site stats
बाह्रखरी :: Baahrakhari
देश
भित्रँदै जलवाष्पयुक्त हावा : एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । देशका थोरै स्थानमा सोमबार (भदौ २) भारी वर्षाको पूर्वानुमान छ । लुम्बिनीको तराई र वाग्मती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, यस दिन देशभर साधारणतया बदली (बादल/वर्षा) रहनेछ । “कोसी प्रदेश, वाग्मती प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागलगायत देशको बाँकी पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यस दिन राति कोसी र मधेसलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

“मधेस प्रदेश, कोसी प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

राति कोसीको तराई तथा वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पानी पार्ने प्रणाली मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । त्यसकारण नेपालमा मनसुन केही कमजोर रहेको माशाखाले जनाएको छ । “तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको छ,” बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०६:४१
प्रतिक्रिया दिनुहोस्