site stats
बाह्रखरी :: Baahrakhari
कला
आफ्नै खुट्टामा ‘बन्चरो’ हान्दै चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र उद्योगको भविष्य राम्रो नरहेको स्वयं चलचित्रकर्मी बताउँछन् । चलचित्रकर्मीकै व्यवहारसहित विभिन्न कारणले चलचित्रको भविष्य राम्रो नरहेको तर्क उनीहरूको छ । चलचित्रकर्मीले  ‘आफ्नै खुट्टामा आफैँ बन्चरो’ हान्ने काम गरिरहेको कलाकारहरूको भनाइ छ । 

निर्माता स्वयंले टिकट किन्ने, सित्तैमा चलचित्र हेराउने, गलत सूचना दिन, सानो उद्योगमा आवश्यकताभन्दा धेरै चलचित्र बन्ने आदि कारण चलचित्रको भविष्य राम्रो नरहेको कलाकार तथा निर्माता दीपकराज गिरी बताउँछन् । 

यो प्रवृत्ति थप मौलाउँदै गए चलचित्र ऋणात्मकतर्फ धकेलिने भनाइ उनको छ । अन्ततः यसले राम्रा चलचित्रलाई नकारात्मक असर गर्ने दीपक बताउँछन् ।

पैसा नतिरी चलचित्र हेर्न पाउने भएपछि राम्रो चलचित्र बने पनि सित्तैमा हेर्न पाइने आशामा दर्शक बस्ने र यसको मारमा गुणस्तरीय चलचित्र पर्ने उनको तर्क छ । यो प्रवृत्ति तत्काल अन्त्य नगरे यसले समग्र नेपाली चलचित्रको व्यापारमा नै असर गर्ने उनको भनाइ छ । 

 ‘नेपाली चलचित्रको टिकट सित्तैमा आउँछ, किन्न पर्दैन’ भन्ने मनोविज्ञान सिर्जना हुनु गलत भएको दीपकको भनाइ छ । यो नेपाली चलचित्र उद्योगका लागि घातक सिद्ध हुने उनको भनाइ छ । उनी यसको जिम्मेवार स्वयं चलचित्रकर्मी नै रहेको बताउँछन् ।

“सित्तैमा हेर्न पाएपछि नेपाली चलचित्रको टिकट किन काटेर हेर्ने ? यसकारण मैले नेपाली चलचित्रको भविष्य राम्रो देखेको छैन,” दीपक भन्छन्, “एकाध नेपाली सिनेमाले मात्रै राम्रो व्यापार गरिरहेका छन् । त्यो पनि प्रचार सामग्री बलियो भएर मात्रै सफल भइरहेका छन् ।” चलचित्रले राम्रो व्यापार गर्नु महाभारतसरह भएको उनको भनाइ छ ।

माग र आपूर्तिको समन्वय नहुँदा सिनेमा डुबिरहेको दीपक बताउँछन् । सिनेमा हर्ने दर्शकको संख्या कम तर चलचित्र बढी हुँदा माग र आपूर्तिबीच सन्तुलन नरहेको उनको भनाइ छ । 

“बढीमा दर्शकले हप्तामा एउटा चलचित्र हेर्न सक्छ । तर, यहाँ तीनवटा चलचित्र एकैदिन रिलिन गर्नुपर्ने बाध्यता छ,” दीपक अगाडि थप्छन्, “वार्षिक ३०/३५ वटा सिनेमा धान्न सक्ने एउटा सानो नेपाली चलचित्र उद्योगलाई हामी १५० सिनेमा उत्पादन गरेर दिइरहेका छौँ, यस्तो अवस्थामा कसरी हुन्छ चलचित्रको भविष्य राम्रो ?” 

जम्मा तीन/चारजना हिरो रहेको र उनीहरू कतिपयको हप्ताकै दुईवटा चलचित्रको पोस्टर टास्नुपरेको उनी बताउँछन् । विषयवस्तु पनि विविधता नरहेको उनी बताउँछन् । वैदेशिक रोजगारीमा ठगिएको र सामाजिक कथा नै यताउता गरिएका चलचित्र हप्तैपिच्छे रिलिज भइरहेको उनको भनाइ छ । 

“नयाँपन सिनेमामा छ कि छैन भन्ने हो । हामी भीएफएक्समा धेरै काम गर्न सक्दैनौँ, ठूलो बजेट लगानी गर्न सक्दैनौँ,” दीपक भन्छन्, “कथा लेखनदेखि रिलिजसम्म हतारमा काम हुन्छ, यसले सिनेमा राम्रो बन्दैन । सिनेमा राम्रो नबन्नु, धेरै बन्नु, निर्माता आफैँले टिकट काटेर नेपाली सिनेमा पैसा तिरेर हेर्ने नै होइन भन्ने भावनाको विकास हुनुले राम्रो भविष्य देखिँदैन ।” 

अभिनेता सौगात मल्ल पनि यसले नेपाली चलचित्र उद्योगलाई फाइदा नगर्ने बताउँछन् । यो आफैँमा दु:खद र हास्यास्पद विषय भएको उनको भनाइ छ । 

“यो कताकता पहिला पनि सुनेको हो । इन्डियाकै कुरा पनि सुनेको हो । सुन्दा पनि मन खिन्न हुन्छ । राम्रो लाग्दैन,” सौगात भन्छन्, “यो अझै लामो समयसम्म रहिरहलाजस्तो लाग्छ । व्यक्तिले आफैँ टिकट काटेपछि कसले रोक्ने, कसरी रोक्ने ?” 

कोही एउटै व्यक्तिले पैसा हालेर टिकट काट्छ भने रोक्न पनि नसकिने अवस्था रहेको उनी सुनाउँछन् । 

“यसमा कसैले मैले किटक काटेर साथीभाइलाई सिनेमा हेर्न पठाएँ भनेजस्तै कुरा होला,” उनी भन्छन्, “तर, जसले जे भने पनि, कारण जे देखाए पनि दुःखको कुरा हो ।”

राम्रो चलचित्र आउँदा यसको नकारात्मक असर गर्ने सौगात बताउँछन् । राम्रो चलचित्र आउँदा यस्ता कुराले छायामा पर्ने उनको धारणा छ । 

“कति राम्रा चलचित्र आइरहेका हुन्छन् । तर, यस्तै कारणले राम्रा चलचित्र पनि छायामा पर्ने सम्भावना रहेको छ,” उनी भन्छन्, “राम्रा चलचित्र आउँदा पनि तिनका निर्मातालाई हामीले पनि आफैँ टिकट काट्नुपर्ने हो कि भन्ने हुन्छ, यो आफैँमा समस्या हो ।”

सुरुमा दर्शक तान्न निर्माताले ‘वर्ड अफ माउथ’का लागि आफैँ टिकट काटेर अरूलाई हेराउँदा फाइदा भए पनि अन्ततः चलचित्र राम्रो नभए यस रणनीतिले पनि काम नगर्ने उनको तर्क छ । 

“यसले हाम्रो चलचित्रको भविष्य राम्रो देखाउँदैन । भन्न पनि लाजमर्दो भयो । कसैलाई सुनायो भने हो र यस्तो पनि हुन्छ भनेर छक्क पर्छन्,” सौगात भन्छन्, “यो लज्जास्पद विषयले हामीलाई राम्रो ठाउँमा पर्दैन । हाम्रोतर्फबाट हेर्दा राम्रो होइन । प्रोड्युसरको तर्फबाट हेर्दा उहाँहरूलाई ठिक लाग्छ होला ।”

व्यक्तिले आफ्नो पैसा खर्च गर्ने भएकाले अरूले यसो गर अथवा नगर भन्न नसकिने उनको भनाइ छ । त्यसैले यो समस्याको समाधान तत्काल अन्त्य नहुने सौगात भन्छन् । “यो तुरुन्तै समाधान हुन्छ भन्ने लाग्दैन । यो समस्या लामो समयसम्म रहिरहन्छ भन्ने लाग्छ,” सौगात भन्छन् ।

अभिनेता विजय बराल गलत 'ट्रेन्ड' विकास गर्न नहुने बताउँछन् । निर्माता आफैँले टिकट काटेर सिनेमा हेराउने चलन गलत भएको उनको भनाइ छ ।

“कसैले मार्केटिङको रणनीतिअन्तर्गत निर्माताले टिकट काटेको छ भने त्यो बाहिर ल्याउन नहुने कुरा हो । कसरी बाहिर आयो भन्ने हो,” विजय भन्छन्, “राम्रो नियतले रणनीतिकरूपमा आएको हो भने ठिक हो । होइन भने यो गतल संस्कार बासाउनुहुँदैन ।” 

यसले कलाकार र मेकरको छवि धुमिल बनाएको उनको भनाइ छ । कलाकार र मेकरलाई हेरेर यो क्षेत्रमा आउने धेरै रहेको तर अहिले इमेज नै धुमिल बनाउने काम भएको उनको गुनासो छ । 

“हलमा पैसाभन्दा पनि क्रिएसन बेच्नुपर्छ । राम्रो काम बेच्नुपर्छ । काम आफैँ बोल्नुपर्छ,” विजय भन्छन्, “हुन त सबै चलचित्रका निर्माताले टिकट किनेका छैनन् । तर, दुई/चारवटाले नै इमेज सबैको इमेज बिगार्ने काम गरे ।” 

हल खाली हुने तर सामाजिक सञ्जालमा हाउसफुल भनेर प्रचार गर्नु पनि गलत भएको उनको भनाइ छ । “हल खाली हुन्छन् । तर, सामाजिक सञ्जालमा आफैँले किनेका शोको तस्बिर राखेर देशभर सिनेमा हाउसफूल भनेर प्रचार गरेको पनि देखिन्छ,” विजय प्रस्ट पार्छन्, “सिनेमा चल्ने यसको क्रिएटिभ पक्षले हो । अहिले हामी सैयारा किन हेरिहेका छौँ भने इन्डियामा यसको राम्रो समीक्षा आएर हो ।” 

यसले नेपाली चलचित्रको भविष्यलाई नै चुनौती दिइरहेको उनको भनाइ छ । यसलाई रोक्न नसके गम्भीर अवस्था सिर्जना हुने उनको धारणा छ । 

चलचित्र कसरी राम्रो बनाउने र राम्रो चलचित्रको प्रचार रचनात्मक हिसाबले कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड छ । 

“मैले मेरी श्रीमतीलाई तिम्रा आफन्तलाई तिमी नै टिकट काटेर हेर है भन्न सकेँ । पहिलो/दोस्रो दिन वर्ड अफ माउथका लागि यसो गर्नुसम्म ठिकै हो,” विजय भन्छन्, “तर, आम पब्लिकलाई सित्तैमा सिनेमा देखाउनु राम्रो होइन । यसले हामीलाई सही दिशातर्फ डोर्‍याउँदैन । यसले सही गन्तव्यमा पुर्‍याउँदैन । आफ्नै खुट्टमा बन्चरो हान्ने काम भइरहेको छ ।” 

दर्शक नभए पनि टिकट किनेर राख्दा चलचित्रको मूल्य नै घट्ने उनको भनाइ छ । “सुन्दा सामान्य लागे पनि यो दीर्घकालीन हिसाबले गम्भीर कुरा हो,” विजय भन्छन्, “यसमा हामी सबै सचेत हुनुपर्छ ।” 

चलचित्रको प्रचारप्रसार कसरी गर्ने, विकल्प कसरी खोज्ने, ‘क्रिएटिभ आइडिया’ कसरी सिर्जना गर्ने भन्नेतर्फ सोच्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्