site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले भने– म राष्ट्रपति रहुन्जेल सी चिनफिङले ताइवानमाथि आक्रमण गर्दैनन्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानमाथि आक्रमण नगर्ने दाबी गरेका छन् । 

शुक्रबार (स्थानीय समयअनुसार) चिनियाँ राष्ट्रपति सी चिनफिङले उनलाई दिएको आश्वासनबारे फक्स न्युजलाई अन्तर्वार्ता दिँदै ट्रम्पले सीले ताइवानमाथि आक्रमण नगर्ने बताएका हुन् । 

सीले उनलाई ‘जबसम्म तपाईं राष्ट्रपति हुनुहुन्छ, तबसम्म म ताइवानमाथि आक्रमण गर्दिनँ’ भनेर आश्वासन दिएको बताएका रोयटर्सले जनाएको छ । 
 
उक्त अन्तर्वार्तामा ट्रम्पले भने, “चीन र ताइवानको मामिलामा स्थिति गम्भीर हुन सक्थ्यो । तर, मलाई म राष्ट्रपति रहुन्जेल यस्तो आक्रमण हुनेछ भन्ने लाग्दैन । भविष्यमा के हुन्छ, हेरौँला ।”

ट्रम्पको दोस्रो कार्यकालमा अप्रिलमा सीले उनलाई फोन गरेका थिए । तर, फोन कुन दिन भएको थियो भन्ने खुलाइएको छैन । 

चीन ताइवानलाई आफ्नो भूभाग मान्छ । त्यसैले आवश्यक परे बलपूर्वक एकीकरण गर्न चाहेको छ । तर, ताइवानले चीनको यो दाबीको कडा विरोध गर्दै स्वतन्त्ररूपमा काम गरिरहेको छ । 

अमेरिका ताइवानको प्रमुख हतियार आपूर्तिकर्ता र अन्तर्राष्ट्रिय समर्थक पनि हो । यद्यपि, दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन ।
वासिङ्टनस्थित चिनियाँ दूतावासले शुक्रबार ताइवान मुद्दा चीन–अमेरिका सम्बन्धको सबैभन्दा महत्वपूर्ण र संवेदनशील विषय भएको बताएको छ ।
 
“अमेरिकी सरकारले ‘एक–चीन नीति’ र चीन–अमेरिकाबीच भएका तीन संयुक्त घोषणाहरूको पालना गर्नुपर्छ,” दूतावासका प्रवक्ता लिउ पेङ्गयुले भने, “ताइवानसँग सम्बन्धित मामिलालाई बुद्धिमानीपूर्वक सम्हाल्नुपर्छ । र, चीन–अमेरिका सम्बन्धसँगै ताइवान जलमार्ग मध्यमा शान्ति र स्थिरताको इमानदारीपूर्वक रक्षा गर्नुपर्छ ।” एनडीटीभी

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्