
काठमाडौं । टेलिभिजनका लागि हास्य टेलिचलचित्र बनाउँदै आएको ‘कमेडी दरबार’को समूहले गत सोमबार चलचित्र निर्माणको घोषणा गर्यो । चलचित्रको नाम थियो, ‘क का कि की’ । यसलाई सोही सिरियलका निर्देशक विक्की अग्रवाल र निमात्री श्रद्धा प्रसाईंले निर्देशन गर्दै छन् ।
यो चलचित्रमा लेखक पनि शोकै कलाकार छन् । अभिनय ‘कमेडी दरबारक’का अधिकांश कलाकारको रहनेछ ।
असार १७ गते चलचित्र ‘गोबर गणेश’ घोषणा गरियो । उक्त चलचित्र ‘हल्का रमाइलो’ र ‘जुठे’जस्ता टेलिसिरियल बनाएका मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)ले घोषणा गरेका हुन् । ‘गोबर गणेश’ उनैले निर्देशन गर्दै छन् ।
अर्जुन घिमिरे (पाँडे)ले गत बिहीबार चलचित्र ‘झरीपछिको इन्द्रेणी’को छायांकन सुरु गरे । अर्जुन आफैँले यो चलचित्र निर्देशन गरिरहेका छन् ।
यसअघि, ‘सक्किगोनि’का निर्देशक समेत रहेका कुमार कट्टेल (जिग्री)ले ‘लाज शरणम्’ निर्देशन गरेका थिए । उक्त चलचित्रमा ‘सक्किगोनि’का अधिकांश कलाकार थिए ।
‘सक्किगोनि’कै कलाकार दीपक आचार्य (काकु)ले चलचित्र ‘परान’ बनाइहेका छन् । ‘परान’को निर्देशन दीपक स्वयंले गरिरहेका छन् ।
केही समयअगाडि जाने हो भने सीताराम कट्टेल (धुर्मुस)ले चलचित्र ‘सेन्टी भाइरस’ निर्माण गरेका थिए । त्यो प्रदर्शनमा आइसकेको छ ।
शिवहरि पौडेल (मुखमा हान्नुजस्तो)ले ‘लक्का जवान’ निर्देशन गरे । यो चलचित्र पनि प्रदर्शनमा आइसकेको छ ।
दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले ‘६ एकान ६’, ‘वडा नम्बर ६’ देखि ‘छक्का पञ्जा’सम्म बनाइसकेको छ । ‘छक्का पञ्जा’ सिरिजले राम्रो व्यापार गरेपछि धेरैका लागि यो सिरिज व्यापारिक दृष्टिले मानक बनेको छ ।
किरण केसी (राता मकै)ले थुप्रै चलचित्र निर्माण गरिसकेका छन्, जसमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले सहकार्य गरेका छन् ।
जितु नेपालले चलचित्र निर्माण तथा निर्देशनको घोषणा गर्ने तयारी गरिरहेका छन् । यी त भए हास्य विधामा रहेर काम गर्ने केही कलाकार, जो कथानक चलचित्रमा प्रवेश गरे ।
सके आफैँ निर्माण तथा निर्देशन गर्ने, त्यो सम्भव नभए अरूका चलचित्रमा भए पनि अभिनय गर्ने ‘ट्रेन्ड’ विकास भएको छ ।
काँचको पर्दामा देखिने अधिकांश हास्य कलाकारको गन्तव्य कथानक चलचित्र नै हो ? “गोल चलचित्र नै हो भन्ने भन्दा पनि दुवै कलाकै विधा हुन्,” निर्देशक विशाल भण्डारी भन्छन्, “त्यसैले आफूलाई मन लागेको कथा सिनेमामार्फत पनि भनौँ भन्ने भएर चलचित्र पनि बनाउनुहुन्छ जस्तो लाग्छ ।”
लामो समय काँचको पर्दामा काम गर्दा थुप्रै कथा भन्न मन लाग्ने र त्यस्तो कथा आफ्नै शैलीमा भन्ने रहर हुने उनी बताउँछन् । “चलचित्र निर्माणको प्रक्रिया नै आकर्षक हुन्छ । त्यसैले कथामा आधा घण्टा काम गरिरहको निर्देशकलाई साढे दुई घण्टामा आफूलाई मन लागेको कथा आफ्नै शैलीमा भनौँ न भन्ने रहर हुन्छ,” कमेडी नाइट विथ च्याम्पियन्सका निर्देशक विशाल भन्छन्, “आफूलाई मन परेको कथा ७० एमएमको फ्रेममै भनौँ भन्ने रहर हुनु स्वाभाविक हो ।”
मुख्य कारण कथा भन्ने लोभ रहे पनि चर्चा अर्को कारण हुन सक्ने उनको धारणा छ । पारिश्रमिकको हिसाबले धेरै फरक नहुने तर रिलिजको समय हुने चर्चा र कभरेजले कलाकार र मेकरलाई लोभ्याउने उनी बताउँछन् ।
“कमेडी शोमा काम गरिहेका कलाकारको पारिश्रमिक त चलचित्रमा काम गर्नेको भन्दा कम छ भन्ने मलाई लाग्दैन । हामीले कुनै पनि कलाकारलाई चलचित्रमा पाउने पारिश्रमिकभन्दा कम दिएजस्तो लाग्दैन,” विशाल भन्छन्, “तर, चलचित्रको रिलिजताका र राम्रो बनेको अवस्थामा त्यसको एक/दुई महिना हुने चर्चाको भने केही लोभ हुनु स्वाभाविक हो ।”
पछिल्लो समय केही चलचित्रले बक्सअफिसमा गरेको कलेक्सन पनि एउटा कारण भएको उनको निष्कर्ष छ । जे चलिरहेको छ, त्यसलाई नै पछ्याउने प्रवृत्ति पनि सामान्य रहेको उनी बताउँछन् ।
“बजारमा एउटा मःम पसल चल्यो भने त्यसको लहरै त्यस्तै दर्जनौँ मःम पसल खोल्ने हाम्रो चलन नै छ । चलचित्र निर्माणमा पनि त्यही नै हो । दुई/चारवटा चलचित्र लगातार चले भने त्यो वर्ष चलचित्र विकास बोर्डमा निर्माणका लागि दर्ता हुने चलचित्रको संख्या बढ्छ,” विशाल भन्छन्, “गत वर्ष केही महिना लगातार चलचित्रले राम्रो व्यापार गरे, त्यसको प्रभाव कमेडी शो गरिरहेका साथीहरूमा पनि पर्यो ।”
चलचित्र राम्रो बनाउन सके व्यापार पनि सन्तोषजनक हुन्छ भन्ने मनोविज्ञानले काम गरेको हुन सक्ने उनी बताउँछन् । यद्यपि, यसमा सचेत भएर सुझबुझपूर्ण निर्णयले काम गर्नुपर्नेमा उनको जोड छ ।
“के कारणले कुनै सिनेमाले पैसा कमायो भन्नेतर्फ हामी खोज्दैनौँ । सिनेमा बनायो भने पैसा कमाइने रहेछ भन्ने मात्रै सोच्छौँ,” विशाल अगाडि थप्छन्, “नबुझी लाग्दा सधैँ राम्रो हुन्छ भन्ने हुँदैन । यसले हानि गर्छ । एउटा क्षेत्रमा स्थापित भएको व्यक्ति कहिलेकाहीँ रिजल्ट राम्रो आएन भने यता न उता पनि हुनसक्छ ।”
ठूलो पर्दाको हल्ला पनि ठूलै हुने भएकाले टेलिचलचित्रमा काम गरिरहेका कलाकार चलचित्र निर्माण र अभिनयमा आकर्षित हुने गरेका जितु नेपाल बताउँछन् । चलचित्र रिलिज हुँदा पाइने ठूलो ‘माइलेज’ले पनि धेरै हदसम्म टेलिचलचित्रबाट सिनेमामा फड्को मार्ने गरिएको उनको भनाइ छ ।
“मैले ११ वर्ष ‘जिरे खुर्सानी’ बनाउँदा पाँच सयभन्दा धेरै भाग प्रसारण हुँदा कति कथा भनेँ होला, तर समग्रमा बुझ्दा त्यो एउटा कथा हो,” उनी भन्छन्, “तर, चलचित्रमा एउटै सिनेमाले त्यति नै हाइप पाउँछ । ठूलो पर्दाको ठूलै चहलपहल हुन्छ ।”
११ वर्ष चलेको सिरियल हिट हुँदा कलाकारलाई दर्शकले घरघरमा चिन्ने तर उसको जिन्दगी अथवा ‘लाइफस्टाइल’ नै परिवर्तन हुने सम्भावना कमै हुने उनको अनुभव छ । तर, एउटा चलचित्र हिट भए उसको लाइफस्टाइल नै परिवर्तन हुने सम्भावना उच्च हुने जितु बताउँछन् ।
एउटा चलचित्र ब्लकबस्टर भए नाम र दाम नै उच्च हुने ठूलो पर्दाको राम्रो पक्ष भएको जितुको भनाइ छ । “सिरियल हिट भयो भने कलाकार र निर्देशकको पारिश्रमिक वर्ष दिनमा मुस्किलले अलिकति बढ्ला,” उनी भन्छन्, “तर, चलचित्र हिट भयो भने एउटै सिनेमाबाट करोडौँ कमाइ भएको हामीले देखेका छौँ ।”
मिहिनेत टेलिसिरियलभन्दा चलचित्रमा बढी गर्नुपर्ने जितुको अनुभव छ । टेलिसिरियल घरघरमा पुगे पनि कतिपय अवस्थामा समय कटाउन हेर्ने गरिएको उनी बताउँछन् ।
“टेलिचलचित्र टेलिभिजनमा आफैँ आउने भएपछि कतिले टाइमपासका लागि पनि हेर्ने गरेको पाइन्छ,” जितु प्रस्ट पार्छन्, “तर, चलचित्र ‘क्यास’ पैसा तितेर हलमा गएर हेर्नुपर्ने भएकाले दशर्कलाई तान्न सक्नुपर्छ । यसका लागि अलि बढी मिहिनेत गर्नुपर्छ ।”
टेलिचलचित्रमा वर्षौं काम गरेर घरघरका दर्शकले चिन्ने कलाकारले चलचित्र बनाउँदा प्रचारमा सहज हुने उनको भनाइ छ । सिनेमा निर्माण गरेर प्रदर्शनमा ल्याउने क्रममा टेलिसिरियलबाट पहिचान बनाइसकेका कलाकारलाई सहज हुने भएकाले कथानक चलचित्रको अनुभव पनि सँगालौँ भन्ने रहरले काम गरेको उनी बताउँछन् ।
“हामी धेरैजसो त ‘वडा नम्बर ६’, ‘६ एकान ६’, ‘छक्का पञ्जा’ हुँदै हास्य विधाका कलाकार चलचित्रमा आयौँ,” जितु भन्छन्, “टेलिभिजन शोबाट आएका कलाकार चिनिसकेका हुने भएकाले नयाँ मेकरले बनाउँदा भन्दा ब्रान्डिङ गर्न सहज हुन्छ । यो पनि टेलिभिजन शोबाट फिचर फिल्ममा जानुको कारण हो ।”