
काठमाडौं । दुईपटक सुरुङको पानी चुहिएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाले तेस्रोपटक ‘वेट टेस्ट’ गरिएको छ । ‘वेट टेस्ट’ बाट आयोजना परीक्षणमा जान सक्ने देखिएको छ ।
जलविद्युत् आयोजनामा ‘वेट टेस्ट’ भन्नाले क्रेन वा गेटजस्ता लिफ्टिङ संरचनाको तौल वहन गर्ने क्षमता र सुरक्षाको परीक्षण गर्नु हो ।
आयोजनाको ‘वेट टेस्ट’ सकिएको र परीक्षण उत्पादनको तयारीमा लागेको मध्य भोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख रामगोपाल शिवाकोटीले जानकारी दिए । “वेट टेस्टिङ सकियो, अब जेनेरेसनको तयारीमा छौँ । प्राधिकरणको खिम्तीको प्रसारण लाइन निर्माण सकिएको छ, अबको १०/१५ दिनमा उत्पादन सुरु हुन्छ,” उनले भने ।
आयोजनामा यसअघि दुई पटकको परीक्षणमा सुरुङबाट पानी चुहिएको थियो । अर्बाैंको लगानी, वर्षौंदेखिको प्रतीक्षा र हरेक असफलतासँगै बढ्दो प्रश्नहरूबीच मध्य भोटेकोसी आयोजना तेस्रोपटक सुरुङ परीक्षणमा होमिन लागेको छ ।
२०८० पुस र २०८१ कात्तिकमा दुई पटक सुरुङ परीक्षणमा सुरुङ चुहिएपछि उत्पादन मिति सर्दै आएको छ ।
“हामी जेनेरेसन गर्ने अन्तिम तयारीमा छौं । सुरुङ चुहिएको ठाउँमा ‘रेट्रोफिकेसन’ गरी सुरुङ कम चुहिएको छ,” उनले भने, “सबस्टेसन लगायतका माइनर केही काम बाँकी छ । त्यो सकिएपछि उत्पादन सुरु गर्छौं ।”
आयोजना यसअघि ०८० को पुसमा ‘वेट टेस्ट’ का क्रममा सुरुङ चुहिएको थियो । झन्डै नौ महिना लगाएर टालिएको सुरुङमा ०८१ मा परीक्षण गर्दा पुनः पानी चुहिएको थियो । ती ठाउँमा ‘रेट्रोफिट’ गरिएपछि पानी चुहिन केही कम भएको शिवाकोटीले बताए ।
“पानी चुहिए पनि अन्तर्राष्ट्रिय परामर्शदाताले ‘एक्सेप्टेबल’ भनेको थियो,” उनले भने, “तर, पनि त्यसलाई ‘रिट्रोफिकेसन’ गरिएको छ । त्यसमा पनि कमी आएको छ ।” आयोजनाका बोर्डरल्यान्डभन्दा माथिको सुरुङबाट पानी चुहिएपछि परीक्षण बन्द गरेर ‘रेट्रोफिट’ गरिएको थियो ।
यो आयोजना बन्न १२ वर्ष लागिसकेको छ । आयोजना गुणस्तरीय नभएपछि दोस्रो पटकमा समेत परीक्षण असफल भयो । हाल ‘वेट टेस्टिङ’ सहित उपकरणहरुको जाँच भइरहेको शिवाकोटी बताउँछन् ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीअन्र्तगतको मध्यभाटेकोसी २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । पीपीएको १४ वर्षसम्म पनि बिजुली बल्न सकेको छैन ।आयोजना निर्माण सुरु भएदेखि नै म्याद थप गर्दै आइरहेको थियो ।
पीपीए भएको दुई वर्षपछि २०७० मा आयोजना सुरु गर्दा ४ वर्षमा सक्ने लक्ष्य थियो । तर, भुकम्प र नाकाबन्दीको कारण देखाउँदै विद्युत् उत्पादन मिति २०७६ पुर्यायो । २०७६ पछि कोभिड–१९ तथा आर्थिक मन्दीको असर भन्दै २०७८ पुर्याएको थियो ।
२०७९ मै आयोजना अन्तिम तयारीमा भनिएपनि २०८० को पुसमा परीक्षण सुरु गरिएको थियो । पहिलोपटकको परीक्षणमा पानी चुहावट भएको सुरुङको मर्मत गर्दा ग्राउन्डेड विधि अपनाएकाले डिफेक्ट आएको थियो ।
लगानी २० अर्बमाथि
आयोजनामा भएको ढिलाइसँगै लागतमा पनि उच्च वृद्धि भएको छ । सुरुमा १२ अर्ब २८ करोड रहेको लागत आयोजनामा भएको ढिलाइसँगै २० अर्बको हाराहारीमा पुगेको छ । पीपीए भएको १४ वर्ष र आयोजना निर्माण सुरु भएको १२ वर्षसम्म पनि आयोजना सम्पन्न हुन नसक्नुमा आयोजनाले ठेकेदारको गल्ती देखाउने गरेको छ ।
‘वेट टेस्टिङ’ र परीक्षण उत्पादन गरी ०७९ को चैतबाटै व्यवसायिक उत्पादन सुरु गर्ने कम्पनीको तयारी थियो ।
तर, आयोजनाको गुणस्तरमा ध्यान नदिएका कारण ‘वेट टेस्टिङ’ गर्दा सुरुङबाट पानी चुहिएको थियो । सुरुङबाट पानी निस्केको विषयमा प्राविधिक विशेषज्ञले अध्ययन गर्न झण्डै ३ महिना लगाएका थिए ।
यसअघि ०८० मा ‘वेट टेस्टिङ’का क्रममा बाँधको संरचना सकेर सुरुङमा पानी पठाइएको थियो । त्यसको केही दिनमा सुरुङबाट पानी चुहिएको थियो ।
प्रसारण लाइन निर्माणमा राजनीतिकरण
प्रसारण लाइनमा समेत वर्षौंसम्म समस्यामा परेको आयोजनामा वैशाखमा सहमति भएको थियो । प्रसारण लाइन निर्माण ०७४ मा सुरु भएपनि स्थानीय जनता तथा राजनीतिक दलहरूले अवरोध पुर्याएका कारण लामो समय अवरोध भएको थियो ।
आयोजनाको प्रसारण लाइन निर्माणमा लामो समय नेपाली कांग्रेसका सिन्धुपाल्चोकका नेता मोहन बस्नेतले अवरोध पुर्याउन लगाएका थिए । कम्पनीले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको ठूलो रकम उपलब्ध गराउनुपर्ने माग गरे झण्डै डेढ वर्ष प्रसारण लाइनको काम रोकिएको थियो ।
बाह्रबिसे नगरपालिका–५ स्थित आयोजनाको विद्युतगृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा १४ महिनादेखि २ किलोटिर तार तान्नमा अवरोध ०८१ भदौमा सीएसआरअन्तर्गत ११ करोड उपलब्ध गराउने सहमतिपछि प्रसारण लाइनको अवरोध हटेको थियो ।
आयोजनाको खिम्ती–बाह्रबिसे ४०० केभी प्रसारण लाइनका काम सकिएको र परीक्षणको तयारीमा रहेको शिवाकोटीले जनाए ।
बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसन ०८१ असारमा निर्माण सकिएको थियो । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, पाँच एमभीएका पावर ट्रान्सफर्मर छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जीआईएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ ।
मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने तयारी छ । मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गर्ने तयारीमा कम्पनी छ ।
सुरु गरेको करिब १२ वर्षसम्म पनि आयोजना नसकिनुमा सिन्धुपाल्चोकको जुरे पहिरो, भारतीय नाकाबन्दी, भुकम्प, कोभिड जस्ता समस्या देखाउने गरेको छ ।
आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकलको काम इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा ठेक्का लिएको चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कार्यसम्पादन कमजोर हुँदा पनि आयोजनाको काम निकै ढिला भएको थियो ।
आयोजनाको प्रवद्र्धक मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरणको दश प्रतिशत संस्थापक सेयर छ ।
मध्यभोटेकोसीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १ प्रतिशत सेयर छ । नेपाल अरनिको हाइड्रोपावर कम्पनीको एक, सिन्धु इन्भेस्टमेण्ट कम्पनीको एक र सिन्धु भोटेकोसी हाइड्रोपावरको एक प्रतिशत गरी ५१ प्रतिशत संस्थापक सेयरधनी छन् ।
त्यस्तै ४९ प्रतिशत साधारण सेयरधनीमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर छ ।
आयोजना बिजुली उत्पादन सुरु गर्न नसक्दा दोस्रो बजारमा सेयर मूल्य समेत निक्कै घटेको छ । यसअघि उच्चतम मूल्य ४३३ रुपैयाँ पुगेको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको सेयर घटेर शुक्रबार (साउन ९)मा ३३४ रुपैयाँ प्रतिकित्तामा झरेको छ । दोस्रो बजारमा ६० करोड कित्ता सेयर सूचीकृत छ ।
उत्पादन सुरुपछि आयोजनाले वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।