site stats
बाह्रखरी :: Baahrakhari
कला
‘लोकदोहोरी गायक/गायिका भन्न लाज मान्नुपर्ने अवस्था आयो’

काठमाडौं । गीतसंगीतमा अश्लीलताको विवाद फेरि सुरु भएको छ । अक्सर यो विवाद तिज नजिकिँदै गर्दा हरेक वर्ष आउने गरेको छ ।

तिजको छेको पारेर भड्किला गीतसंगीत र भिडियो सार्वजनिक हुन थालेपछि बर्सेनि यसमा विवाद र बहस हुँदै आएको छ । लोकगीतका नाममा छाडा गीतसंगीत आउने गरेको भन्दै यसलाई रोक्नुपर्ने आवाजसमेत उठ्दै आएको छ ।

तिज तथा लोकगीतको ट्याग लगाएर छाडा गीतसंगीत युट्युबमा बाक्लै देखिन्छ । बजारमा चल्तीकै नाम पनि यसमा मुछिने गरेका छन् ।

यो वर्ष पनि पुरानै समस्या देखियो । चलेकै कलाकार मुछिनेक्रम रोकिएन । नायिका प्रियंका कार्की, गायिका शान्तीश्री परियार, रामजी खाँड, सुनील क्षेत्रीलगायत कलाकार अश्लील गीत गाएको र भिडियोमा काम गरेको भन्दै यसमा मुछिएका छन् ।

‘लुकी लुकी’ बोलको गीतमा शान्तीश्री परियार र रामजी खाँडको स्वर छ । भिडियोमा प्रियंका कार्की, सुनील क्षेत्रीलगायत कलाकारको अभिनय छ । यस गीतमा शब्दभन्दा भिडियो अश्लील छ ।

‘गाई काले’ बोलको गीतमा ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वर छ । यस गीतमा अडियो र भिडियो दुवै उत्ताउलो छ ।

‘सल्ला दमारमा’ बोलको गीतमा राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वर छ । यस गीतमा पनि भिडियो र अडियो दुवै अपाच्य छ ।

ज्योति मगर र कृष्ण केसीको स्वर रहेको गीत ‘जवानीको उद्घाटन’ पनि परिवारसँग बसेर सुन्न सकिने छैन । यस गीतको भिडियोभन्दा पनि अडियो अर्थात् शब्दमा समस्या छ । यसलाई द्विअर्थी लाग्ने शब्दहरूको संग्रह हो भन्दा पनि अतियुक्ति हुँदैन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गीतसंगीतमा विकृति बढ्दै गएपछि आफूहरूलाई लोक तथा दोहोरी गायक/गायिका भन्न नै लाज लाग्ने अवस्था आएको बताएको छ ।

प्रतिष्ठानलाई नटेरेपछि...
“लोकदोहोरी तथा अन्य गीतमा विकृतिको समस्या देखियो । संस्कृतिमाथि नै प्रहार गर्ने काम भयो । तिजका गीतका नाममा संस्कृतिमाथि नै प्रश्न उठाउने गरी अपाच्य शब्दसहितका गीत आइरहेका छन्,” प्रतिष्ठानकी अध्यक्ष रिता थापा भन्छिन्, “यसले समाजलाई नकारात्मक असर गरिरहेको छ । हामीलाई लोकदोहोरी गायकगायिकासमेत भन्न लाज मान्नुपर्ने अवस्था आएपछि कानुनी उपाचार खोज्नुपर्ने अवस्था आयो ।”

आफूहरूले अश्लील गीत गाउने गायकगायिकालाई सम्झाउने प्रयास गर्ने गरेको उनको भनाइ छ । तर, राज्यले केही नगर्ने भएकाले उनीहरूले आफूहरूमाथि नै प्रश्च उठाउने गरेको थापा बताउँछिन् ।

“राज्यले केही गर्दैन, तिमीहरू र प्रतिष्ठानले के गर्न सक्छौ भनेर हामीमाथि नै पौँठेजोरी खेल्ने काम भइरहेको छ,” थापा भन्छिन्, “लोकदोहोरी मन पराउनेहरूले भने लोकदोहोरी प्रतिष्ठानले के हेरेर बसिरहेको छ भनेर हामीमाथि प्रश्न गर्नुहुन्छ । राज्य मौन हुँदाको यो परिणाम हो ।”

प्रतिष्ठानले सम्झाइबुझाइ गर्दा पनि अपाच्य गीतसंगीत आउने क्रम नरोकिएपछि प्रतिष्ठान निवेदन बोकेर राज्यसम्म पुगेको अध्यक्ष थापा बताउँछिन् ।

“हामीले गत वर्ष पटकपटक विकृति तथा विसंगति फैल्याउनेहरूलाई बोलाएर सम्झाउने तथा बुझाउने काम गर्‍यौँ । तर, फेरि उस्तै अवस्था आयो,” उनी भन्छिन्, “सचेतना जगाउने कार्यक्रम पनि गर्‍यौँ । तर, पनि फेरि उस्तै गीत आउने क्रम रोकिएन ।”

प्रतिष्ठानले आफ्नो तवरबाट काम गर्दा सम्भव नभएपछि पहिलोपटक निवेदन बोकेर प्रहरीसम्म पुगेको उनी बताउँछिन् । उनका अनुसार, प्रतिष्ठाले पाँचवटा गीतविरुद्ध निवेदन दिएको छ ।

यस विषयमा ध्यानाकर्षण गराउन प्रतिष्ठानकी अध्यक्षसहित अन्य पदाधिकारीले शुक्रबार गृहमन्त्रीलाई भेटेका थिए । गृहमन्त्रीले साइबर ब्युरोमा फोकल पर्सन तोकेर गीतसंगीतमा देखिएको विकृति नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

गृहमन्त्रीको निर्देशनपछि साइबर ब्युरोका डीआईजी जनार्दन घिमिरे र एसपी दीपकराज अवस्थीले फोकल पर्सनको रूपमा रहेर काम गरिरहेका छन् ।

पाँचवटा गीतविरुद्ध उजुरी
“हामीले हिजो पाँचवटा गीतविरुद्ध निवेदन दियौँ । उहाँहरूले काम सुरु भइसकेको बताउनुभएको छ,” अध्यक्ष थापाले भनिन्, “प्रतिष्ठानले हामीलाई सहयोग गरोस्, हामी कानुनी कारबाही गर्नेछौँ भन्नुभएको छ ।” अब राज्यले कानुनअनुसार कारबाही गर्नेमा उनी विश्वस्त छिन् ।

प्रतिष्ठानका महासचिव शिव हमाल आजबाट प्रहरीले काम थालेको भन्दै सम्बन्धित व्यक्तिलाई बोलाएर सोधपुछ गरेपछि सचेतना आउँछ भन्नेमा प्रतिष्ठान ढुक्क रहेको बताउँछन् ।

“हामीले अहिलेलाई धेरै गीत र त्यसका सर्जक तथा श्रष्ठाको सूची प्रहरीलाई दिएका छैनौँ,” महासचिव हमाल भन्छन्, “तर, कुन गीतमा के समस्या छ भनेर उल्लेख गरेर पाँचवटा गीत बुझाएका छौँ ।”

कुनै गीतमा निर्देशन, कुनै गीतमा शब्द, कुनैमा मोडलिङमा समस्या रहेको भन्दै प्रहरीको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

“सबै गीतमा सबै समस्या पनि छैन । कुनमा के समस्या छ, त्यसलाई उल्लेख गर्दै सोधपुछका लागि आग्रह गरेका छौँ,” हमालले भने, “हाम्रो यो नैतिक दायित्व हो । हामी आफैँले बोलाएर सम्झाउनबाहेक केही गर्न मिल्दैन । त्यसैले कानुनी बाटो रोजेका हौँ ।”

अन्य गीतसंगीतमा पनि समस्या देखिए प्रहरीलाई खबर गर्दै सहयोग गरिदिन आग्रह गरेको भन्दै अध्यक्ष थापाले लोकसंस्कृतिमाथि प्रहार गर्नेविरुद्ध एकजुट हुनुको विकल्प नरहेको बताइन् ।

अरूको भन्दा लोक कलाकारको फरक जिम्मेवारी र भूमिका हुने तर यसमै समस्या देखिनु गलत भएको प्रतिष्ठानकी अध्यक्ष थापाको भनाइ छ ।

कसले फैल्यायो विकृति ?
“अरूको भन्दा हामी लोक कलाकारको जिम्मेवारी थप बढी छ । हामीले देशको आमा संगीत अनि संस्कृतिको अभिन्न अंग लोकगीतलाई हाम्रो कर्म बनाएका छौँ,” प्रतिष्ठानकी अध्यक्ष थापा भन्छिन्, “नेपाली लोकगीतसंगीतको बढ्दो बजार र विस्तारलाई धमिलो बनाएर केही खराब तत्त्वले तपाईं हामीलाई दिग्भ्रमित बनाउन खोजिरहेका छन् ।”

यसबाट सचेत रहेर आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा उनको जोड छ । अन्यथा आगामी दिन लोकगीत नै नरहने सम्भावना रहेको उनको भनाइ छ ।

गीतसंगीतलाई करिअर बनाएर यसमै रमाउनेभन्दा पनि क्षणिक चर्चा र पैसाको पछि लाग्नेहरूले गीतसंगीतमा विकृति भित्र्याइरहेको उनको भनाइ छ ।

“मेरो करिअर नै गीतसंगीत हो । म यसमै जिउँछु, यसमै मर्छु भन्नेहरूले खासै धेरै विकृति फैल्याउने खालका काम गरेको म देख्दिनँ,” उनी भन्छिन्, “जसरी हुन्छ पैसा कमाइहालौँ, चर्चा कमाइहालौँ, भोलि जे सुकै होस् भन्नेहरूले यस्तो काम गरेको देखिन्छ ।”

अश्लील र अपाच्य शब्द तथा भिडियो बनाएर युट्युबमा अपलोड गर्दा चर्चा हुन्छ र भ्युज आउँदा पैसा कमाइन्छ भन्ने लोभले यस्ता गीत आउने गरेको उनको निष्कर्ष छ ।

गीतका नाममा समाजमा विकृति फैल्याउने काम भएको भन्दै राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले शुक्रबार तीनवटा गीतविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

साइबर ब्युरोमा रामजी खाँड र शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’, ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’ र राजकुमार वली र अस्मिता थापा तथा लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’ गीतविरुद्ध राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले उजुरी दिएको थियो ।

के हुन्छ कारबाही ?
समाज भड्काउने तथा संस्कृतिमाथि हानीनोक्सानी गर्ने खालका गीतसंगीत गाउनेलाई पाँच वर्षसम्म कैद तथा एक लाख रुपैयाँ जरिबाना हुने कानुन छ ।

विद्युतीय प्लेटफर्ममा गैरकानुनी कार्य गर्नेलाई पाँच वर्षसम्म कैद तथा एक लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

“कम्प्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्न पाइँदैन,” विद्युतीय कारोबार ऐनको धारा ४७ दफा (१) मा उल्लेख छ, “महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।”

दफा (२) मा कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटकपटक गरेमा त्यस्तो कसुरवापत अघिल्लोपटक भएको सजायको डेढी सजाय हुने उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्