबार भने, “म वासिङटन भ्रमण र युद्ध अन्त्यसँग सम्बन्धित सबै विवरणमा छलफल गर्न उत्साहित छु ।”

ट्रम्प भन्छन्– जेलेन्स्कीको जिम्मेवारी
पुटिनसँगको भेटपछि फक्स न्युजसितको अन्तर्वार्तामा ट्रम्पले अब शान्ति सम्झौताको जिम्मेवारी जेलेन्स्कीको हुने बताए । यो किनभने, उनीहरू सम्भावित त्रिपक्षीय शिखर सम्मेलनतर्फ अघि बढिरहेका छन् । उनले भने, “यो पूरा गर्नु वास्तवमा राष्ट्रपति जेलेन्स्कीमाथि निर्भर छ । युरोपेली राष्ट्रहरूले पनि यसमा केही सहभागिता देखाउनुपर्छ, तर यो मुख्य रूपमा जेलेन्स्कीमाथि छ ।”

युद्ध जारी, रुसले गर्‍यो ड्रोन आक्रमण
युक्रेनमा संघर्ष जारी छ । किभले शनिबार रुसले ८५ ड्रोन र एउटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ ।

मस्कोमा पुटिनले ट्रम्पसँगको शिखर वार्ता समयमै र धेरै उपयोगी भएको बताए । उनले भने, “यो वार्ता स्पष्ट र उत्साहजनक थियो र यो हामीलाई आवश्यक निर्णयहरू नजिक ल्याउँछ ।”

अगस्ट २२ मा त्रिपक्षीय बैठकको प्रस्ताव
पुटिनसँगको भेटपछि ट्रम्पले युरोपेली नेताहरूलाई यही अगस्ट २२ मा पुटिन र जेलेन्स्कीसँग त्रिपक्षीय बैठक आयोजना गर्न चाहेको बताएका छन् ।

एक्सियोसका अनुसार, ट्रम्पले युरोपेली नेतालाई सोमबार ह्वाइट हाउस बैठकमा सहभागी हुन पनि निम्तो दिएका छन् । हालसम्म रुसी पक्षले त्रिपक्षीय बैठकप्रति सार्वजनिक रूपमा प्रतिबद्धता जनाएको छैन ।

शुक्रबार पुटिन र ट्रम्पबीच रुस–युक्रेनबीचको युद्ध अन्त्य गर्ने उद्देश्यले महत्त्वपूर्ण बैठक भएको थियो । बैठकपछि दुवै नेताले संयुक्त वक्तव्य जारी गरेका थिए । पुटिनले ट्रम्पका भनाइमा केही हदसम्म सहमति जनाएको देखिएको थियो । ट्रम्पले पनि बैठक निकै फलदायी भएको बताएका थिए ।

पुटिनसँगको भेटपछि ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूसँग लामो टेलिफोन वार्ता गरेका थिए । उक्त वार्तापछि जेलेन्स्कीले अमेरिका भ्रमण गरी ट्रम्पसँग भेट्ने घोषणा गरेका हुन् ।

युरोपेली नेताहरूले ट्रम्पको शान्ति प्रयासको स्वागत गरेका छन् । तर, उनीहरूले युक्रेनलाई समर्थन जारी राख्ने र रुसमाथि थप कडा प्रतिबन्ध लगाउने बताएका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्